टेलिकमको नयाँ वर्ष अफर : जुनसुकै नेटवर्कमा सस्तोमा कल गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको सिमबाट जुनसुकै नेटवर्कमा फोन गर्दा एउटै शुल्कमा फोन गर्न सकिने गरी ‘’सेवा सुरु गरेको छ । उक्त अफर यही चैत १७ गतेदेखि वैशाख ४ गतेसम्म लागू हुने नेपाल टेलिकमले जनाएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका ‘अन-नेट भ्वाइस प्याक’ कायम राख्दै कम्पनीले किफायती मूल्यमा विभिन्न प्रकारमा ‘अल-नेट भ्वाइस प्याक’उपलब्ध गराउन लागेको हो । यसका साथै हाल उपलब्ध विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको कम्पनीले जनाएको छ । नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँ र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध गराइको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । ५९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ । अब ५९९ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ । साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिन्छ । ९९९ रुपैयाँ र १४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ । त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् । यस प्याकेजलाई परीक्षणको रुपमा सीमित समयको लागि ल्याइएको भए पनि पूरै समय लागू गर्ने गरी तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्र ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो । हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ । नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ । चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्मा गायन प्रस्तुती समेत रहनेछ । त्यसको भोलिपल्ट अर्थात चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ । बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाई समेत राख्ने कार्यक्रम छ । कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ । काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ । त्यस्तै, पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन् । वर्ल्डलिङ्क कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत पाउन सकिनेछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।

अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड बाहिरियो: अर्थमन्त्री

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी लगायत अवैधरुपमा भइरहेको डिजिटल कारोबारबाट दैनिक ५० करोडसम्म नेपाली मुद्रा बाहिरिने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्ता कारोबार नियन्त्रणका लागि सरकारले संयन्त्र परिचालन गरेको उनले बताए । सोमबार बिहान रुकुममा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । साथै उनले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् । अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन हाल कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आर्थिक वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए । उनले प्रमुख शहरसँग ग्रामिण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए । त्यस्तै, उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुनचाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य श्रृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको बताए । यद्यपि, मूल्यवृद्धिका लागि राखिएको वार्षिक लक्ष्यको वाञ्छित सीमाभित्रै रहेकाले आत्तिनुपर्ने स्थिति नरहेको बताए ।