काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो कनेक्सन रहने गरेको निष्कर्ष निकालेको छ ।
सोही कनेक्सनका आधारमा बिचौलियाहरूले ट्रायल परीक्षाको सूचना दिनसमेत सेवाग्राहीबाट प्रतिसेवाग्राही ५० रुपैयाँ लिने गरेको समेत पाइएको छ । सेवाग्राहीबाट बिचौलियाले उठाउने गरेको रकमको केही भाग कार्यालयका कर्मचारीसँग समेत पुग्ने भएकाले कार्यालय प्रमुखले कार्यालयको सूचना प्रणालीलाई प्रभावकारी नबनाएर बिचौलिया पोस्ने काम गरिरहेको स्रोतको भनाइ छ ।
बिचौलियासँगको साठगाँठका कारण कार्यालयको सूचना बिचौलियाबाट पैसा तिरेर पाइने तर कार्यालयले सूचना नदिने गरेको समेत पाइएको छ । सतर्कता केन्द्रले गठन गरेको छानबिन समितिले कार्यालयले दिने सूचनाको सम्बन्धमा सेवाग्राहीसँग बुझ्दा बिचौलियाले सेवाग्राहीसँग ५० रुपैयाँसम्म पैसा लिएर ट्रायल परीक्षाको जानकारी मोबाइलबाट गराउने गरेको पाइएको निष्कर्ष निकालेको हो ।
‘कार्यालयकै कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई कार्यालयले प्रत्यक्ष रूपमा सूचना नदिएर बिचौलियामार्फत सूचना दिने वातावरण सिर्जना गरेको पाइयो,’ सकर्तकता केन्द्रका एक अधिकारीले भने । केन्द्रको छानबिन समितिले बिचौलियासँगको कनेक्सनका कारण त्यस्तो कार्य नियन्त्रण गर्न कार्यालयले बेवास्ता गरेको समेत पाइएको औंल्याएको छ ।
बिचौलियाले प्रतिसूचना ५० रुपैयाँसम्म लिइरहँदा पनि कार्यालय प्रमुखले बेवास्ता गर्नुले आर्थिक चलखेल भएको हुन सक्ने ठहर केन्द्रको छानबिन समितिले गरेको हो । केन्द्रको प्रतिवेदनका अनुसार दिनहुँ सर्वसाधारणको हजारौं रकम गुमिरहेको छ भने बिचौलिया र कर्मचारी मोटाइरहेका छन् ।
सतर्कता केन्द्रले गठन गरेको समितिले कार्यालय प्रमुख जवाफदेही र उत्तरदायी नबनेको तथा सूचना प्रभावकारी नगरेको उल्लेख गरेको छ । छानबिन समितिले कार्यालय प्रमुखले समयमै गुनासो सुनुवाइ गरी समस्या समाधानको पहल नगर्दा सेवाग्राही सन्तुष्ट हुन नसकेको पाइएको र कार्यालयसमेत अस्तव्यस्त देखिएको समेत औंल्याएको छ ।
समितिले कार्यालय प्रमुखले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने र गुनासो सुन्ने अधिकारीको व्यवस्था गर्न सुझाव दिएको छ ।
कार्यालयले सूचना सम्प्रेषणको भरपर्दो माध्यम प्रयोग नगरेको परिणामस्वरूप सवारी चालक अनुमतिको ट्रायलमा छुट्न सक्ने देखिएको छ । कार्यालयले वेबसाइटमा समेत सूचना अपलोड नगर्ने गरेको पाइएको छ । वेबसाइटमा सूचना अपलोड नगर्नुका कारण पनि बिचौलियासँगको साठगाँठको आशंका गरिएको छ । वेबसाइटमा सूचना अपलोड नगरेपछि सेवाग्राही बिचौलियासम्म पुग्ने र बिचौलियामार्फत कमिसन कर्मचारीसम्म आउने आशंका गरिएको हो ।
प्रयोगात्मक परीक्षा व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा ३।२ अनुसार ट्रायल परीक्षा सम्पन्न भएको २४ घण्टाभित्र यातायात व्यवस्था कार्यालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था छ । कार्यालयले नियमको उल्लंघन गर्दै बिचौलिया मोटाउने काम गरिरहेको हो । कार्यालयको सूचना पाटीमा अनधिकृत व्यक्तिले समेत सूचना टाँस्ने तथा टाँसिएका सूचना च्यात्न सक्ने अवस्था देखिएको भन्दै समितिले सूचना पार्टी सुरक्षित र व्यवस्थित बनाउन सुझाव दिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।