प्रत्येक वडालाई पकेट क्षेत्र बनाएर काम गरिरहेका छौंः अध्यक्ष निलकण्ठ गौतमसँगको कुराकानी

नेपालको लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र कालिगण्डकीको तटीय क्षेत्रमा अवस्थित प्राकृतिक रुपमा सुन्दर एवं रमणिय गाउँपालिका हो रुरुक्षेत्र गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ६७ दशमलब ३७ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा ६ वटा वडा रहेका छन् । ४ हजार २ सय ७६ घरधुरी रहेको यस गाउँपालिकामा २३ हजार १ सय ५५ जनसंख्या छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाका ठूला आयोजना तथा परियोजनाहरु के कस्ता छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ ? भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता काम गरिरहेको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषिलाई नै प्राथमिकतामा राखेका छौं । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । ‘एक वडा एक उत्पादन’ भन्ने हाम्रो अभियान रहेको छ । भूगोल अनुसारको पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । पकेट क्षेत्र अनुसारको कृषिमा बजेट पनि विनियोजन गरेका छौं । वडा नं.१ मा लिची पकेट क्षेत्र र २ नं वडामा पशुपालन पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । ४ नं. वडालाई सुन्तला पकेट क्षेत्र र ५ नं वडामा आलु क्षेत्रका रूपमा छुट्याएका छौं भने ६ नं वडामा बेमौसमी तरकारी खेतीको सुरुवात भएको छ । कृषकलाई कृषि अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषि औजारको पनि हामीले कृषकलाई वितरण गर्दै आएका छौं । किटनाशक औषधी पनि वितरण गर्दै आएका छौं । बेला बेलामा कृषकलाई कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा कृषक समुहहरुको गठन भएको छ । कुखुराको अन्डा, दुध, मकै, धानको उन्नत बिउ र घाँसको बिउ आदि उत्पादनमा पनि हाम्रो गाउँपालिका आत्मनिर्भर रहेको छ । गाउँपालिकामा गाई, भैँसी, बङगुर, कुखुराकाफर्महरू पनि सञ्चालनमा आएका छन् । विभिन्न जातको मकै र धानको बिउ समेत गाउँपालिकामा उत्पादन हुने गरेको छ । कृषि विकासका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । सिचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरूको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई अनुदानको पनि व्यवस्था गरेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर छ । ऋषि श्रृङ्गय तपस्या गरेको लेक गुफा भनेर चिनिने श्रृङ्गेश्वर तपोभूमि धाम पनि धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचित छ । यहाँ विशेष गरेर श्रावण औँसी र अन्य समयमा पनि भक्तजन आउने गरेका छन् । यो एक गाउँपलिकाको मनोरम दृश्य हेर्नेहरुको गन्तव्य स्थलको रूपमा पनि रहेको छ । बम्घा कोटमा रहेको मन्दिर र रानीले काटेको भनेर चिनिने ढुङ्गा पनि पर्यटकीय स्थलको रूपमा निकै महत्वपूर्ण रहेका छ । ग्वादीमा सिद्धबाबा, अचमेश्वरको मन्दिर तथा कृष्ण डाँडा पनि पर्यटकीय गन्तव्य रूपमा निकै चर्चित रहेका छन् । थानपती मन्दिर दर्शन तथा उक्त मन्दिर रहेको स्थानबाट आसपासको मनोरम दृश्यावलोकनको पनि गर्न सकिन्छ । यसै गरी बलेटक्सारको भैरव मन्दिर, बम्घाको मालिका मन्दिर, रुद्रबेनी आदि पनि पर्यटकीय स्थलको रूपमा महत्वपूर्ण रहेको छ । रिडीमा जलाशय बनाउने भनेका छौं यस ठाउँमा हाल तट्बन्ध र घाटहरुको पनि निर्माण भइरहेको छ । जसमा ५६ कारोड रुपैयाँ खर्च भइसकेको छ भने ४ अर्ब रुपैयाको योजना यो रहेको छ । गाउँपालिकामा धार्मिक स्थलको पहिचान गरी मठ मन्दिरको निर्माण गर्ने काम पनि भइरहेको छ । गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ? गाउँपालिकामा धेरै कृषिका आयोजनाका कामहरु नै रहेका छन् । कृषिको लागि बजेट पनि छुट्याएका छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । हामीले गाउँपालिकाको प्रत्योक वडामा सडक पुर्याएका छौं । हिउदाबर्खेमा यातायत सञ्चालन भए पनि गाउँपालिकामा धेरै सडकहरु कच्चि रहेका छन् । ५ करोड रुपैयाँको बजेटमा वडा नं ४ र ५ मा सडकको पिच गर्न सुरु गरेको छौं । गाउँपालिकाको प्रत्येक घरमा बिजुली बाल्न पनि सफल भएका छौं । ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा खानेपानी पुर्याउन पनि सफल भएका छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । राष्ट्रिय अभियान अन्तर्गत १५ शैया बडेको अस्पतालको निर्माणको काम भइरहेको छ । गाउँपालिकामा स्वास्थ्य केन्द्र पनि रहेको छ । प्रत्येक वडामा स्वास्थ्यका भवनहरू रहेका छन् । पहिला हामीले ‘घर घरमा स्वास्थ्य’ भनेर रोग अनुसन्धानको लागि स्वास्थ्यकर्मीहरुलाई पठाएका थियौं । प्रत्येक वडामा प्रत्येक २ महिना शिविर पनि बस्छ । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा नै राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकीहरू छन् । स्वास्थ्य सेवालाई सहज बनाउनको लागि बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । हाम्रो गाउँपालिकामा २ वटा आयुवेर्दिक औषधालयका साथै निजी स्तरका क्लिनिक तथा मेडिकलहरूले स्वास्थ्य सेवा प्रदान गरिरेका छन् । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता आयोजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । खेलकुलको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताइदिनुस् न ।  पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । पहिला पानीको हाहाकार थियो हाल घर घरमा पानीका धारा छन् । सडकहरू फराकिला हुन थालका छन् । कच्ची सडकहरू धमाधम पिच्च हुन थालेका छन् ।संरचना पनि बनेका छन् । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । हाल गाउँपालिकाको कुनै पनि सेवा प्रवाहमा समस्या रहेको छैन । तपाईंको पालिकामा सबैभन्दा ठूलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु त छैनन् । रिडीमा हाइड्रोपावर उद्योग रहेको छ । राष्ट्रकै एकमात्र कफि अनुसन्धान केन्द्र पनि हाम्रौ गाउँपालिकामा छ । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योग भने केही मात्रामा छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा छन् । कृषकहरूले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् । गाउँपालिकामा सर्वसाधारणले के कस्ता समस्या लिएर आउँछन् ? गाउँपालिकाको नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक विकासको लागि पनि गाउँपालिकामा धेरै काम गर्दै आइरहेका छौं । पहिला २ वर्ष त हामीलाई अनुसान कायम गर्न नै लाग्यो । ७ ओटा माध्यमिक तह, आधारभूत तह अन्तर्गत कक्षा ८ सम्म सञ्चालित ७ ओटा विद्यालय छन् र कक्षा ५ वा सो भन्दा तल सञ्चालित २९ ओटा विद्यालय गरी जम्मा ४३ ओटा विद्यालयहरू गाउँपालिकामा रहेका छन् । हाम्रो गाउँपालिकामा कृषि क्यापश पनि सञ्चालनमा आएको छ । विशेष गरेर शैक्षिक सुधारमा राज्यले जोड दिनु पर्ने कुरा पनि हो । गाउँपालिकामा विद्यालयका भवनहरू पनि निर्माण भएका छन् । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हामीले दीर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढिरहेका छौं ।

हाम्रो गाउँपालिकाका युवाहरू वैदेशिक रोजगारीको लागि जानुपर्ने अवस्था छैन – अध्यक्ष राईसँगको कुराकानी

