क्यासवे मनी ट्रान्स्फर पनि नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रा.लि. नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । ट्रान्स्फरले नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा उक्त क्लियरिङ्ग हाउसमा आबद्ध भएको हो । यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली मार्फत रियल टाइममा र अन्य रेमिटेन्स भुक्तानी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस मार्फत तोकिएको समय सीमामा मध्य गर्न सक्नेछन् । हाल क्यासवे मनी ट्रान्स्फरले रेमिटेन्सको भुक्तानी मेगा बैंक लिमिटेड मार्फत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ । नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ । यसमा हाल ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ४१ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतकायी सदस्यहरुले आफ्नो बैंक खातामार्फत् एनपीआईको सेवा प्रयोग गर्ने गरेका छन् । क्यासवे मनी ट्रान्स्फर नेपाल भरी भरपर्दो रेमिटेन्स नेटवर्क मार्फत् रेमिटेन्स सुविधा दिँदै आएको मनी ट्रान्स्फर कम्पनी हो । नेपालका बैंकिङ्ग तथा रेमिटेन्स क्षेत्रका विज्ञहरुद्वारा स्थापना गरिएको यस मनी ट्रान्स्फरले विदेशमा रहेका नेपालीहरुलाई सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ ।

भदौ २५ र २८ गतेका ६४० वटा कारोबार रद्द, कहिले हुन्छ सेयर कारोबारको राफसाफ ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले गत भदौ २५ गते(बिहीबार) र भदौ २८ गते (आइतबार)को गरी कूल ६ सय ४० वटा कारोबार रद्द भएको जनाएको छ । उक्त दुई दिन २ बजेर १५ मिनेटभन्दा अगाडि कूल ४ हजार ९ सय ३७ कारोबार भएकोमा ६ सय ४० वटा कारोबार रद्द भएको नेप्सेले जानकारी गराएको हो । जसमध्ये बाँकी रहेका ४ हजार २ सय ९७ वटा कारोबारको राफसाफ गर्न नेप्सेले सीडीएसलाई निर्देशन दिएको छ । नेप्सेको निर्देशन अनुसार सीडीएससीले उक्त कारोबारको राफसाफ आगामी असोज ९ गते शुक्रबार गर्ने बताएको छ । नेप्से कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)मा समस्या आएकोले सोही दिनको कारोबारको राफसाफ तथा फछर्यौट सेवा सीडीएससीले तत्कालको लागि स्थगत गरेकाे थियाे । कारोबारमा समस्या भएकोले सो दिनको सेटलमेन्ट पोष्टपोन गर्नुहुन्न भनेर नेप्सेबाट पत्रचार भएकोले सीडीएससीले कारोबारको राफसाफ तथा फछर्यौट सेवा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियाे ।

हिमालयन डिष्टिलरीको सेयर अनाधिकृत रुपमा बेच्ने शाहलाई ७५ हजार र ब्रोकरलाई साढे एक लाख जरिवाना

काठमाडौं । हिमालयन डिष्टिलरीका पूर्व संचालक रहिशा शाह श्रेष्ठलाई धितोपत्र बोर्डले कारबाही गरेको छ । बोर्डले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित सेयर कारोबार गरेको फेला परेपछि संचालक शाह र उनको सेयर बेचिदिने ब्रोकरलाई समेत बोर्डले नगद जरिवाना तिराएर कारबाही गरेको हो । शाहले सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत संचालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरीको सेयर बिक्री गरेको तथा उक्त सेयर कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी (ब्रोकर) श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाललाई कारबाही गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । बोर्डले सेयर विक्री गर्ने शाहलाई ७५ हजार तथा सेयर बेचिदिने ब्रोकरलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । शाहको बारेमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को व्यवस्था बमोजिमको पूर्ण विवरण सहितको अभिलेख नराखेको बोर्डको अनुसन्धानबाट खुलेको छ । यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सोको पूर्ण रुपमा पालना नगरेको आरोप बोर्डको छ । प्रणालीमा बिक्री आदेश प्रबिष्ट गर्नुअघि उक्त कारोवार धितोपत्र सम्बन्धी ऐन, नियम, विनियम तथा निर्देशन बमोजिम गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक सावधानी अपनाएको नदेखिएको बोर्डको भनाइ छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवान गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार शाहलाई ७५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको बोर्डले जानकारी दियो । यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोवार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार ब्रोकर कम्पनी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो । बोर्डले सूचिकृत संगठित संस्थाको संचालकलाई गरेको यो नै पहिलो कारबाही हो । यस्तो कारबाही यसअघि कसैलाई पनि नगरिएको बोर्डको भनाइ छ । बोर्डले धितोपत्र सम्बन्धी कानूनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनीकरण भई दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुले ऐन नियमको पालनातर्फ थप सजगता अपनाउने बोर्डको अपेक्षा रहेकोे छ ।