मेगा बैंकका प्रवद्र्धकले आफूसँगको २१ प्रतिशत सेयर सर्वसाधारणलाई दिने

काठमाडौं, ३ पुस । मेगा बैंकले सेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले अहिले सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिइरहेको भएपनि अव भने ४९ प्रतिशत सेयर दिन लागेको हो । बैंकले आफ्नो पाचौं बार्षिक साधारणसभावाट सेयर संरचना परिवर्तन गर्न लागेको हो । साधारणसभा आगामी २६ पुसमा हुदैछ । बैंकले पाँचौं बार्षिक साधारणसभाको विषेश प्रश्तावमा सेयर संरचना परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने विषय राखेको छ । बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर प्रदान गर्ने विषय पनि साधारणसभामा पेश गर्नेछ । बैंकले अधिकृत पूजी ४ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्याउने, जारी पूजी २ अर्ब ६० करोडबाट बृद्धि गरी ४ अर्ब ५ करोड पुर्याउने र चुक्ता पूजी पनि २ अर्ब ६० करोडबाट बृद्धि गरी ४ अर्ब ५ करोड रुपैयाँ प्रश्ताव बैंक संचालक समितिको छ । यस्तै बैंकले पश्चिमान्चल विकास बैंकसँग मर्जरको लागि सेयर आदानप्रदान अनुपात १०४.२५ः६७ कायम गर्ने प्रश्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ ।

एसबिआई बैंकले २७ प्रतिशत बोनस सेयर दिने, प्रिमियम मूल्य राखेर २ अर्ब ६० करोडको हकप्रद सेयर जारी गर्ने

काठमाडौं, २ पुस । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट २७ प्रतिशत वोनस शेयर दिने भएको छ । कर प्रयोजनको लागि थप १ दशमलव ४२ प्रतिशतका दरले नगद लाभांश पनि दिने भएको छ । विहीबार बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ हुनेछ । त्यसपछि बैंकले २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड हुने भएको छ । तर बैंकले हकप्रद सेयर प्रिमियम मूल्यमा जारी गर्ने भएको छ । प्रिमियम मूल्यमा हकप्रद सेयर जारी गर्न लागिएको नेपालको पुँजी बजारमा यो पहिलो प्रयास हो । बैंकले अन्तिम लेखापरीक्षणबाट कायम हुन आउने प्रति शेयर नेटवर्थको सीमा भित्र रही हकप्रद शेयरको प्रिमियम निर्धारण गर्ने भएको छ । हकप्रद शेयर निष्काशन गर्दाका बखत विद्यमान रणनीतिक पक्षहरु एवं उपलब्ध व्यवशायिक अवसर समेतलाई दृष्टिगत गरी हकप्रद शेयरको रुपमा निष्काशन हुने शेयरको खास अनुपात, जारी हुने रकम र निष्काशनको चरण किटान गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्न आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ बनाउनुपर्नेछ । आगामी दुई आर्थिक वर्षको नाफाबाट बैंकले बोनस सेयर वितरण गरी ८ अर्ब चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ ।

