भेष्पा अप्रिलिया किन्नेले ६० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने

काठमाडौं । भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । जसको लागि भेष्पा अप्रिलियाले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो । नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पका अनुसार ग्राहकले स्कुटरको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिनासम्म रहनेछ । यो सुविधा देश भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ । डेल्टा अटोकर्पका सीईओ तथा निर्देशक विजय महत्तो भन्छन्, ‘डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ, यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुविधा सुनिश्चित गर्दछ ।’ हुलास फिनसर्भ हायर पर्चेजका महाप्रबन्धक समिर ठाकुरले सरल फाइनान्स सुविधाले ग्राहकका लागि फाइनान्समा स्कुटर खरिद गर्न मद्दत पुर्याउने बताए ।

इक्रा नेपालमा रेटिङ गराउँदै आएको नागरिक लगानी कोष एकाएक किन बाहिरियो ?

काठमाडौं । सन् २०२० देखि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराउँदै आएको नागरिक लगानी कोष एकाएक बाहिरिएको छ । इक्रा नेपालले सार्वजनिक गरेको सूचना अनुसार उक्त कम्पनीले हालै रेटिङ विथड्र गरेको हो । २०२० नोभेम्बरमा पहिलो पटक रेटिङ गराएको कम्पनीले हालसम्म निरन्तर उक्त एजेन्सीमा रेटिङ गराइरहेको थियो । इक्रा नेपालको तथ्यांकअनुसार यो अवधिमा कम्पनीले दुई पटकसम्म रेटिङ गराएको देखिन्छ । जसमा दुबैपटक इक्रा एनपी इस्युआर रेटिङ ए प्लस पाएको थियो । जुन हाल मात्र फिर्ता भएको छ । विथड्र गर्नको लागि कम्पनीबाट निवेदन आएसँगै उक्त रेटिङ विथड्र गरिएको कम्पनीका विश्लेषक राजिब महर्जन बताउँछन् । क्रेडिट रेटिङ विनियम २०११ अनुसार उक्त रेटिङ फिर्ता गरिएको इक्रा नेपालका विश्लेषक राजिब महर्जन बताउँछन् । ‘उहाँहरुबाट रेटिङ चाहिँदैन विथड्र गरिदिनुस् भन्ने रिक्वेष्ट आयो, सोही बमोजिम विथड्र गरिएको हो,’ विकासन्युजसँग बोल्दै उनले भने । रेटिङ एजेन्सीले कुनैपनि कम्पनीसँग रेटिङ सम्झौता गरेपश्चात सुरुको रेटिङ गरेको तीन वर्षसम्म उक्त कम्पनीको अनुगमन गर्नैपर्छ भन्ने व्यवस्था छ । सोही समयावधि सकिएकोले पनि कोषको रेटिङ विथड्र भएको बुझिन्छ । कोषका उपनिर्देशक नारायण प्रसाद घिमिरेले पनि सम्झौता गरिएको अवधि सकिएकोले विथड्र गरिएको बताए । ‘हामीबीचको एग्रिमेन्टको अवधि गत नोभेम्बरबाट सकिएकोले विथड्र भएको हो,’ विकासन्युजसँग बोल्दै घिमिरेले भने- ‘आवश्यक भएमा अर्को पटक फेरि सम्झौता गर्न सक्छौं ।’ तर, तत्काललाई भने कोषलाई रेटिङ गराउन आवश्यक नरहेको उनको भनाई छ । ‘अहिले हामीलाई ऋण लिनु पनि छैन, हकप्रद सेयर जारी गर्नु पनि छैन, त्यसैले तत्काल रेटिङ आवश्यक छैन,’ उनले थपे- ‘आवश्यक परेमा सञ्चालक समितिको निर्णय अनुसार नै रेटिङ एजेन्सीसँग सम्झौता गर्ने छौं ।’ यदि पुनः इक्रा नेपालसँग रिटिङ गराउन चाहेमा कोषले पुनः सम्झौता गर्नुपर्ने हुन्छ । किनभने एकपटक विथड्र भइसकेपछि अर्को पटक रेटिङ गर्नको लागि दुई कम्पनीबीच पुनः सम्झौता हुनैपर्छ । जबसम्म विथड्र भएका कम्पनीले अर्को सम्झौता गर्दैनन् तबसम्म रेटिङ एजेन्सीहरुले अर्थात इक्रा नेपालले कम्पनीका कुनैपनि रिपोर्टको निगरानी नगर्ने कोषका विश्लेषक राजिब महर्जन बताउँछन् । नेपालमा हाल तीन वटा रेटिङ एजेन्सीले इक्रा नेपाल, केयर रेटिङ नेपाल र इन्फोमेरिक्स नेपालले विभिन्न कम्पनीहरूको रेटिङ गराउँदै आएका छन् । पछिल्लो एक महिनाको अवधिमा मात्रै तीन एजेन्सीबाट करिब ६० वटा कम्पनीको रेटिङ विथड्र भएको देखिन्छ । एजेन्सीका पदाधिकारीहरू रेटिङ विथड्र हुनुमा तीन वटा कारण हुन सक्ने बताउँछन् । त्यसमध्ये एउटा त सेवा मन नपराएर अर्को कम्पनीमा जानु, अर्को कम्पनीहरू आर्थिकरूपमा नाजुक भएर सूचना दिन नमान्नु र अर्को भनेका तत्काल रेटिङ गराउन आवश्यक नभएकोले पनि कम्पनीहरूले रेटिङ विथड्र गर्न सक्ने उनीहरूको भनाई छ । सम्बन्धित समाचार रेटिङबाट धमाधम बाहिरिँदै कम्पनी, वित्तीय संकट कि सूचना लुकाउने चलखेल ?

निर्धारण भयो अपर तामाकोशीको कटअफ मूल्य, कति ?

काठमाडौं । लिलाममा बिक्री गरिएको अपर तामाकोशी हाइड्रोपावरको कटअफ मूल्य प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएकाे छ । सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त सेयरको कटअफ मूल्य १४६ रुपैयाँ कायम भएको हो । कम्पनीले बिक्रीमा राखेको हकप्रद सेयर पूर्ण रुपमा बिक्री नभएको एक करोड ७० लाख कित्ता बढी सेयर लिलामीमा राखेको थियो । उक्त सेयरमा आवेदकहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम २०० रुपैयाँसम्म हालेका थिए । कटअफ प्राइस प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाउने छन् । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो । जसमा ३० हजारबढी आवेदकले आवेदन दिएका थिए । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल थिए ।