प्रदेश सरकारका २ मुख्यमन्त्री एकै दिन विदेश उडे, राई अमेरिका, पोखरेल चीन

<p>काठमाडौँ । सोमबार एकै दिन २ वटा प्रदेशका मुख्यमन्त्री विदेश उडेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन उडेका हुन् । मुख्यमन्त्री राई अमेरिकामा नेपालीहरुको कार्यक्रममा हुँदैछन् भने अर्का मुख्यमन्त्री पोखरेल चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा छेन्दु प्रस्थान गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा यही [&hellip;]</p>

काठमाडौँ । सोमबार एकै दिन २ वटा प्रदेशका मुख्यमन्त्री विदेश उडेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन उडेका हुन् । मुख्यमन्त्री राई अमेरिकामा नेपालीहरुको कार्यक्रममा हुँदैछन् भने अर्का मुख्यमन्त्री पोखरेल चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा छेन्दु प्रस्थान गरेका हुन् ।

अमेरिकाको बाल्टिमोरमा यही असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राई सोमार साँझ अमेरिका प्रस्थान गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रदेश सरकारको सिफारिस र सङ्घीय सरकारको स्वीकृति बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाको उक्त कार्यक्रममा उनले गैरआवासीय नेपालीलाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा उनले प्रदेश नं १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैरआवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नेछन् ।

नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नेछन् । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्ति सहभागी भइसकेका छन् ।

सम्मेलनको आयोजना एशोसियशन अफ नेप्लिज इन दि अमेरिका, एशोसियशन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।

प्रदेश ५ का मुख्यमन्त्री चीन प्रस्थान
यता, प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि सोमाबार नै त्यसतर्फ प्रस्थान गरेकोे छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उनीसहितको सो टोली चीनको छेन्दु प्रस्थान गरेको हो ।

मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश नं ५ सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, युवा सङ्गठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर जिल्ला अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी तथा स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह, पत्रकार मोहन बास्तोला र देविका घर्ती छन् ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्नेबारेमा समझदारी गरिने जनाइएको छ । त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्नेबारे समझदारी हुनेछ । सो टोली असार २५ गते स्वदेश फर्किने जनाइएको छ ।

Share News