
काठमाडौं । नागरिक लगानी कोषले ल्याएको कर्मचारीसम्बन्धी निर्देशिकाप्रति कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । प्रस्तावित निर्देशिकाले आफूहरुको मौलिक हकसमेत कुण्ठित हुने भन्दै उनीहरुले त्यस्तो निर्देशिका सच्याउन माग गरेका छन् । सांकेतिक विरोधस्वरुप उनीहरुले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
कोषले ल्याएको निर्देशिकामा कर्मचारीहरुलाई कोष संस्थागत ग्राहकहरुसँग व्यक्तिगत सम्बन्ध नपाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले गर्दा नागरिक लगानी कोषमा सञ्चय गर्ने बैंक तथा वित्तीय संस्थासँग ऋण कारोबार गर्नेदेखि दोस्रो बजारमा शेयर खरिदबिक्री गर्न समेत नपाउने अवस्था रहने भन्दै कर्मचारीले विरोध जनाएका हुन् ।
कोषले ल्याएको निर्देशिका हाल स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको छ । तर कोषका उच्च अधिकारीहरु भने निर्देशिकाले कर्मचारीहरुको मौलिक हक कुण्ठित गर्नेगरी केही व्यवस्था नगरिएको बताउँछन् ।
‘एउटा निर्देशिकाले संविधानले दिएको मौलिक हकप्रतिकुल काम गर्न सक्दैन । कोषसँग संस्थागत रुपमा सम्बन्ध बनाएर व्यक्तिगत रुपमा लाभ लिने अवस्था नहोस् भन्ने सम्बन्धमा केही व्यवस्था गरिएको हो, त्यसमा आपत्ति मान्नुपर्ने कुनै विषय छैन’ कोषका एक अधिकारीले विकासन्यूजसँग भने ।