इन्फिनिक्सको नयाँ स्मार्ट फोन नेपाली बजारमा

नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारिक वितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेको छ । कम्पनीले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको हो । कम्पनीले नेपाली उपभोक्ताहरुको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपिएस डिस्प्ले राखेको छ । जसमा ५०० नीट्सको ब्राइटनेस रहेको छ । विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा पाँच हजार एमएएचको ब्याट्री दिएको छ। स्मार्ट ६ मोडलमा ८ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुविधा छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्याशलाइटसमेत छ । नेपाली बजारमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य १२ हजार ४९० रुपैयाँ तोकिएको छ ।

२७औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आईएमई पे

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख ७ देखि १२ गतेसम्म आयोजना हुने क्यान इन्फोटेक २०२२ को मुख्य प्रायोजकमा आईएमई पे रहने गरी सम्झौता भएको छ । आइएमई पे आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट हो । क्यान इन्फोटेक यसअघि कोभिड–१९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै दुई पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको हो । विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ । आयोजनाले कोभिड– १९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ । ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन । स्टार्टअप र इनोभेशन खण्डमा २६ वटा स्टार्टअप र इनोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् । सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इनोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इनोभेशनलाई विशेष प्राथमिकतामा राखेको हो । आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् । यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेटलगायत कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशनजस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राख्नेछन् । त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।

नयाँ वर्षमा टेलिकमको अफर : ९८ रुपैयाँमा ६ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ । आफ्ना ग्राहकहरूको माग र सहजतालाई मध्यनजर गर्दै टेलिकमले विभिन्न प्याकेजहरू ल्याएको हो । जसअनुसार २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ । यस्तै, ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । साथै, २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि नि:शुल्क पाइनेनेपाल टेलिकमले जनाएको छ ।