नेपालको प्रदेश १ अन्तर्गत भोजपुर जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो साल्पासिलिछो गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । ६ ओटा वडा रहेको यस गाउँपालिका १ सय ९३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकामा १३ हजार १ सय ११ जनाको बसोवास रहेको छ । जिल्लाको सदरमुकाम भोजपुरदेखि टाढा रहेको यस गाउँपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने त्यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यस गाउँपालिकाको दक्षिणपूर्वमा षडानन्द नगरपालिका, पश्चिममा खोटाङ्ग जिल्ला, पूर्वमा संखुवासभा जिल्ला र त्यसैगरी उत्तरमा सोलुखुम्बु जिल्ला रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष महेश राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषिकै कुराबाट सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशील भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । भूगोल अनुसारको पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । वडा नं. १ लाई फलफूल पकेट क्षेत्र र २ नं वडालाई तरकारी पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । ३ नं वडालाई तरकारी जोनको रूपमा छुट्याएका छौं । ५ र ६ नं वडामा किवी खेतीको सुरुवात हुन थालेको छ । गाउँपालिकामा कृषक समुहहरुको पनि गठन भएको छ । गाउँपालिकामा अनुदानको पनि कार्यक्रम रहेको छ । भेडीगोठ दुर्लभ हुँदै गएको कारण संरक्षण गर्नको लागि जोड दिएका छौं । आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । कृषि विकासको लागि हामीले बजेट पनि छुट्याएका छौं । कृषकलाई कृषि सम्बन्धि तालिमको पनि व्यवस्था मिलाएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरूको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ६० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई अनुदानको पनि व्यवस्था गरेका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? हाम्रो गाउँपालिका भोजपुरको सदरमुकामबाट १८ कोष टाढा पर्छ । स्थानीय निकाय आउनु अघि यहाँका मानिसहरूले सामान बोकेर ओसारपसार गर्नुपथ्र्यो । गाउँपालिकाको प्रत्येक वडारूमा सडक पुगे पनि उचित व्यवस्था हुन सकेको छैन । गाउँपालिकाका धेरै नागरिकको माग नै सडक निर्माण सम्बन्धी रहेको छ । नागरिकको चाहना नै सडक निर्माण रहेको हुनाले गाउँपालिकाले पनि सडक निर्माणलाई नै प्राथमिकतामा राखेको छ । ठुलो बजेट सडक निर्माणमा नै छुट्याएका छौं । सडक निर्माणमा ३ करोड बरबरको बजेट रहेको छ । गाउँपालिकामा कच्चि सडकहरु धेरै रहेका छन् । पहाडी भूभाग भएको कारण गाउँपालिकाको सडकहरु १२ महिनानै सञ्चालन हुन सक्दैन । हाम्रो गाउँपालिकामा केन्द्रीय लाइन रहेको छैन । जल लघुवित्त गाउँपालिकामा सञ्चालन गरेर बिजुली बालिरहेका छौं । केन्द्रीय लाइनको पनि हामीले माग गरिरहेका छौं । यो २ महिनामा गाउँपालिकाको १ र २ नं. वडामा केन्द्रीय लाइन बाल्ने कुरा भइरहेको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । पर्यटकीयस्थलको रुपमा साल्पा ताल तथा सिलिछो पहाड रहेका छन् । सो साल्पासिलिछो ४१ सय मिटरको उचाईमा रहेको छ । साल्पासिलिछोको नामबाट नै हाम्रो गाउँपालिकाको नामाकरण गरिएको हो । धेरै पर्यटकहरु ट्रेकिङको रुपमा पनि घुम्न आउने गरेका छन् । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् भने विदेशी नगरिकहरुको पनि उपस्थिति रहेको पाइन्छ । पर्यटकीय स्थलसम्म पुग्नको लागि सडक निर्माणको काम पनि अगाडी बढाइरहेका छौं । हिमाली मार्ग पनि गाउँपालिकामा रहेको छ । धार्मिक हिसावले पनि हाम्रो गाउँपालिका निक्कै महत्वपूर्ण रहेको छ । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ट्रायल मार्ग अवधारणा पनि अगाडि सारेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? हाम्रो गाउँपालिकामा ४२ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । हाम्रो पालिका विकट भएको कारण बसाइँसराइँ व्यापक भयो र शैक्षिक क्षेत्रमा केही समस्याहरु देखिए । हामीले शिक्षा क्षेत्रमा अनुगमनको अभ्यास पनि गरेका छौं । शैक्षिक विकासको लागि हामीले १ करोड ५० लाख रुपैयाँ बजेट छट्याएका छौं । विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षक रहनु पर्ने व्यवस्था गरेका छौं । हाल यहाँ विषयगत शिक्षकको