काठमाडौं । नेपाललाई तेस्रो मुलुकसँगको व्यापार चीनमार्फत गर्न बाटो खुला भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जुन (जेठ अन्तिम सातादेखि) देखि चीनको सामुद्रिक मार्ग र सुक्खा वन्दरगाह प्रयोग गरी कोरिया, जापानलगायत तेस्रो मुलुकसँग व्यापार सुरु गरिने जानकारी दिएको छ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एक महिनापछि औपचारिकरूपमा चीनको भूमि प्रयोग गरी व्यापार गर्न सकिने बताए। नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पनि छिट्टै खुल्दै छ।
द्विपक्षीय सम्झौता कार्यान्वयनमा ल्याउन चीनसँग हुने व्यापार र चीनमार्फत तेस्रो मुलुकसँग हुने व्यापारका लागि लागत खर्च, समय र प्राविधिक कठिनाइलगायत विषयमा अध्ययन गर्ने तयारी मन्त्रालयले गरेको छ।
प्रोटोकलमा सम्झौता भए पनि औपचारिकरूपमा बाटो खुला गर्न प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी छ। अध्ययन गरी यस्ता प्रक्रिया पूरा गर्न करिब एक महिना लाग्ने मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।