काठमाडौँ । प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाको १२ सय मेगावाटभन्दा बढी विद्युत् उपभोग नहुने सम्भावना देखिएको छ ।
अबको १४ महिनाभित्र निर्माणाधीन आयोजनाबाट १२ सय ७१ मेगावाट विद्युत् उत्पादन हुने नेपाल ऊर्जा मन्त्रालयले जारी गरेको प्रगति विवरणमा उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा २० आयोजनाको २ सय ८७ मेगावाट विद्युत् चालू वर्षभित्रै जोड्ने लक्ष्य छ ।
०७७ असारभित्र प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा ९ सय ८४।८३ मेगावाट विद्युत् जोड्ने लक्ष्य छ । धेरैजसो आयोजना लक्षित समयभित्रै निर्माण पूरा हुने वातावरण बनिरहेको समेत मन्त्रालयले जनाएको छ । तर, उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिन आवश्यक प्रसारण लाइन तथा सबस्टेसनहरूको निर्माण तथा क्षमता अभिवृद्धिको काम निकै सुस्त गतिमा भइरहेको छ ।
‘उत्पादन भएको विद्युत्लाई आन्तरिक तथा बाह्य बजारसम्म लान र बाह्य बजारबाट आवश्यक परेका वेला विद्युत् ल्याउन पनि आन्तरिक तथा अन्तरदेशीय, क्षेत्रीय तथा उपक्षेत्रीय प्रसारण लाइन तथा सञ्जाल निर्माण हुनु अनिवार्य छ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘प्राधिकरणले अब रुग्ण बनेका तथा समयमै निर्माण हुन नसकिरहेकालगायत सबैजसो प्रसारण लाइनलाई मुख्य प्राथमिकतामा राखेर तीव्रता दिन लागेको छ ।’
निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा लान र भरपर्दो विद्युत् प्रसारण सञ्जाल निर्माण गर्ने प्राधिकरणले सबस्टेसन ९कनेक्सन प्वाइन्ट०, प्रसारण लाइन, क्षमता अभिवृद्धि, ग्रिड सुधारजस्ता आयोजना गरी कुल ५७ आयोजना अघि बढाइरहेको छ । यीमध्ये २६ वटा प्रसारण लाइन आयोजना निर्माणाधीन अवस्थामा छन् । ५ सबस्टेसनहरू निर्माण भइरहेका छन् भने १४ आयोजना अघि बढाउने तयारीमा छन् । त्यसमा ४००/२२०/१३२/३३ केभीका प्रसारण लाइनहरू निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणको प्रसारण निर्देशनालयको तथ्यांकले देखाएको छ । तर, थानकोट–चापागाउँ–भक्तपुर १ सय ३२ केभीजस्ता कतिपय आयोजना २० वर्षमा पनि निर्माण पूरा हुन सकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।