नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएर १ डलर बराबर ११२ रुपैयाँ नाघ्यो, बजार भाउ के हाेला ?

<p>काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ एकैदिन २ रुपैयाँ कमजोर भएको छ । डलर मजवुत भएपछि नेपाली रुपैयाँ कमजोर भएको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिक्रीदर १ डलर बराबर ११२ रुपैयाँ २० पैसा तोकेको छ । यो हालसम्मको उच्च दर हो । राष्ट्र बैंकले सोमबार १ डलर बराबर ११० रुपैयाँ ४३ पैसा बिक्री [&hellip;]</p>

काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ एकैदिन २ रुपैयाँ कमजोर भएको छ । डलर मजवुत भएपछि नेपाली रुपैयाँ कमजोर भएको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिक्रीदर १ डलर बराबर ११२ रुपैयाँ २० पैसा तोकेको छ । यो हालसम्मको उच्च दर हो । राष्ट्र बैंकले सोमबार १ डलर बराबर ११० रुपैयाँ ४३ पैसा बिक्री दर तोकेको थियो ।

भारतीय रुपैयाँ (भारु) डलरसंग हालसम्मकै कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७० भारु तोकेको छ । टर्कीको अर्थतन्त्र संकटतर्फ उन्मुख भएपछि यसको असर भारुमा परेको हो । डलर भने मजवुत हुदै गएको छ । सोमबार टर्कीको लिरा ८ प्रतिशत कमजोर भएको छ । टर्कीका कारण अस्थिरता आउने भन्दै सोमबार विश्व सेयर बजारमा पनि गिरावट आएको छ ।

वृहत आर्थिक परिदृष्यले भारतको अर्थतन्त्र राम्रो देखाएपछि सोमबार बिहान भारु केही मजवुत भएको थियो । सोमबार बिहान ४१ पैसा मजवुत भई १ डलर बराबर ६८ रुपैयाँ ४२ पैसा भारु कायम भएको थियो । भारु अझ कमजोर हुने अनुमान गरिएको छ ।

नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्नेगर्छ । डलर मजवुत भएपछि बजार भाउ बढ्छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । २ महिनाको बीचमा नेपाली रुपैयाँ ४ रुपैयाँले कमजोर भएको छ । बैशाखयता ४ महिनामा नेपाली रुपैयाँ ६ रुपैयाँ कमजोर भएको छ ।

२०७४ असारको तुलनामा २०७५ जेठ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ३.९ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७५ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०७ रुपैयाँ ९४ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ पैसा थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षर गरेपछि अन्तराष्ट्रिय बजारमा डलर महंगिदै गएको हो ।

कर्पोरेट कर घट्ने भएपछि भारतलगायत अन्य मुलुकबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । ट्रम्पको कर्पोरेट कर कटौती नीतिले भारतलगायत मुलुकमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । २ वर्ष मंसिरमा डलर मजवुत भएर १११ रुपैयाँ नजिक पुगेको थियो । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ ।

डलर बलियो हुँदाका बेफाइदा

डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ ।

यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ ।

राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

Share News