काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजानिक गरेको आव २०७६/०७७ को मौद्रिक नीतिप्रति उद्योगी व्यवसायीहरुले मिश्रित प्रतिक्रिया जनाएका छन । केही उद्योगी व्यवसायीले मौद्रिक नीति सन्तुलित रहेको प्रतिक्रिया दिए भने केहीले बैंकिङ क्षेत्रका लागि मात्रै आएको भन्दै आक्रोश पोखे ।
यसैक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्र बैंकले सार्वजानिक गरेको मौद्रिक नीति उद्योगीहरुले खोजेको अनुरुपको नआएको प्रतिक्रिया दिइन् । उनले भनिन्-‘ब्याजदर कसरी घट्छ र तरलताको सम्बोधन कसरी हुन्छ भन्ने उद्योगी व्यवसायीले अपेक्षा गरेका थिए, तर मौद्रिक नीतिमा ती कुराहरु नमेटिएनन् ।’
यता, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने–‘मौद्रिक नीति भएर बैैंकहरुका लागि मात्रै आएको जस्तो देखियो । राष्ट्र बैंक भनेकै बैंकहरुको नियामन निकाय भएरपनि होला ।’ उद्योगहरुका लागि पनि मौद्रिक नीतिले समेट्ला भनेर ठुलो आशा गरेको थिएँ, तर केही पनि समेटिएन–उनले भने । नेपालका युवा वर्ग जति सबै विदेश पलायन भैसके, सरकार र राष्ट्र बैंकको नीति पनि युवालाई आकर्षण गर्ने र व्यापार घाटालाई कम गर्ने नभएको उनको प्रतिक्रिया छ ।
यसैगरी, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सन्तुलित रहेको बताए । बैंकहरुलाई फोर्सफुली मर्जरमा लाने कुरा आएको थियो, तर राष्ट्र बैंकले त्यसो नगर्नु राम्रा भएको उनको भनाई छ । तर, मौद्रिक नीति महङ्गी नियन्त्रण र दिगो विकासको पक्षमा नदेखिएको उनले बताए ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले उद्योग क्षेत्रमा भएका लगानीयोग्य पूँजीको अभाव र उच्च व्याजदरलाई मौद्रिक नीतिले समेटेको बताए । ‘तर, यो कसरी कार्यान्वयन हुन्छ हेर्न बाँकी छ’–उनले भने । २ प्रतिशत ब्याजमा १५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा समेटिनु राम्रो भएको बताए ।
सो कर्जाको सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । यो व्यवस्थाले पनि ब्याजदरमा कमि आउँछ कि भन्ने लागेको उनले बताए ।