क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह

काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ । संघले क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको छ । केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बीमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि संघले स्पष्ट पारेको छ ।

सेयर बजारमा ५ अर्बको कारोबार, हिमस्टार ऊर्जामा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोराे अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७५ बिन्दुमा झरेको छ । आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २४ करोड, युनिभर्सल पावर कम्पनीको २३ करोड, हिमालयन रिइन्स्योरेन्सको २१ करोड र युनाइटेड मोदीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत, अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित दर) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि भदौ ११ देखि १६ गतेसम्म निष्काशन गरिएको थियो । यस सेयरमा कुल ६४ हजार ८१२ आवेदकले १० लाख १५ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ६४ हजार ७९ वटा आवेदन स्वीकृत भएका छन् भने १३ वटा आवेदन रद्द भएका थिए । मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथा (लटरी) प्रणालीमार्फत गरिएको हो । सोअनुसार ३० हजार ९९३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । बाँकी रहेका ८ कित्ता सेयर पनि सोही लगानीकर्तामध्ये ८ जनामा बाँडफाँड भई प्रत्येकले १/१ कित्ता अतिरिक्त सेयर प्राप्त गरेका छन् ।