यी हुन् एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन प्रतियोगिताका विजेताहरू

काठमाडौं । एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३÷२४ को ११औं कलाईडोस्कोप प्रतियोगिताका विजेताहरूको नाम घोषणा गरेको छ । एशियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिकरूपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको छ । कलाईडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए, जसले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए । प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भइन् भने एक्मे इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्नु हुने काठमाडौं इन्जिनियरिङ कलेजका बिपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङका केवल लामाले नगद पुरस्कार १०÷१० हजार प्राप्त गरेका छन् । विजेताहरूलाई माननीय पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले समारोहका बीच पुरस्कारहरू प्रदान गरेका थिए । होटल म्यारियटमा आयोजना गरिएको सो पुरस्कार वितरण कार्यक्रममा अन्य विशिष्ट पाहुनाहरूको पनि उपस्थिति रहेको थियो ।

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ । प्रशान्ति टोल विकास संस्थाको साधारण सभाअन्तर्गत संस्थालेलएक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई ‘प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन्’ भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ । बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले सो गमला उक्त संस्थाको अध्यक्ष ज्ञानबहादुर कार्कीलाई हस्तान्तरण गरे । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए ।

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बुद्ध एयरमा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रूपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको हो ।