काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले यहि जेठ १५ गते गरेको विज्ञापन रोक्न निर्देशन दिएको छ । समितिको आज सोमबार बसेको बैठकले लोकसेवाले गरेको विज्ञापन संविधान विपरित भएको भन्दै विज्ञापन स्थगित गर्न निर्देशन दिएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन ।
लोकसेवा आयोगले यहि जेठ १५ गते सूचना जारी गरी स्थानीय तहका लागि चार तहदेखि नौ तहसम्म नौ हजार एक सय ६१ जना माग गरेको थियो । उक्त विज्ञापन पछि अहिले आयोगले पद वहाली गर्न आवेदन लिने काम गरिरहेको छ ।
विज्ञापन गरेपछि अहिलेसम्म करीब ७३ हजार ११३ जनाले आवेदन फारम भरेका आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ ७२ हजार २९५, महिला १७ हजार ९३९, जनजाति आठ हजार ६५५, मधेशी चार हजार १२९, दलित ५३८, अपाङ्गता भएका ४१ र पिछडिएका १९ ले आवेदन फारम भरेका छन् । यस्तै २४ हजार ९९ ले आवेदनभरि शुल्कसमेत आयोगलाई बुझाएका छन् ।