
काठमाडौँ । अर्थ मन्त्रालयका राजश्व सचिव लालशङ्कर घिमिरेले सरकार सधैँ निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्न चाहेको बताउँदै सरकारले गरेको केही कानूनी तथा नीतिगत फेरबदलबाट नआत्तिन व्यापारीलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । “सरकारले संवादको ढोका खोलेको छ । व्यापारीलाई धम्क्याएर राजश्व असुल्ने पक्षमा छैन, व्यापारी आत्तिन जरुरी छैन, नियम कानून गतिशील छन्, परिवर्तन हुन्छन्”, उनले भने, “व्यापार सहजीकण गर्न सरकार तयार छ, केही समस्या आइपरे निजी क्षेत्रसँगै मिलेर समाधान गर्न मन्त्रालय सकारात्मक छ ।”
निजी क्षेत्रको सकारात्मक सहभागिताबाट मात्र राजश्व सङ्कलन सफल हुने मन्त्रालयको विश्वास रहेको प्रष्ट्याउँदै उनले राजश्वको दर निर्धारण गर्न निजी क्षेत्रको बढीभन्दा बढी सहभागिता रहने गरी ‘राजश्व बोर्ड’ गठनको तयारी भइरहेको बताए ।