
काठमाडौँ । जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएको छ । आजको दिन १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।
गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा संस्थागत हुँदै जानु गौरवको विषय होः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छिन् ।
बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गरेकी हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उनले सन्देशमा उल्लेख गरेकी छिन् ।
उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त
यता, उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै त्याग र बलिदानको गौरवपूर्ण इतिहास र अहिलेसम्म प्राप्त उपलब्धिका लागि सबै नेपालीलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् ।
बाह्रौँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले सात दशकदेखि राजनीतिक सङ्घर्ष गरेको उल्लेख गरे । सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको सफलता नै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता अग्रगामी राजनीतिक परिवर्तनहरु भएको उहाँले उल्लेख गरे । ‘नेपालको संविधान–२०७२’ ले ऐतिहासिक सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गरेको सन्देशमा उल्लेख छ ।
गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् : प्रम
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “ जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने सङ्कल्प हामीले लिएका छौंँ । यस सङ्कल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र र व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”
सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता’
यस्तै, सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा आज सबै नेपालीमा शुभकामना दिँदै उनले गणतन्त्र, नयाँ संविधान, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी शासन व्यवस्थालगायत प्राप्त उपलब्धि संस्थागत हुन सकेमात्रै साँचो अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुने बताए ।