
रौतहट । करोडौं रुपैयाँ भुक्तानी बाँकी राख्दै उखु उद्योग बन्द भएपछि किसान फेरि निराश बनेका छन्। विगतका वर्षको आठ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भयो ।
गत पुस महिनामा सञ्चालनमा आएको उद्योगले १३ लाख ७७ हजार एक सय चार क्विन्टल उखु क्रसिङ गरेको छ। गत वर्षको रकम निकै बाँकी रहेका बेला पनि उद्योगले अपेक्षाकृत राम्रो उखु पाएको थियो। उद्योगले उखु पाउन थालेपछि किसानको भुक्तानीमा उद्योगले चासो दिएको थिएन। समयमा भुक्तानी नदिँदा गत वर्षकै आठ करोड बाँकी रहेको छ।
उद्योगले एक लाख १३ हजार क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ। उद्योग बन्द हुनासाथ चिनीको भाउ बढ्ने सम्भावना रहेको छ। चालू क्रसिङ सिजनमा नेपालका अधिकांश चिनी उद्योगले राम्रो मुनाफा कमाउने देखिएको विश्लेषक बताउँछन्। आजको नागरिक दैनिकमा समाचार छ ।