अभाव रहेको छ । हामीले शिक्षा क्षेत्रमा आएका समस्याहरू प्रदेश सरकार समक्ष पनि राखेका छौं । गाउँपालिकाको अनुदानबाट हामीले विद्यालयमा केही शिक्षक पनि राखेका छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरु निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । यहाँका युवाहरू वैदेशिक रोजगारको लागि जानु पर्ने अवस्था छैन । युवाहरुले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । गाउँपालिकामा अलैैंची तथा यर्सागुम्बाजस्ता जडिबुटिहरु पनि हाम्रो गाउँपालिकामा पाइने गरेको छ । रुद्राक्ष बाट पनि नागरिकहरुले धेरै आम्दानी गरिरहेका छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनु परेको छैन । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? हामीले गाउँपालिकास्तरको खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छौं । खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् । गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल तथा फुटबल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि व्यवस्था मिलाएको छ । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा नै राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरुको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । पहुँच पुगेपनि ठुलो रोगको त उपचार गाउँपालिकामा हुन सक्दैन । २ नं वडामा सामुदायिक अस्पताल पनि सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकीहरु रहेका छन् । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । व्यापारीकस्थलहरु भर्खरै निर्माण हुन थालेका छन् । धेरै ठुलो मूल्यमा अलैंची तथा रुद्राक्षको व्यवसाय हुने गरेको छ । यहाँ गरिने प्रमुख पेशा भनेको खेती किसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालनजस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । गाउँपालिकामा विकास निर्माणका कामहरू कत्तिको प्रभावकारी भएका छन् ? विकास निर्माणको कामहरू प्रभावकारी नै भइरहेको छ । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी नै छन् जस्तो लाग्छ । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि हो । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हामीले पालिकास्तरको योजना तयार परेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढिरहेका छौं ।

गण्डकी गाउँपालिका, जहाँ सुत्केरी महिलालाई ७ हजार रुपैयाँसम्म भत्ता दिइन्छ

काठमाडौं । नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो गण्डकी गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ८ ओटा वडा रहेको यो गाउँपालिका १ सय २३ दशमलब ८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिका भित्र विभिन्न जातजाती हरु मिलेर बसेका छन् । यो गाउँपालिकाको पूर्वतर्फ धादिङ जिल्ला, पश्चिममा चितवन जिल्ला, उत्तरमा शहिद लखन गाउँपालिका र गोरखा जिल्ला, त्यसैगरी दक्षिणमा धादिङ जिल्ला पर्दछन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरी रोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं । कृषि विकास गाउँपालिकाले कृषि विकासको क्षेत्रमा धेरै काम गर्दै आएको छ । कृषि विकासको लागि गाउँपालिकाले संघीय सरकार तथा स्थानीयस्तरबाट आएका कार्यक्रमहरु स्थानीय वडाका कृषकहरुसँग समन्वय गर्दै अघि बढाएको छ । गाउँपालिकाले ३ र ४ नं वडालाई कुखुरा पकेट क्षेत्रको रुपमा छुट्याएको छ भने वडा नं. १, ५, ६, ७ र ८ लाई बेमौशमी तरकारी खेती पकेट क्षेत्र तथा वडा नं. २ लाई चाहिँ सुन्तला पकेट क्षेत्रको रुपमा छुट्याएको छ । गाउँपालिकाले राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु पनि रहेका छन् । गाउँपालिकाका करिब ७५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गर्दै आएको छ । गाउँपालिकाका ठुला योजना गाउँपालिकाको ठूलो योजनाको रुपमा सडक संजाललाई नै लिन सकिन्छ । आग्रीडाँडा, दलभञ्ज्याङ, रानीस्वारा कौदी, पौवा, हटिया, कुवापानी तथा बतासे भञ्ज्याङमा हाल सडक निर्माणको काम भइरहेको छ । शैक्षिक विकास शैक्षिक क्षेत्रको सुधारतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । ९ ओटा माध्यमिक विद्यालय र ३६ ओटा आधारभूत गरी जम्मा ४५ ओटा विद्यालयहरु गाउँपालिकामा सञ्चालित छन् । