माटाका भाँडाले धानिएको पुस्तैनी जीवन
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन् । उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउछन् । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उनी यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउछन् । ‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु’, अमिनले विगत सम्झिँदै भने । बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउछन् । ‘जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु’, उनले भने, ‘माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।’ अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा रु १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा रु पाँच–छ हजार आम्दानी भएको अमिनले बताए । ‘यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ ?’ निरास हुँदै उनले यस वर्ष दसैँतिहारमा भएको घाटाको कथा सुनाए । अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीन घोडा पालेका छन् । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउछन् । ‘सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ’, उनले भने, ‘यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।’ अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आएका छन्। कसगर भाँडा बनाउन सासूबाट सिकेको बताउछन् । नेपालगञ्ज उपमहागनर पालिका–५ स्थित मसानघाट टोलकी उनले आफूसँगै दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाए । पुख्र्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्छन् । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ । गत वर्षको दसैँतिहारमा रु १३ हजारको व्यापार गरेकी सुफियाले रु १० हजार नाफा कमाएको बताइन् । तर यस वर्ष भने जम्मा रु पाँच हजार जतिको नाफा भएको उनको भनाइ छ । अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउँछिन् । ‘हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो । तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ’, उनले भनिन्, ‘आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ ।’ सुफियाले यस वर्षको दसैँतिहारका लागि एक ट्रली माटोका भाँडा बनाएकी थिइन् । तर उनले सोचेजस्तो नाफा हुन सकेन । बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुख्र्यौली पेसाका रूपमा चिनाउँदै आइरहेका छन् । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन्। पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड–१९ पछि भने ओरोला लाग्दै गएको कसगरहरूको भनाइ छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्छन्। एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ । अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ । उमेरले झण्डै चार दशक नाघिसकेका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आइरहेका छन् । पप्पुको सातजनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गछृन् । तर माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउने उनको भनाइ छ । पप्पुले भने, ‘फुर्सदको समयमा छोराले ज्याला मजदुरी गर्ने गर्छ र तर जब माटो मुछेर भाँडा पकाउनुपर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्यालामजदुरीको काम छाडेर हामीसँगै भाँडा बनाउन सहयोग गर्छ ।’ एक ट्रली माटोको मूल्य रु चार हजार तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि माटोको मूल्य बढेर रु साढे चार हजार तिरेको पप्पु, मोहम्मद र सुफियाले बताए । उनीहरूका अनुसार माटो बिक्री गर्ने साहुले यसै वर्षदेखि मूल्य बढाएपछि साढे एक ट्रलीको मूल्य साढे चार हजार भएको हो । काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । ‘पहिला–पहिला गोबरको गुइँठामा भाँडा पकाइन्थ्यो तर अहिले पशुाचौपाया पाल्न छाडेकाले गोबर पनि पाउन छाडेको छ’, सुफियाले भनिन्, ‘हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा भाँडा पकाएर तयार गर्ने गर्छौँ ।’ एक क्विन्टल दाउरालाई रु एक हजार पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले कसगरहरू प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । रु दुईदेखि दुई सय ५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन् । माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउनु हुँदैन । त्यो चार महिनामा मात्रै उहाँहरू दैनिकीरूपमा ज्यालामजदुरीको काम गरेर साँझ–बिहानको छाकको जोहो गर्ने गर्छन् । रासस
भक्तपुरका फूल युरोप, अमेरिकासम्म
भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ । भक्तपुरको गुण्डु सबैभन्दा बढी फूल खेती हुने गर्छ । यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म टिपिरहेका छन् । स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साडे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताउँछिन् । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट दुई लाखसम्म आम्दानी हुने बताउदै उनले असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताउँछिन् । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ । असारदेखि मंसीरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उनी बताउँछिन् । सयपत्री फूल पनि असार-साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सीर-पुससम्म पनि बिक्री गर्न सकिने उनको भनाइ छ । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर पनि बिक्री गर्ने गर्दछन् । सात आठवटा सयपत्री फूल राखेर मुठा पारेको फूल असार साउनमा एक मुठाको १५ देखि १८ रुपैयाँ सम्ममा बिक्री हुने गरे पनि अहिले तिहारका लागि भने २० रुपैयाँमा तीन मुठा बिक्री गरेको बस्नेत बताउँछिन् । फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गर्ने गरिएको छ । यसरी बिक्री गर्दा पाथीको ५० देखि ६० रुपैयाँसम्म र एक किलोको २५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । भारतबाट आउने मखमली र सयपत्रीलाई रोक्न सके नेपाल फूलमै आत्मनिर्भर गर्न सकिने उनको भनाइ छ । यहाँका कृषकले वर्षमा कम्तिमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन् । गतवर्ष घरबाटै रु २५ देखि ३५ मा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ । घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला २० देखि २५ रुपैयाँमा बिक्री हुने भए पनि बजारमा लैजादा व्यापारीलाई ४० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको छ । यही माला खुद्रा बजार पुर्याउन सके ५० रुपैयाँ सम्म आउने गर्दछ । युरोप, अमेरिका पुग्छन् भक्तपुरका फूल अन्तर्राष्ट्रिय बजारमा यहाँका फूल माला पुग्ने गरेका छन् । सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । पछिल्ला केही वर्षयता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्याउन पाउँदा खुसी लागेको बताउँछिन् । उनले भनिन्, ‘विगत केहीवर्षदेखि मैले सम्पर्क व्यक्तिमार्फत अन्तर्राष्ट्रिय बजारमा पनि यहाँका फूल तथा माला पुर्रयाउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरुको उत्पादन पनि खरिद गरेर विदेशका लागि फूल तथा माला पठाउँछु ।’ सम्पर्क व्यक्तिमार्फत यहाँको फूल तथा मालालाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका विभिन्न जिल्लामा पठाउने गरेको उनले बताउँछिन्। फूलको बजार स्वदेशदेखि विदेशसम्म रहेको र हरेक वर्ष विदेशबाट फूल तथा मालाको माग बढेको उनी बताउँछिन् । घरघरमै आउँछन् फूल किन्न व्यापारी दसैँ सकिएपछि घरघरमा फूल किन्न व्यापारीहरु आउने गरेकाले यहाँका कृषकलाई बजार पाउन सहज हुने गरेको छ । घरमा आउने व्यापारीलाई बजारमा भन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन् । गतवर्ष १२ सय माला व्यापारीलाई बिक्री गरेकी कृषक मिना नगरकोटीले यसवर्ष पनि फूल र मालाको माग धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरेकी उनले यसवर्ष करिब १५ सय माला बिक्री गर्न माला गाँसेर बजार लान भ्याइनभ्याई भएको छ । गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेकोे उनले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गरेको बताइन् । यहाँका बासिन्दाले दसैँ सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन् । खेताला लगाउँदा एउटा मालाको पाँच रुपैयाँ ज्याला दिने गरेका छन् । ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उनको भनाइ छ । कतिपयले गाउँ पसेका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसँग सम्पर्क गरी बजारमै पुर्रयाउने गरेका छन् । फागुनमा रोपेर असारदेखि उत्पादन मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान मात्रै होइन, फूल खेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बसाइँ सरेर आउनेहरु पनि उत्तिकै बढेको गुण्डुका स्थानीयवासी एवं जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा बताउँछन् । उनका अनुसार गुण्डुमा मात्रै एक हजार पाँच सय घर परिवारले फूल खेती गरिरहेका छन् । कम्तीमा चार आनादेखि बढीमा पाँच रोपनीमा यहाँका बासिन्दाले फूल खेती गरेका छन् । धान खेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली, डिलमा जताततै फूलखेतीले ढकमक्क बनेको भन्दै उनले एकैपटक दोहोरो आम्दानी हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको बताउँछन् । फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको बेर्ना पनि लगाइन्छ । ‘‘मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल असारको अन्तिम वा साउनको पहिलो साताबाट टिप्न सुरु हुन्छ’, धेरैवर्ष फूलखेती गर्नु भएकी स्थानीय एवं जिल्ला समन्वय समिति भक्तपुरकी पूर्व उपप्रमुख सरिता कुँवरले बताइन् । फूलसँगै मकै र भटमास पनि फलाउन सकिने भएकाले कृषकहरु यसतर्फ आकर्षित भएको उनको भनाइ छ । एउटै जग्गामा एकै पटक मकै, भट्मास र फूल फुलाउन सकिने बताउँदै उनले व्यावसायिक रुपमा फूल खेती हुन थालेपछि धान खेतमै फूल खेती पनि बढेको बताउँछिन् । स्थानीय बासिन्दाले मात्रै नभई २०७२ को भूकम्प पछि विभिन्न जिल्लाबाट यहाँ आएर जग्गा भाडामा लिएर फूल खेती गर्नेहरु पनि धेरै थपिएपछि गुण्डुमा फूल उत्पादन बढेको हो । बाहिर जिल्लाबाट आएर फूलखेती गर्नेले १५० भन्दा बढी टनेलमा फूल खेती गरेको बताउँदै उनले फूलखेतीमा भक्तपुर आत्मनिर्भर रहेको बताउँछिन् । भारतबाट फूल नेपाल भित्रिदा यहाँका फूल भने विदेश पठाउन पाउँदा खुसी लागेको बताउँदै उनले सबै पालिकाले स्थानीयलाई प्रोत्साहन गर्न सके विदेशबाट फूल आयात गर्नै नपर्ने उनको