काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएर उद्यममा आवद्ध उद्यमीलाई श्रम रोजगार तथा सामाजिक मन्त्रालयले नगदसहित सम्मान गरेको छ । लामो समय वैदेशिक रोजगारको बसाईबाट फर्किएर नेपालमा नै उद्यम पेसामा लागेका ६ जनालाई उद्यमीलाई पुरस्कार सहित स-सम्मान गरेको हो ।
मन्त्रालयमा भएको उक्त सम्मान कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्ट यस वर्षको उत्कृष्ट उद्यमीका पुरस्कार नवराज पौड्याललाई रु एक लाख प्रदान गरेका थिए । पौड्यालले दुवई काम गरेर नेपाल फर्किएर कान्तिपूर पोल्ट्रि व्रिडिड. फर्म सञ्चालन गरिरहेका छन् ।
सम्मानित हुनेमा पौड्याल सहित करिब ५ वर्ष दक्षिण कोरिया बसेर आएका झापामा डायमण्ड स्टिल उद्योग सञ्चालन गर्दै आएका दिपक चापागाई, युएइबाट आएर मैत्री मंगल अर्गानिक कृषि फर्म संचालन गर्दै आएका निरबहादुर राउत, दक्षिण कोरियाको बसाई पछि फिटवेल गार्मेन्ट उद्योग संचालन गरिरहेको मनोजकुमार भारती, युएईको बसाई पछि नेपाल आएर रामलक्ष्मण कृषि फर्म सञ्चालन गरिरहेकी शर्मिला अधिकारी तथा दक्षिण कोरियाबाट फर्किएर आलोक गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका त्रिलोक पनेरुलाई श्रममन्त्री गोकर्ण बिष्टले उद्यमी राष्ट्रिय पुरस्कार सहित नगद ५० प्रदान गरेको हुन् ।
उक्त सम्मान कार्यक्रममा मन्त्री बिष्टले भने- ‘सहि ढङ्गले काम गर्न सक्यौ भने नेपालमा नै केहि गर्न नसकिने र नेपालमा विदेशी जनशक्ति भित्राउन पर्ने अवस्था सिर्जना सक्छ ।’ रोजगारका क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्दै स्वदेशमा नै रोजगारीको सिर्जना गर्न सरकार कटिवद्ध भई अगाडी बढिरहेको बताए ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सम्मानित उद्यमीहरुले नेपालमा नै केहि गर्न सक्ने र सरकारले यसका लागि उद्यमशिलताको अवस्था सिर्जना गर्न ध्यान दिनु पर्ने जानकारी गराएका छन् । त्यस्तै विदेश एउटा खुल्ला विश्वविद्यालय हो, त्यहाँबाट हामीले सिकेका हरेक कुरालाई आफ्नो देशमा प्रयोग गर्ने हो भने देश छिट्टै विकास एवंम संवृद्ध हुन समय नलाग्ने पुरस्कृत उद्यमी दिपक चापागाईको भनाई छ ।
सो समारोहको समापन गर्दै सचिव दाहालले पुरस्कृतहरुले अरुलाई सिकाउनु पर्ने र उद्यमको सुरुवात प्राइभेट क्षेत्रबाटै हुने बताए । रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, आयात प्रतिस्थापन, तथा सामाजिक उत्तरदायित्व र योगदानको आधारमा उत्कृष्ट पुरस्कार घोषणा गरेको मन्त्रालयले जनाएको छ ।
