आइसीटी दिवसको अवसरमा एनटीसीको अफर : ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा
काठमाडाैं । बैशाख १९ गते मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस२०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर ल्याएको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर बैशाख १८ देखि बैशाख २४ (मे १ तारिख मे ७ तारिख) सम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ९९ मा उपलब्ध हुंदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यसका लागि सेवाग्राहीले ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ । यस अफरबाट ग्राहकहरुले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।
गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट
काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन् । अन्नपूर्ण केवलकार पर्यटकीय स्थल पोखराको फेवातालदेखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको हो । गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, एक एक्स्टेन्सन कार्यालय र ५१ एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ ।
फोनपेको सीईओमा दिवस सापकोटा नियुक्त
काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम गरेका थिए । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटि क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ । आइटिदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायत कारोबार गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।