भनाइ छ । नगरपालिकाद्वारा अनुदान गुण्डुमा फूलखेतीलाई प्रोत्साहन गर्न केही वर्षदेखि सूर्यविनायक नगरपालिकाले ८० प्रतिशत अनुदानमा कृषकलाई फूलको बेर्ना वितरण गर्दै आएको छ । नगरपालिका आफूले बेर्ना उत्पादन गरेर १० रुपैयाँ पर्ने एक बिरुवालाई दुई रुपैयाँमा कृषकलाई बेर्ना वितरण गर्दै आएको नगरपालिकाले यसवर्ष ४५ हजार बिरुवा वितरण गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिए । नगरपालिकाले वितरण गरेको बेर्नाबाट भने यसवर्ष उत्पादन दिन सकेन । ४५ हजार बिरुवा वितरण गरे पनि ८० प्रतिशत बिरुवा मरेको र बाँकी २० प्रतिशत बिरुवाबाट पनि उत्पादन नआएकाले नगरपालिकाले हावापानी र माटो सुहाउँदो बिरुवा ल्याउनु पर्ने किसानको भनाइ छ । विदेशबाट हचुवामा बिऊ ल्याएर उत्पादन गरेर बेर्ना दिनुभन्दा स्थानीय रैथाने सयपत्री फूलको बेर्ना उत्पादन गरेर बिक्री गर्नु उपयुक्त हुने किसानहरुको भनाइ छ । यता चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर माला उनेर बजारमा लैजान भ्याइनभ्याई भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेट दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका बनमाला । विगतमा वनमालाहरुले मात्रै व्यावसायिक फूल खेती गर्दै आए पनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अन्य जातजातिले पनि फूल खेती गर्न थालेका छन् । वर्षौदेखि पुख्र्यौली पेशाको रुपमा फूलखेती गर्दै आएका स्थानीय श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउँछन् । धेरै वर्ष यहाँ वनमालाले मात्रै फूल खेती गर्ने गरेको भए पनि अहिले धेरैले फूल खेती गर्न थाले पनि आफूहरुको आम्दानीमा असर नपरेको उनी बताउँछिन् । दश वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी भएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एक याममा ४० हजार कमाउने गरेको बताउँछिन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने उनको तर्क छ । रोजगारीका लागि मलेसिया गएका श्रीमान् नेपाल फर्किएर पाँच वर्षदेखि श्रीमानले पनि फूलखेतीमै साथ दिएपछि उनी झनै उत्साहित बनेकी छन् । स्थानीय सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गरेकी छन् । उनले भनिन्, ‘घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ३५ हजार जतिको माला तयार छ, दुई दिनमै बिक्री हुन्छ ।’ किसानले बजारमा आफैँले माला लैजादा एउटा मालाको ४० देखि १०० रुपैयाँसम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको ३० देखि ४० रूपैयाँसम्म दिने गरेको उनको भनाइ छ ।
तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात, आयातअनुसार माग नभएको व्यवसायीको गुनासो
काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री,मखमली,गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ । केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरुको प्रयोग गर्ने प्रचलन बढेको छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउनको लागि झिलिमिली बत्तीको प्रयोग गर्ने गर्दछन् । विगतमा नेपालीहरुको माटोको दियो बालेर तिहारमा झिलिमिली बनाउने गर्दथे भने देशमा पर्याप्त विद्युत उपलब्ध भएसँगै विद्युतीय बत्तीहरुको प्रयोग गरिन थालेको छ । हरेक वर्ष विद्युतीय व्यवसायीहरुले बजारको मागअनुसार झिलिमिली बत्तीहरु आयात गर्ने गरेका छन् । तिहारमा हरेक वर्ष झिलिमिली माला लगायतका बत्तीहरुको माग बढेसँगै आयातमा पनि वृद्धि हुँदै आएको छ । तिहारमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् । तिहारको लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्ती लगायत झिलिमिली बत्तीहरु आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए । अध्यक्ष देवकोटाले यस वर्षको तिहारका लागि करिव ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको उल्लेख गरे । उनले विशेषगरी तिहारमा लक्ष्मीपूजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने बताए । उनले आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको बताए । उनले बजारको माग भन्दा बढी झिलिमिली बत्ती आयात भएको भन्दै बजारमा झिलिमिली बत्तीको माग गत वर्षको तुलनामा कमी रहेको बताए । उनले भने, ‘तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी माला बत्तीहरु मागसँगै व्यापार बढेको छ । त्यहीअनुरुप सप्लाई पनि भएको छ । विगत भन्दा माला बत्तीहरुको आयात पनि बढेर आएको छ । तर जुन अनुपातमा बत्तीहरुको आयात बढे पनि व्यापार भने बढ्न सकेको छैन । आर्थिक संकुचनको कारण घर निर्माणसँग सम्बन्धित व्यवसाय भएकाले घर निर्माण नभएकाले व्यापारमा कमी आएको छ । गत वर्षको तिहारमा ३६ करोड बराबरको तिहारको लागि झिलिमिली बत्तीहरुको आयात गरेका थियौं । त्यहीअनुसार बजारमा गएको थियो । गत वर्षको भन्दा आयात बढेर ४५ करोड बराबरको सामान आयात भएको छ । तर माग भने कम भएको छ ।’ उनले एउटै झिलिमिली बत्तीमा ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको बताए । उनले भन्सारमा चीनबाट आयात भएका बत्तीहरुको सरकारले मूल्याङ्कन डलरमा गर्दा व्यवसायी र उपभोक्ता मर्कामा परेको बताए । उनले झिलिमिलि बत्ती विशेषगरी चीन र भारतबाट आयात हुने गरेको बताउनु भए । उनले ९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको बताए ।