आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री 'एसएआरएसोसिएट्स' चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ । फाइनान्सका अनुसार चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।
ईसेवाको ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक
काठमाडौं । ईसेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत विदेशबाट रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार हरेक हप्ता चार सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्पर पुरस्कारको रूपमा एक भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछ । विजेताको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ । ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले योजना सम्बन्धमा जानकारी दिँदै भने, 'अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं । रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू यसमा सहभागी भई आकर्षक नगद पुरस्कार जित्न सक्नेछन् । साथै, सम्पूर्ण प्रयोगकर्तालाई सुख, शान्ति र समृद्धिको कामना सहित नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।' यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ईसेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताका लागि लागू हुने कम्पनीले जनाएको छ ।
ज्योति विकास बैंक कर्मचारीमाथि आक्रमण, कानुनी कारबाही अघि बढाइयो
काठमाडौं । ज्योति विकास बैंकको रुपनी शाखाका दुई कर्मचारीहरूलाई सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक, उनका परिवार सदस्य र सहयोगीहरूले नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको घटनाप्रति बैंकले घोर भर्त्सना जनाएको छ । बैंकका अनुसार कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफलका लागि ऋणीसँग टेलीफोनमार्फत पूर्व संवाद भएपश्चात क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरू फर्म पुगेका थिए । त्यहाँ कर्मचारीहरूलाई घण्टौंसम्म नियन्त्रणमा राखी धम्की दिइएको र धितो लिलामी स्थगनसम्बन्धी पत्र उपलब्ध नगराएमा ज्यान लिने चेतावनी दिएको बैंकले जनाएको छ । बैंकले यस क्रममा सुरक्षा निकायबाट कुनै सहयोग नपाएको पनि जनाएको छ । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरू राष्ट्रिय स्तरको विकास बैंकमा कार्यरत व्यवसायिक साधक भएको र नीति तथा निर्देशनको पालना गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको स्मरण गराउँदै, यस्ता आपराधिक गतिविधि प्रति घोर निन्दा व्यक्त गरेको छ । बैंकले अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही अघि बढाइएको र भविष्यमा पनि यस्ता घटनाविरुद्ध सदैव कडा उभिने प्रतिबद्धता जनाएको छ ।