
काठमाडौं । नेपाल एयरलायन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए । विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा पाएका उनले लामो समयदेखि त्यसरी नै सुन पास गर्दै आएका थिए ।
विमानस्थलभित्रै कार्यरत विभिन्न निकायका कर्मचारी तथा पसल सञ्चालकहरूबाट सुरक्षा जोखिम बढ्दै गएको प्रहरी अधिकारीहरू बताउँछन् । कर्मचारीलाई नै प्रयोग गरेर तस्करी हुन थालेका छन् । विमानस्थलको व्यवस्थापन अस्तव्यस्त हुँदा तस्करलाई सहज हुँदै गएको र यसले राष्ट्रिय सुरक्षामै जोखिम हुने सक्ने चिन्ता सुरक्षा अधिकारीहरूको छ । त्यसैले केही दिनयता विमानस्थल प्रहरीले कर्मचारीमाथि कडाइपूर्वक जाँच गर्न सुरु गरेको छ ।
‘सबै कर्मचारीलाई मेटल डिटेक्टरले चेकिङ गर्छौँ,’ त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी सन्दीप भण्डारी भन्छन्, ‘कर्मचारीलाई युनिफर्म अनिवार्य गरिएको छ भने ड्युटी अवधिबाहेकको समयमा भित्र प्रवेश गर्न रोकिएको छ ।’ तर, कडाइले मात्र समस्या समाधान नहुने बरु विमानस्थलले सुरक्षाको पुनर्संरचना गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।