गोरखा । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएका थिए ।
यसरी, लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिएका छन् ।
असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सिमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा बेपत्ता भएका भनिएका धनकुमार गुरुङले नै सुन ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।
गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए । खच्चडसहित झर्दै गर्दा गुरुङमाथि सँगै आएका चार जनाको समूहले आक्रमणको प्रयास गरेको र सोही घटनापछि हिजो पक्राउ परेका गुरुङ भागेका थिए ।
अपहरणमा परेको भनेर हल्ला गरिएको भए पनि गुरुङ भागेको हुनसक्ने प्रहरीको अनुमानमा उनलाई हिजो काठमाडौँमा पक्राउ गरिएको थियो । गुरुङले प्रहरीसमक्ष आफुले नै सुन ल्याएको बताएका छन् । रासस