
काठमाडौं । धरौटीमा ब्याज पाउनुपर्ने माग राखेर म्यानपावर व्यवसायीले भिसा लागेका कामदारको समेत टिकट नकाटेर बसेका छन् । आफूअनुकूल विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका म्यानपावर व्यवसायीले विदेश जाने भिसा लागेका कामदारको टिकट काट्न बन्द गरेका हुन् ।
अब एक हप्ताभरी विदेश जाने कुनै पनि कामदारकोे टिकट नकाट्ने वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले बताए । आगामी जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनको चेतावनी छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार व्यवसायीको माग सम्बोधनमा कुनै चासो नदेखाएपछि विदेश जान ठिक्क परेका कामदारको टिकन नकाटेर आन्दोलनमा उत्रिएका हौं,’ उनले भने ‘अबको एक हप्तासम्म पनि मागको सुनुवाइ नभए वैदेशिक रोजगरका सबै प्रक्रिया ठप्प पार्ने छौं ।’
पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावर व्यवसायीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी सहितको धरौटी राख्नु पर्ने व्यवस्था छ भने सोभन्दा कम कामदार पठाउने व्यवसायीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी राखेरमात्रै व्यवसाय संचालन गर्न पाउने व्यवस्था छ ।