काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले शुक्रबार पश्मिना उद्योग संघको १८ औं साधारण सभाको उद्घाद्टन गरेका छन् । सो अवसरमा उनले उत्पादन नै कम भएको देशमा ‘निर्यात बृद्धि, नेपालको आर्थिक सम्बृद्धि’ मूल नारा राखेर साधारण सभा सुरु गरेको नेपाल पश्मिना उद्योग संघलाई निर्यात भन्दा पनि उत्पादनमा जोड दिन अनुरोध गरे ।
उनले उद्योगीहरुले कारोबार भएको सबै हिसाब सरकारलाई नदेखाउने बताए । सरकारले उद्योगीहरुको कुरा सुने पछि उद्योगीहरुले पनि सरकारको कुरा सुनु पर्ने बताए । उद्योगीहरुले श्रमिकहरुकै कारणले आफु उद्योगी भएको आत्मसाथ गर्नु पर्ने बताए । नेपालको उद्योग क्षेत्रमा ७० प्रतिशतभन्दा धेरै निजी क्षेत्रको लगानी रहेकाले सरकार र निजी क्षेत्र मिलेर देशलाई आर्थिक सम्बृद्धिमा लानु पर्ने यादवले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रलाई दोस्रो दर्जाको रुपमा हेरिरहेको बताए । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै देशमा आर्थिक सम्बृद्धि आउने बताए । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले नेपालको पश्मिना भनेर नक्कली पश्मिना बजारमा आएकोले पश्मिना ओझेलमा परेको बताए । नेपालबाट कूल ८५ अर्बको सामान निर्यात हुनेमा ३ अर्ब पश्मिना नै निर्यात हुने गरेको थापाले बताए ।