काठमाडौं । ठेकेदार भागेपछि अलपत्र परेको राष्ट्रिय गौरवको मेलम्ची आयोजनालाई बिर्सिदै अर्थमन्त्री युवराज खतिवडाले एशियाली विकास बैंक (एडीबी) ले लगानी गरेका आयोजनाहरुको प्रगति द्रुतगतिमा र समयमा अघि बढिरहेको दाबी गरेका छन् । फिजीको नादीमा सम्पन्न एशियाली विकास बैंकको ५२ औं वोर्डस अफ गभर्नरको वार्षिक बैठक अर्थमन्त्री खतिवडाले उक्त दाबी गरेका हुन् ।
बैठकमा सहभागी हुन गएका अर्थमन्त्री खतिवडाले सो अवसरका विभिन्न मुलुकका विशिष्ट अधिकारीहरुसँग ै द्धिपक्षिय तथा बहुपक्षीय सहयोगका सम्बन्धमा छलफल गरेको अर्थ मन्त्रालयले जनाएको छ । सो बैठकमा अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान सरकार उच्च आर्थिक बृद्धिदरको बाटोमा अघि बढेको मुद्रास्फिति नियन्त्रणमा रहेको, पुननिर्माणमा उल्लेख्य प्रगति भइरहेको दाबी गर्दै उच्च आर्थिक बृद्धिदर कायमै राख्न सार्वजनिक र निजी दुवै क्षेत्रमा थप लगानीका लागि स्रोत परिचालन गर्न थप सहयोगको आवश्यकता रहेको बताएका थिए ।
नेपालमा एशियाली विकास बैंकले पूर्वाधार विकास ३६ ओटा परियोजनामा २.८ अर्ब डलर लगानी प्राविधिक क्षेत्रमा २.६ करोड डलर सहयोग तथा ऋण तथा अनुदानसमेत गरी करिब ५९.२ करोड डलर सहयोग गरेको छ जसमध्ये मेलम्चीको मुख्य आयोजनामध्ये एक हो । यो आयोजना अझै दुई वर्ष लम्बिने अनुमान गरिएको छ यद्यपि सरकारले भने नीति तथा कार्यक्रममार्फत् यसै आर्थिक वर्षमा मेलम्ची आयोजना पुरा गर्ने बताएको छ । एशियाली विकास बैंकले सहयोग गरेको अर्को क्षेत्र भनेको पुनर्निमाण हो । यो क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गर्न सकेको छैन । यो पक्षलाई पनि अर्थमन्त्रीले बिर्सिएका छन् ।