नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको कामकारबाही र धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति (ब्रोकर लाइसेन्स) प्रदान गर्ने कार्य रोक्न अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको हो । न्युनतम मापदण्ड पुरा गरे÷नगरेको विषयमा समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा छानविन गरि निष्कर्षमा नपुगेसम्म लाइसेन्स सम्वन्धी सम्पूर्ण प्रक्रिया तत्कालका स्थगन गर्न भनेको हो । हाल धितोपत्र बोर्डले १८ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको छ । साथै, समितिले आगामी बैठकमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डको पदाधिकारीहरुसंग नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको विषयमा विस्तृत छलफल गर्ने बताएको छ । बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरणमा विभिन्न सञ्चारमाध्यम र सरोकारवाला पक्षबाट अनेक कोणबाट प्रश्न उठेको र सांसदहरुले अनुचित तवरले प्रक्रिया अगाडी बढाएको भनेर विषय उठान गरेको हुँदा तत्काल लाइसेन्स वितरण प्रक्रिया स्थगन गर्न समितिले निर्देशन दिएको हो । साथै, समितिको गत जेठ २ गते बसेको बैठकमा समेत गम्भीर रुपमा अध्ययन गर्नुपर्ने माग भएको बताएको छ । पूँजीबजारका विभिन्न पक्ष समेटेर समितिको प्रतिवेदन वि.सं.२०७७ असार ३० को पत्रबाट बोर्डलाई कार्यान्वयनको लागि पठाइएकोमा हालसम्म भएका कामकारवाही र समितिको निर्देशन कार्यान्वयनको सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण ५ दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराउन अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग समितिले गत जेठ ७ गते पत्र पठाएको थियो । धितोपत्र बोर्डले गत जेठ १२ गते अर्थसमितिलाई पठाएको पत्रमा थप एउटा सम्म स्टक एक्सचेन्ज स्थापना गर्न अनुमति प्रदान गर्न उपयुक्त हुने बताएको थियो । साथै, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमती पूर्वाधार तयार गरेका ब्रोकर कम्पनीलाइ लाइसेन्स प्रदान गरेको जानकारी गराएको थियो ।
नेपाल रिपब्लिकको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आज जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ प्रतिशत अर्थात् १ लाख ७४ हजार १२० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोष, ४ लाख ३५ हजार ३ सय कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गर्दा बाँकी रहेको ३६ लाख १९ हजार ८९१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर माफर्् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
सामान्य अंकले बढ्यो सेयर बजार, ६ कम्पनीमा सर्किट
काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ । बजार सामान्य अंकले बढ्दा ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेको अनुसार ५ कम्पनीमा सकारात्मक सर्किट र १ कम्पनीमा नकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लाग्नेहरु क्रमश: अभियान लघुवित्त वित्तिय संस्था, कालिन्चोक दर्शन, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सिटी होटल्स र चन्द्रगिरी होटल्स रहेको छ । यस्तै, नकारात्मक सर्किट लाग्नेमा प्रभु स्मार्ट फण्ड रहेको छ । आज ७४ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। जसमा सबैभन्दा बढी सोल्टी होटलले १० करोड रुपैयाँको कारोबार गरेको छ ।