काठमाडौं । सरकारको पहिलो रोजाईमा सडक परेको छ । उच्च आर्थिक वृद्धिदरका लागि अर्थतन्त्रको लागत घटाउनुपर्ने र त्यसका लागि सडक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राख्दै सरकारले बजेट विनियोजन गरेको देखिन्छ ।

सरकारले सडक पूर्वाधार बजेटमा ६२.२६ प्रतिशतले वृद्धि गरेको छ । चालु आर्थिक बर्षका लागि पूर्वाधार क्षेत्रमा १ खर्ब १ अर्ब ४० करोड रुपैंयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि भने त्यसलाई ६२ अर्ब १२ करोडले बढाएर १ खर्ब ६३ अर्ब ५२ करोड पुर्याएको हो । यो बजेट भौतिक पूर्वाधार मन्त्रालय मार्फत सडक, रेल र जलमार्गमा खर्च हुनेछ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने पहिलो औजारका रुपमा सडक, रेल र सुरुङ र यातायात भएको बताए । ‘मौलिक हकहरुको कार्यान्वयनका लागि उच्च आर्थिक वृद्धिदरको योजना बनाएका छौं, त्यसका लागि सडक पूर्वाधार पहिलो प्राथकिता हो’, अर्थमन्त्री डा. खतिवडाले भने ।
सरकारले आगामी आर्थिक वर्षका लागि अर्थतन्त्रको लागत कम गर्न महत्वपूर्ण मानिएका सडकहरुमा यथेष्ठ मात्रामा बजेट विनियोजन गरेको छ । अर्थतन्त्रको लागत घटाउने महत्वपूर्ण योगदान रहने पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउनका लागि १९ अर्ब १८ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, १०१८ किलोमिटर लामो यो राजमार्गको बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डलाई चार लेनको बनाउने काम आरम्भ भैसकेको छ ।
त्यस बाहेक पुष्पलाल(मध्य पहाडीी राजमार्गको ४३५ किलोमिटर खण्डलाई कालोपत्रे गर्नका लागि १२ अर्ब २० करोड रुपैंयाँ विनियोजन गरिएको छ । यो सडकलाई मध्य पहाडमा समृद्धिको ढोका खोल्ने गेम चेञ्जर प्रोजेक्टका रुपमा हेरिन्छ । ‘मध्य पहाडमा एक करोड नागरिकको जीवनस्तर उकास्ने गरि १०७ वटा गाउँ बस्तीलाई यसले लाभा दिन्छ’, पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजनाका निर्देशक दिपक केसीले भने ।
त्यस्तै, तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको ३५० किलोमिटर खण्ड कालोपत्रे गर्नका लागि १३ अर्ब ६३ करोड रुपैंयाँ विनियोजन गरिएको छ । चिनियाँ नाका जोड्ने मेची करिडोर, कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरका लागि थप ५ अर्ब ६ करोड रकम छुट्याईएको छ । मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ भने फास्ट ट्रयाकले १५ अर्ब १ करोड बजेट पाएको छ ।
भारतीय सिमाबाट पूर्वपश्चिम राजमार्ग जोडिने व्यापारिक सडकहरुको स्तरोन्नतिका लागि ५ अर्ब ४ करोड बजेट विनियोजन भएको छ । कोहलपुर–सुर्खेत सडक र सिद्धार्थ राजमार्गले २ अर्ब १५ करोड बजेट पाएका छन् । नागढुङगा–नौबिसे सुरुङ मार्गका लागि ६ अर्ब २७ करोड बजेट परेको छ ।