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले स्थानीय स्रोत शिक्षकलाई तलब भत्ताको व्यवस्था गरेको छ भने विद्यालयहरुलाई अनुदान दिने व्यवस्था पनि मिलाएको छ । विद्यालयका भवनहरु पनि निर्माण भएका छन् । अत्तिरिक्त क्रियाकलाप र खेलकुद पनि विद्यालयमा हुने गरेको छ । गाउँपालिकामा नमुना विद्यालयहरु पनि सञ्चालनमा आएका छन् । स्वास्थ्य विकास गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ५ ओटा स्वास्थ्य चौकी, २ ओटा आधारभूत सेवा केन्द्र र १६ ओटा सामुदायिक स्वास्थ्य इकाईहरु रहेका छन् । नेपाल सरकारको नीति बमोजिम यहाँ १५ शैयाको आधारभूत अस्पताल पनि निर्माण भइरहेको छ । गाउँपालिकामा स्थानीय र करार गरी स्वास्थ्य शाखामा जम्मा ७२ जनाको दरबन्दी रहेको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधीको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा कूल ६६ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् । दीर्घरोगीहरुलाई गाउँपालिकाले निःशुल्क औषधिको पनि व्यवस्था मिलाएको छ । सुत्केरी महिलालाई ७ हजार रुपैयाँसम्म सुत्केरी भत्ता दिँदै आएको छ । आधारभूत स्वास्थ्य उपचारहरु गाउँपालिकामा नै हुने गरेको छ । महामारी रोग तथा सरुवा रोग लगायतका रोगहरुसँग लड्न गाउँपालिका लागि परेको छ । सबै बालबालिका तथा महिलाहरुलाई लगाउनु पर्ने खोप सुविधा समेत गाउँपालिकामा मौजुद रहेको छ । खेलकुद विकास खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् । गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि व्यवस्था मिलाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ । पर्यटकीय स्थल गण्डकी गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकाले आन्तरिक तथा वाह्य पर्यटक ल्याउन जोड दिइरहेको छ । गाउँपालिकाले पर्यटकीय स्थलहरुको पहिचान गरी स्तरोन्नती र प्रचार गर्ने काम पनि अगाडि बढाएको छ । पर्यटकीयस्थलहरुको पहिचान गर्ने तथा मठमन्दिरहरुको निर्माण गर्ने काम पनि सँगसँगै अगाडि बढाइएको छ । यो गाउँपालिका धार्मिक हिसाबले महत्वपूर्ण त छ नै साथै पर्यटन विकास गर्ने हेतुले सो सम्बन्धी योजना पनि गाउँपालिकाले तयार पारिसकेको छ । भैरवी मन्थला, मन्थला मन्दिर, महादेव डाँडा, फुजेलर र बुट्टार आदि स्थानहरु गाउँपालिकाका पर्यटकीय स्थलहरुका रुपमा चर्चित छन् । नागरिकको समस्या गाउँपालिकाको नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, संस्था दर्ता, राहत सहयोग, रकम भुक्तानी, न्याय निरुपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरु लिएर आउने गरेका छन् । युवा रोजगारी युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाले ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । करिव १ हजार ३४ जना व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पनि पाएका छन् । गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम दिँदै आएको छ । यहाँका धेरै युवाहरु पशुपालन तथा कृषि पेशामा जोडिएका छन् । कृषि पेशा गर्ने युवालाई गाउँपालिकाले अनुदानको व्यवस्था पनि मिलाएको छ । जनप्रतिनिधीहरुतर्फको कुरा गर्नुपर्दा यस गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर हुनुहुन्छ भने उपाध्यक्ष चाहिँ ललिता अधिकारी हुनुहुन्छ । (गाउँपालिकाका सूचना अधिकारी बेदहरि अधिकारीसँग गरिएको कुराकानीमा आधारित)