२१ औं वार्षिकोत्सवमा सुबिसुले २१ ठाउँमा गर्यो रक्तदान कार्यक्रम

काठमाडाैं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट र चपुरमा सफलता पुर्वक सम्पन्न भएकाे सुबिसुले जनाएकाे छ ।  

ट्राफिक महाशाखाले शुरु गर्‍यो मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था

काठमाडौं । अब ट्राफिक जरिवाना किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने भएकाे छ । महानगरीय ट्राफिक महाशाखाले आजदेखी ट्राफिक नियम उल्लंघन गरेवापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु पे’को किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने सेवा सुरु गरेकाे हाे । महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधीमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्युआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन् । बुधबार एक कार्यक्रमकबीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधीकाे उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधीमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए ।  

बढ्यो हुलाकको महसुल दर, अब पत्रपत्रिका पठाउँदा सय रुपैयाँ लाग्ने

काठमाडौं । सरकारले हुलाक महसुल दर बढाएको छ । हुलाक सेवा ऐनले दिएको अधिकार प्रयोग गर्दै सरकारले माघ १ गतेदेखि महसुल बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै हुलाक सेवा ऐन, २०१९ को दफा ६ र ८ ले दिएको अधिकार प्रयोग गरी मूल्य बढाईएको जनाईएको छ । आन्तरिक हुलाकबाट पहिलोपटक चिठी पठाउँदा पहिले ८ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ लाग्ने भएको छ । यस्तै, दोस्रोपटक पठाउँदाको महसुल भने ५ रुपैयाँ नै कायम हुनेछ । हवाइ पत्र पठाउँदा लाग्ने शुल्क ३ रुपैयाँबाट ५ रुपैयाँ बनाइएको छ । हुलाक पत्र ५ बाट १० रुपैयाँ र छापा पत्र ७ बाट १० रुपैयाँ पु¥याइएको छ । त्यस्तै सतह डाँक सेवाको मूल्य ३० बाट २ सय पु¥याइएको छ । यसमा २ किलोग्रामबाट न्यूनतम तौल सुरु हुन्छ। त्यसपछि प्रत्येक पाँच सय किलोग्राममा ५० रुपैयाँ लाग्ने छ। यसमा पहिले ३० रुपैयाँ थियो। त्यस्तै हवाइ डाँक सेवामा २ किलोग्रामसम्म २३० रुपैयाँ लाग्ने छ । पत्रपत्रिका नवीकरण दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न) यसअघि ५० रुपैयाँ लाग्ने गरेकोमा बढाएर एक सय रुपैयाँ बनाईएको छ । यस्तै, प्रत्येक थप जिल्लाको लागि ५ रुपैयाँ लाग्नेगरेकोमा १० रुपैयाँ बनाइएको छ ।