नेपाल बैंकको ३५ करोड ‘क्रोनिक लोन’ उठ्यो, नाफा ५ अर्ब पुग्ने

काठमाडौं, २ पुस । चालु आर्थिक वर्षमा नेपाल बैंकको नाफा उल्लेख्य रुपमा बढ्ने भएको छ । पुरानो ‘क्रोनिक लोन’ उठेको तथा सेयर र जग्गा विक्रीवाटै बैंकको नाफा उल्लेख्य रुपमा बढ्ने देखिएको हो । बैंकले जनकपूर चुरोट कारखनालाई दिएको ३५ करोड रुपैयाँ ‘क्रोनिक लोन’ उठेको बैंकका उपमहाप्रबन्धक राजुनाथ खनालले जानकारी दिए । सो रकम नउठ्ने भएपछि बैंकले प्रोभिजन गरेको थियो । अर्थमन्त्रालयले कारखानालाई दायित्व भुक्तानी गर्न दिएको रकमवाट कारखानाले बैंकको कर्जा भुक्तानी गरेको हो । कारखानाले ३५ करोड रुपैयाँ दिएको भएपनि बैंकले गरेको ३५ करोड रुपैयाँ प्रोभिजन फिर्ता हुदा बैंकको नाफामा ७० करोड रुपैयाँ थपिने छ । चालु आर्थिक बर्षमा नै बैंकले आफ्नो स्वामित्वमा रहेको करिब ३७ करोड रुपैयाँ मूल्यको मिनभवनको जग्गा नेपाल पुनर्बीमा कम्पनीलाई विक्री गरेको छ । सो जग्गा खरिद विक्री गर्ने सम्बन्धमा दुबै निकायविच सम्झौता भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जानकारी दिए । कम्पनीले ४ रोपनी १० आना जग्गा ३६ करोड ६२ लाख रुपैयाँमा खरिद गर्न लागेको हो । सो रकम पनि बैंकको नाफामा थपिनेछ । यस्तै बैंकले विभिन्न चार कम्पनीमा रहेको करिब ८९ लाख कित्ता प्रबद्र्धक सेयर बिक्री गर्दैछ । राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, नेपाल इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटलमा रहेको ८८ लाख ७८ हजार ६ सय ३० कित्ता सेयर बिक्री गर्न लागिएको हो । कम्पनीहरुको सेयर बिक्री टेण्डर प्रक्रियाबाट बढाबढ मूल्यमा गरिने छ । बैंकले टेण्डर गर्ने प्रयोजनको लागि सम्बन्धित कम्पनीहरुको सेयरको न्यूनतम मूल्य तय गरेको छ । बैंकले सम्बन्धित सवै कम्पनीको सेयरको न्यूनतम बिक्री मूल्य तय गरी सकेको छ । ती कम्पनीहरुको सेयर न्यूनतम मूल्यमा विक्री हुदा पनि बैंकले ३ अर्ब १७ करोड रुपैयाँ आम्दानी गर्नेछ । सो आम्दानी बैंकको गैरसंचालन नाफामा थपिने छ । स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीको सेयरको मूल्य सबैभन्दा बढी तय गरिएको छ । सो कम्पनीको न्यूनतम मूल्य प्रति कित्ता ४ हजार ३ सय १२ रुपैयाँ ३५ पैसा तोकिएको छ । बैंकसँग राष्ट्रिय बीमा कम्पनीको १ लाख ३६ हजार ४१० कित्ता सेयर रहेको छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री भए पनि नेपाल बैंकले ५८ करोड ८२ लाख ४७ हजार रुपैयाँ आम्दानी गर्नेछ । नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार ५ सय ४१ रुपैयाँ तोकिएको छ । बैंकसँग कोषको ३ लाख ३३ हजार ९४० कित्ता सेयर छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री भएमा पनि बैंकल १ अर्ब १ करोड ६२ लाख ४७ हजार आम्दानी गर्ने छ । नेपाल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता न्यूनतम २ सय ७९ रुपैयाँ ८१ पैसा तोकिएको छ । बैंकसँग नेपाल इन्स्यारेन्सको १३ लाख ४२ हजार २ सय ८० कित्ता सेयर रहेको छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री हुँदा पनि ३७ करोड ५५ लाख ६० हजार रुपैयाँ बैंकले आम्दानी गर्नेछ । बैंकसँग तारागाउँ रिजेन्सी होटल लिमिटेडको ७० लाख कित्ता सेयर छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकत्ता १ सय ७२ रुपैयाँ २२ पैसा तोकिएको छ । यस होटलको सेयर बिक्रीबाट बैंकले कम्तिमा एक अर्ब २० करोड ५५ लाख ४० हजार आम्दानी गर्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ । जनकपूर चुरोटको कर्जा असुलीवाट ७० करोड, मिनभवनको जग्गा विक्रीबाट ३७ करोड र विभिन्न ४ कम्पनीको सेयर विक्रीवाट ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी चालु आर्थिक बर्षमा नै हुने भएकोले बैंकको नाफा करिब ५ अर्ब रुपैयाँ पुग्न सक्ने एक संचालकले बताए ।