काठमाडौं । नेकपाका युवा नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथी अख्तियारले छानविन गर्नुपर्ने बताएका छन् । संसदको शुन्य समयमा बोल्दै सांसद बस्नेतले कुलमानमाथी अख्तियारले छानविन गरि कारवाही गर्नुपर्ने बताएका हुन् ।
उनले सार्वजनिक लेखा समितिमा सांसद अमनलाल मोदीले ९ अर्ब बक्यौता र पथलैया ट्रान्समिसन लाइनबाट आयात भैरहेको २२५ मेगावाट विद्युत प्रयोग गरे पनि नगरेपनि प्रति युनिट ६.६८ भारु अर्थात १० रुपैंयाँ ६८ पैसा तिर्नुपर्ने कुरा उठाउँदा मोदीमाथी मिडिया मार्फत कुलमानले आक्रमण गराएको आरोप पनि लगाए ।
कुलमान घिसिङले नै मिडिया मार्फत आफुमाथी चौतर्फी आक्रमण भैरहेको गुनासो गरेर राम्रो कामको आडमा गलत काम ढाकछोप गर्ने प्रयास गरेको आरोप पनि बस्नेतले लगाए । सांसद मोदीलाई मिडिया तथा सामाजिक सञ्जालहरुमा तल्लो स्तरको गाली गरिनु पनि दुःखद भएको बस्नेतको तर्क थियो ।
कुलमानले गरेका राम्रा काममा आफ्नो पनि साथ रहेको बताउँदै बस्नेतले अमनलाल मोदीले उठाएका कुरामा गम्भिर बन्दै अख्तियार र सार्वजनिक लेखा समितिले छानविन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने माग पनि उनले गरे ।