
काठमाडौँ । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ‘बाबुराम भट्टराईको आखाँबाट नेपाल’ भन्ने शीर्षकमा बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो अन्तरक्रियाको मुख्य उद्देश्य पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको अबको भविष्य कस्तो देखेका छन् भन्ने कुरा सुन्ने थियो । अन्तरक्रियामा डा. भट्टराई राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेकोमा जोड दिंदै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरे ।
नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको छ भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री डा. भट्टराईले केही ऐतिहासिक तथ्यहरु उल्लेख गरे । उनले भने–,‘अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देश भित्र पथ्र्यो । तर, शाह तथा राणा शासनकालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर, अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।’
चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देशबीचको गतिशील पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उनले उल्लेख गरे । चीनसँगको सम्बन्धले महत्व राखेपनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेकोपनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए ।
उनले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विस्वास रहेकोपनि महत्वका साथ उल्लेख गरे । नेपालको भविष्य सकारात्मक रहेको पूर्वप्रधानमन्त्री भट्टराईको जोड थियो । कार्यक्रमको प्रारम्भमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले डा. भट्टराईको स्वागत गर्दै उद्योग व्यवसायको वस्तुस्थितिबारे परिसंघको धारणा व्यक्त गरेका थिए ।