लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे

काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष घिमिरेले नियुक्त भएकै दिन अर्थात माघ २ गतेदेखि उक्त पदको कार्यभार सम्हालेका छन् ।

प्रभु इन्स्योरेन्सका सीईओ सन्चित बज्राचार्यको कार्यकाल थपियो

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थपिएको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पुरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको हो । यससँगै उनले आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । लामो समयदेखि प्रभु इन्स्योरेन्समा आवद्ध रहेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । साथै, उनीसँग सरकारी लगायत अन्य विभिन्न क्षेत्रको २५ वर्षको कार्य अनुभव रहेको छ ।

स्वस्तिक लघुवित्तको संचालकमा ४ जना निवार्चित, अध्यक्षमा सत्य नारायण झा

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न संस्थाको पहिलो साधारणसभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो । निर्वाचन अधिकृत नारायण वस्तीका अनुसार उक्त पदमा सत्य नारायण झा, डा. प्रमोद कुमार झा, सुधांशु शेखर झा र रवि सेन शाह निर्वाचित भएका हुन् । साथै, सोहीदिन बसेको संचालक समितिको बैठकले संचालक सत्य नारायण झालाई अध्यक्ष चयन गरेको छ । सभामा संस्थाका अध्यक्ष झाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । त्यस्तै, सभाले आ.व. २०७५/०७६ को अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको वार्षिक प्रतिवेदन सहितको आ.व. २०७५/०७६को सम्पुर्ण वित्तीय विवरणहरु माथि छलफल, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, सम्वन्धि सामान्य प्रस्ताव पास गरेको छ । साथै, सभाले भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि सम्पुर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरको छ ।