नयाँ वर्ष लक्षित महालक्ष्मी विकास बैंकका आकर्षक योजना सार्वजनिक
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना अनुरूप ग्राहककेन्द्रित कार्यक्रम ल्याएको जनाएको छ । बैंकका अनुसार मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने तीन जना ग्राहकलाई गोलाप्रथाबाट आकर्षक भ्रमण प्याकेज प्रदान गरिनेछ । विजेता तीन जनाले आन्तरिक पर्यटनअन्तर्गत आफ्नो जोडीसहित पोखरा, चितवन र मनकामना भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । यस्तै, डिजिटल बैंकिङलाई थप प्रोत्साहन गर्न बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न डिजिटल कारोबारबापत प्रदान गरिने रिवार्ड पोइन्ट प्रणालीलाई थप प्रवर्द्धन गर्ने जनाएको छ । ग्राहकले प्राप्त गर्ने रिवार्ड पोइन्ट ‘लभ पोइन्ट्स रिवार्ड्स’ एपमा जम्मा हुनेछन्, जुन प्ले स्टोर तथा एप स्टोरमार्फत डाउनलोड गर्न सकिनेछ । उक्त रिवार्ड पोइन्ट ग्राहकले निश्चित सर्तअनुसार विभिन्न सामान खरिद तथा अन्य प्रयोजनमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यसैगरी, नयाँ वर्ष २०८३ को अवसरमा बैंकले सुलभ ब्याजदरमा महालक्ष्मी घर कर्जा योजना समेत सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत आवासीय तथा व्यापारिक घर-जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, घर थप, पुनर्निर्माण तथा मर्मतसम्भारका लागि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्षसम्मको कर्जा उपलब्ध गराइनेछ । उक्त कर्जामा ७ वर्षसम्म स्थिर ब्याजदरको सुविधा समेत रहने बैंकले जनाएको छ । ‘सबल बैंक, सफल सहकार्य’ नारालाई आत्मसात गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने बैंकसँग ८ लाख ५० हजारभन्दा बढी ग्राहक आबद्ध छन् ।
सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन
काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ । यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालभित्र यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म तथा भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुनेछ । यस पहलमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन विभिन्न क्यासब्याक योजना तथा छुटहरू उपलब्ध गराउँदै आएको छ । बससेवा अभियानका अतिरिक्त, सानिमा बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन्।् विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ सेयर निस्कासन गर्ने
काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निस्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न पहिलो साधारणसभाले ‘आईपीओ’ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र छ जना सञ्चालक निर्विरोध चयन गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ । होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।