काठमाडौं । जग्गाको नापीको नक्सा कीर्ते गर्ने एक्जना जेल चलान भएका छन् । सर्वोच्च अदालतबाट साढे ३ वर्ष कैद ६ लाख ६० हजार जरिवानाको फैसलापछि एक महिनादेखि फरार रहेका भक्तपुर सिपाडोलका भुवनेश्वर थापालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी जेल चलान गरेको हो ।

थापाले समेतका ब्यक्तिहरुले जिल्ला भक्तपुर साविक सिपाडोल ४(क)स्थित कित्ता ८७७ को क्षेत्रफल १-१२-० भएको जग्गाको नापीको नक्शा प्रिन्ट सच्याई मोटर बाटोसंग जोडिएको किर्ते नक्कली प्रिन्ट तयार गरी, अर्कै ठाँऊको वास्तविक जग्गा भन्दा राम्रो जग्गा जाहेरवालालाई देखाई, गा.बि.स. कार्यालयको नक्कली सिफारिस बनाई जाहेरवाला बिष्णुमाया कार्किलाई झुक्याई १० वर्षअघि ३३ लाखमा जग्गा बिक्री गरेका थिए ।
तर नक्साबमोजिम जग्गामा बाटो नरहेको थाहा पाएपछि कार्की अदालत पुगेकी थिइन् । भक्तपुर जिल्ला अदालतमा पेश गरीएका प्रतिबादी भुवनेश्वर थापालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खुमा पठाईएको छ सीआईबीले जनाएको छ ।