
बेंसीसहर । लमजुङको दोर्दीखोलामा स्थानीय र निजी क्षेत्रको अर्बौंको लगानी जलविद्युुत् आयोजना निर्माण भइरहेका छन्। दोर्दीखोलामा अहिले पाँचवटा जलविद्युत् आयोजना निर्माणाधीन छन्। सबै आयोजा पूरा भएपछि एक सय ७५ मेगावाट विद्युत् उत्पादन हुनेछ। निजी क्षेत्र र स्थानीय मिलेर यी आयोजनामा ३० अर्बभन्दा बढी लगानी गरेका छन्।
यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ। एउटै खोलामा भित्रिएको अर्बौं लगानीले स्थानीयमा रोजगार, व्यापार र विकासका ढोका खुलेका छन्।
गाउँगाउँमा सडक, पुल, सामुदायिक भवन, विद्यालय सुधार, सिँचाइ, खानेपानी तथा कृषि उत्पादनमा सहयोग पुगेपछि स्थानीय खुसी छन्। ‘एउटै खोलामा भित्रिएको अर्बौं लगानीले भविश्यमा हाम्रो ठाउँ कायापलट हुनेछ’, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहाहदुर गुरुङले भने, ‘हाम्रो लागि यो ठूलो अवसर हो।’
हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को निर्माण अबको एक वर्षभत्र पूरा हुने अवस्था छ। यी आयोजनाको निर्माण ८० प्रतिशत पूरा भएको प्रवर्द्धकले बताएका छन्।
पिपुल्स हाइड्रो पावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ ४० प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२।१ मेगावाटको दोर्दी–१ को निर्माण ५० प्रतिशत पूरा भएको छ। यस्तै, पिपुल्स हाइड्रो पावरले दोर्दी खोलामै ५७ मेगावाटको हिमचुली दोर्दीको निर्माण प्रक्रिया सुरु गरेको छ। सबै आयोजनामा गरी निजी क्षेत्रले ३० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।