मेटलाइफ २०२५ का लागि फर्च्युन वर्ल्डको उत्कृष्ट २५ कार्यस्थलमा सम्मानित
न्यूयोर्क । विश्वको प्रतिष्ठित सूचीकर्ता ‘फर्च्युन वर्ल्ड’ ले २०२५ का लागि सार्वजनिक गरेको उत्कृष्ट २५ कार्यस्थलहरूको सूचीमा मेटलाइफ, इंक लगातार दोस्रो वर्ष पुर्याइएको छ । यस वर्ष मेटलाइफले सो सूचीमा १०औँ स्थान हासिल गरेको हो । विश्वभरका केवल २५ कम्पनीलाई प्रदान गरिने यो मान्यताले मेटलाइफको कर्मचारी, ग्राहक र समुदायप्रति रहेको दिगो प्रतिबद्धतालाई झल्काउँछ । 'यो मान्यता हाम्रा कर्मचारीहरूको निरन्तर समर्पण र ऊर्जाको प्रमाण हो,' मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने, 'हामीले अवलम्बन गरेको नयाँ सीमाना वृद्धि रणनीतिलाई अघि बढाउँदै गर्दा, सबै कर्मचारीले फस्टाउन सक्ने वातावरण बनाउन तथा सरोकारवालाको भविष्य आकार दिने हाम्रो प्रतिबद्धता झन् दृढ भएको छ ।' फर्च्युनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्क द्वारा गरिएको नौ मिलियनभन्दा बढी कर्मचारी सर्वेक्षण प्रतिक्रियामा आधारित मूल्यांकनबाट यो सूची तयार गरिएको हो । विश्वभरका प्रमाणित संस्थाहरूमा कार्यरत २ करोड ५० लाखभन्दा बढी कामदारको अनुभव प्रतिनिधित्व गर्ने आधारमा उत्कृष्ट कार्यस्थल चयन गरिन्छ । मेटलाइफलाई हालसम्म अमेरिकाको फर्च्युन १०० उत्कृष्ट कम्पनीहरू सूचीमा लगातार तेस्रो वर्ष स्थान मिळेको छ भने एशिया, युरोप, ल्याटिन अमेरिका तथा मध्यपूर्वका विभिन्न देशहरूमा पनि उत्कृष्ट कार्यस्थलको मान्यता प्राप्त गरिसकेको छ । २०२५ मा मात्र मेटलाइफ ३३ विभिन्न बजारमा ‘सर्टिफाइड ग्रेट प्लेस टु वर्क’ बनेको छ । 'हाम्रा सबै उपलब्धिका मूल प्रेरक शक्ति हाम्रै कर्मचारी हुन्,' मेटलाइफका प्रमुख मानव संसाधन अधिकृत शुराउल सिब्लिसले भने, 'कर्मचारीलाई सम्मान, मान्यता र सशक्तिकरण दिने हाम्रो संस्कृतिले नै यो उपलब्धि सम्भव बनाएको हो ।' फर्च्युनका मापदण्डअनुसार, उत्कृष्ट २५ विश्वव्यापी कार्यस्थलमा सूचीकृत हुन कम्पनीसँग ५ हजार वा सोभन्दा बढी कर्मचारी हुनुका साथै २०२४ वा २०२५ को सुरुवातमा विभिन्न महादेशका कम्तिमा पाँच उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता प्राप्त हुनुपर्छ । मेटलाइफले यी सबै मापदण्ड पूरा गर्दै वैश्विक प्रतिस्पर्धामा उच्च स्थान सुरक्षित गरेको छ ।
ग्रीनेदी इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिइएको कम्पनीले जनाएको छ । उक्त सम्झौता सोमबार सम्पन्न भएको हो । सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा छुट्याउने तयारी गरेको छ । कम्पनीले कास्की जिल्लास्थित ईदी खोलामा निर्माण गरेको ‘इदी खोला जलविद्युत योजना’ बाट २०८२ बैशाख ८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । जलविद्युत, बैंकिङ, बिमा तथा पूँजी बजार क्षेत्रका अनुभवी व्यक्तिहरूको सहभागितामा बनेको यस आयोजनालाई हाइड्रोलोजी क्यु–६५ को संरचनामा निर्माण गरिएको कम्पनीले जनाएको छ । ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थका अनुसार कम्पनीले आगामी दिनमा अन्य जलविद्युत आयोजनासँगै सौर्य तथा हरित ऊर्जामा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ ।
शिवम् सिमेन्ट्सको लाभांश घोषणा
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले साढे १२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सचिव लेखनाथ अर्यालकाअनुसार शिवमले २०८१–८२ को वार्षिक साधारणसभा मंसिर २५ गते गर्ने र सो सभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्ने एजेन्डा रहेको छ । कम्पनीले चुक्ता पुँजी ५ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको २.५० प्रतिशत अर्थात १३ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशत अर्थात् ५४ करोड ५६ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको सचिव अर्यालले जानकारी दिएका छन् । मंसिर १० गतेसम्म कायम हरेका सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउनेछन् ।