काठमाडौँ । सरकारले यात्रु बिमाको सीमा बढाएर प्रतिव्यक्ति १० लाख रुपैयाँ बनाउने भएको छ । यातायात क्षेत्रको सिन्डिकेट खारेजीपछि यात्रु बीमा नीति परिमार्जन गरी बीमा रकम (बिमांक) पनि बढाउन लागिएको हो ।
सरकारको निर्देशन नमान्ने केही यातायात व्यवसायीले यात्रु तथा तेस्रो पक्षको बीमा देखाएर पन्छिएको र दुर्घटनामा परेका यात्रुको उपचार खर्च भुक्तानी नगरिरहेको बेला यात्रु बीमाको सीमा बढाउन तयारी थालिएको हो । यात्रु बीमाको सीमा बढाउन आवश्यक नीतिगत व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पत्र प्राप्त भएको बिमा समितिले जनाएको छ ।
‘मोटर बीमाको सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ बनाउन आग्रह गरिएको मन्त्रालयको पत्र प्राप्त भएको छ,’ बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने, ‘अब बीमा दररेट निर्धारण सल्लाहकार समितिले थप अध्ययन गरी बिमादर तोकिनेछ ।’ केही दिनअघि मात्र पत्र प्राप्त भएकाले त्यस सम्बन्धमा ठोस निर्णय भइनसकेको उनले बताए । ‘जतिसक्दो छिटो बिमा दररेट निर्धारण गरी कार्यान्वयनका लागि निर्देशन दिन्छौं,’ उनले भने ।
मन्त्रालयले पठाएको पत्रमा दुर्घटनाबाट यात्रुको मृत्यु भएमा १० लाख र आजीवन घाइते (हेड इन्जुरी) भए १५ लाख रुपैयाँसम्मको बिमा हुने गरी दर तोक्न आग्रह गरिएको छ । उपचार बिमाको सीमा भने परिमार्जन नहुने भएको छ ।
समितिलाई प्राप्त पत्रमा उपचार बीमाबापत ३ लाख रुपैयाँको सीमा यथावत् राखिएकाले त्यसमा परिमार्जन नहुने भएको हो । हालको व्यवस्थाअनुसार दुर्घटनाबाट यात्रु घाइते भएमा उपचारका लागि प्रतिव्यक्ति ३ लाख र मृत्यु भएमा प्रतिव्यक्ति ५ लाख रुपैयाँ बीमा पाइने व्यवस्था छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।