सिभिल लघुवित्तको ११.५८ प्रतिशत लाभांश पारित
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ११.५८ प्रतिशत लाभांश पारित भएको छ ।लघुवित्तको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित भएको हो । संस्थाको सोमबार सम्पन्न एघारौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ । यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै एक अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेको छ ।
लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्वाचित
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । संस्थाको सोमबार सम्पन्न एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गरेको हो । संस्थाका संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार रहेको छ । सभाबाट संचालक समितिमा समूह ‘ख’ सर्वसाधारण सेयरवालाको प्रतिनिधित्व गर्ने संचालक पदमा डा.गणेश भट्टराई र सविना उपाध्याय पुनः निर्विरोध निर्वाचित भएका छन् । संस्थाले देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको छ । विभिन्न प्रदेशमा ३ वटा प्रादेशिक कार्यालयहरु समेत स्थापना गरेको यस संस्थाले माघ मसान्तसम्म ६ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब ४७ करोड बचत संकलन गरेको छ ।
कालिञ्चोक हाईड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट
काठमाडौं । कालिञ्चोक हाईड्रोपावरले सर्वसाधारणको लागि ६ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि आरविवि मर्चेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यसको लागि कालिञ्चोक हाईड्रोपावरको तर्फबाट अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । ५ मेगावाट कालिञ्चोक हाईड्रोपावर दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा निर्माणधीन अवस्थामा छ । आरविवि मर्चेन्ट बैकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।