
नेपालगञ्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेड सञ्चालक समितिले एक वर्षभित्र सबै बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार बसेको वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले मंगलबार संस्थामा लागेको ताला खोलेर एक लाख रुपैयाँभन्दा थोरै बचतकर्ताको रकम फिर्ता सुरु गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीले भने, ‘हामी एक लाख रुपैयाँभन्दा कम रकम भएका बचतकर्ताबाट फिर्ता दिन सुरु गर्छौं। सबैको फिर्ता हुँदा एक वर्ष लाग्न सक्छ। रकम दिँदा इमरजेन्सी परेकालाई पनि प्राथमिकतामा राख्छौं।’
वित्तीय संस्थाका ४ कर्मचारीले झन्डै २६ करोड रुपैयाँ अपचलन गरेपछि आइतबारदेखि १५ दिनका लागि संस्था बन्द गरिएको थियो। बचतकर्ताले आइतबार जिल्ला प्रशासन र सोमबार दिनभरि जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएर बचत रकम निकासा र अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्न दबाब सिर्जना गरेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।