नेत्रहीनले सेयर काराेबार कसरी गर्ने ? यस्ता छन् समस्या

काठमाडौं । दोश्रो बजारमा सेयर कारोबार गर्ने नेत्रहीन लगानीकर्तामध्ये एक लगानीकर्ता हुन् कृष्ण आचार्य । उनी जन्मदेखि नै नेत्रहीन हुन् । उनले सेयर बजारमा प्रवेश गरेको करिब एक वर्ष हुन लागेको छ । यो अवधिमा सेयर कारोबार गर्दा विभिन्न समस्याहरु भाेग्नुपरेकाे उनी बताउँछन् । नेत्रहीनहरुले नदेख्ने भएको हुनाले उनीहरुले चलाउने कम्प्युटरमा बोल्ने अर्थात स्क्रिन रिडर सफ्टवेयर राखिएको हुन्छ । त्यसपछि मात्र उनीहरुले अन्यले जस्तै गरि सजिलै कम्युटर चलाउन सक्ने उनी बताउँछन् । टीएमएस कसरी लगइन गर्छन् ? सेयर काराेबार गर्नकाे लागि पहिले टीएमएस लगइन गर्नु पर्ने हुन्छ । नेत्रहीन लगानीकर्ताहरू स्क्रीन रिडरको सहायताले टीएमएसको वेवसाइटमा जान्छन् । लगइन गर्छन् । त्यहाँ नेपाल स्टक एक्स्चेञ्ज भनेर देखाइएको हुन्छ । जहाँ क्लाइन्ट कोड/युजरनेम भनेपछि उनीहरुले त्यसमा क्लाइन्ट कोड हाल्छन् । त्यसैगरी पासवर्ड पनि राख्छन् । र, क्याप्चा पछि हाल्नुपर्छ, जुन सफ्टवेयरले बोलिदिन्छ । जसमा हाल समस्या नभएको उनीहरु बताउँछन् । सेयर कारोबार गर्दा समस्या  नेत्रहीन लगानीकर्ता आचार्यका अनुसार अन्य लगानीकर्ता भन्दा नेत्रहीन लगानीकर्ताले सेयर कारोबार गर्दा विभिन्न समस्याहरु भोग्नुपरेको छ । कोल्याटरल लोड गर्न, कनेक्ट आईपीएसबाट रकम लोड गर्न, बाईसेल र अर्डरलाई इडिट गर्न लगायतका समस्याहरु नेत्रहिनहरुले भोगिरहेका छन् । जुन अन्यलाई सामान्य लागेपनि नेत्रहीनहरुलाई भने ठूलै समस्या देखिएकाे छ । कोल्याटरल लोड गर्न सेयर कारोबार गर्दा फण्ड म्यानेजमेन्टबाट कोल्याटरल लोड गरिन्छ । जहाँ क्याप्चा रिड गरेर हाल्नु पर्ने हुन्छ । तर कोलाटरल लोड गर्ने समयमा भने स्क्रीन रिडरले क्याप्चा नपढ्ने उनीहरुको गुनासो रहेको छ । रकम लोड गर्न कनेक्ट आईपीएसबाट रकम लोड गर्दाको सम्बन्धमा पनि समस्या रहेको उनीहरु बताउँछन् । रकम लोड गरिसकेपछि सब्मीट र कन्फर्म सब्मीट भन्ने आउँछ र सब्मीट गरिसकेपछि कनेक्ट आईपीएसको वेवसाइट खुल्छ र लगइन इन्फरमेसन माग्छ । जहाँ टाइप द क्यारेक्टर इन इमेज भन्ने आउँछ जुन स्क्रीन रिडरले पढ्न नसक्ने उनीहरु बताउँछन् । कनेक्ट आईपीएसबाट पैसा लोड गर्न नसकिएको अवस्था समाधान गर्न यसको क्याप्चालाई व्यवस्थापन गरिदिन नेत्रहीन लगानीकर्ता कृष्ण आर्चाय आग्रह गरेका छन् । बाईसेल गर्न उनका अनुसार टीएमएसबाट बाईसेल गर्न पनि मिलिरहेको छैन । अन्यलाई समस्या नभएपछि नेत्रहीनहरुलाई समस्या देखिएको छ । जुन स्क्रीन रिडरले नपढेको उनी बताउँछन् । नेत्रहीनहरुलाई वेव एसेसिबिलिटी गाइडलाइनको अभावले गर्दा लगइन गर्दा, प्लेस अडर गरिसकेपछि बाई गर्ने हो या सेल गर्न नसकिएको अवस्था रहेको आर्चाय बताउँछन् । जुन स्क्रीन रिडरसँग तालमेल नमिलेर क्लिकएबल बटनमा क्लिक नभएको उनी बताउँछन् । यस्तो अवस्थामा मार्केट डेप्थबाट किनबेच गर्ने गरिएको उनको भनाई छ । तर अडर म्यानेजमेन्टबाट बाईसेल गर्न समस्या भएको छ । अर्डरलाई इडिट गर्न समस्या साथै, अर्डर हिष्ट्रीमा गएर अर्डरलाई इडिट गर्न नमिलेको लगानीकर्ता आर्चाय बताउँछन् । अन्ततः यस्ता समस्यालाई मनन् गरी सम्बोधन भइदिए आर्चाय लगायत सम्पूर्ण नेत्रहीन लगानीकर्ताहरुले सजिलै सेयर काराेबार गर्ने पाउने उनकाे विश्वास छ । त्यसैले यी समस्या यथासिघ्र छिटाे समाधान हुने पर्ने उनकाे माग छ । (नेत्रहीन संघको सहयोगमा नाफिजले आयोजना गरेको कार्यक्रममा नेत्रहीन लगानीकर्ता आचार्यले राखेका विचारको सम्पादित अंश)

हकप्रदपछि एचआईडीसीएलको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को सेयर मूल्य समायोजन भएको छ । संस्थाले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएसँगै मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४३ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ५८६ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीकाे शतप्रतिशत अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । जसकाे लागि गत जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले गत जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो ।

वित्तीय विवरण त्रुटिपूर्ण रहेको भन्दै रैराङ हाईड्रोले सच्यायो प्रतिसेयर नेटवर्थ र ईपीएस

काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण त्रुटिपूर्ण रहेको बताएको छ । कम्पनीले आज (जेठ २७ गते) एक सूचना जारी गर्दै यसअघि सार्वजनिक गरिएको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ र ईपीएस (प्रतिसेयर आम्दानी) मा त्रुटि भएको जानकारी गराएको हो । कम्पनीले गत बैशाख २० गते तेश्रो त्रैमासिक विवरणको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यसमा प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ र इपीएस १३.०३ रुपैयाँ उल्लेख गरिएको छ । तर आज एक सूचना मार्फत उक्त तथ्याङ्कमा भुलबस गलत भएको कम्पनीले जानकारी गराउँदै सच्याएको छ । जसअनुसार कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १०९.०८ . रुपैयाँ र इपीएस ९.१७ रुपैयाँ रहेको जनाईएको छ ।