लक्ष्मी पण्डित

रसुवा बाढी : एक बैंकरको दर्दनाक अनुभव

भागवत गीतामा भनिएको छ, “चिन्ता नगर, जे हुन्छ राम्रैका लागि हुन्छ ।” मात्र हामीमा थाहा पाउने सामर्थ्य हुनुपर्छ । म २०८३ भदौ ९ गते नै अफिसपछि काठमाडौं आएँ । सीधै बसपार्क गएर चारवटा टिकट धुन्चेका लागि लिने सोचले बसपार्क नजिकै ओर्लिएँ । पौने आठ हुन लाग्दा काउन्टर बन्द भइसकेको थियो । सँगै जानुभएकी मेरी साथी अनीताले चालकलाई भनिदिन्छु भनेर त्यहीँबाट फोन गर्नुभयो । उहाँले “म पनि जाने हो, मेरैमा जाऊँ” भनेपछि टिकट निश्चित भयो । चालक देवीघाटका रहेछन् । पछि मेरो पनि कुरा भयो र २०८३ भदौ १० गते बिहान छ बजे हामी धुन्चेको विद्युतीय माइक्रोबसमा जाने भयौँ । हाम्रो अन्तिम गन्तव्य भने गोसाइँकुण्ड थियो । मेरा श्रीमान् र मेरा अफिसका दुई जना बहिनीहरू जाने भएका थियौँ । बिहानै ५ बजेर २ मिनेट जाँदा ती भाइको फोन आयो र भने, “दिदी, समयमै आउनुहोस् है, यहाँ भीड भइसक्यो ।” हतारिँदै “चारवटा टिकट चाहिँ राखिदिनू” भनेपछि “हुन्छ दिदी, तर समयमै आउनुहोस् है” भने । गाडीभरि मानिसको हल्ला राम्ररी सुनिइरहेको थियो । हुन्छ भन्दै हतारहतार तयार हुन थालेँ । बिहानको ५ः४५ बजेतिर याङ्गोमा ट्याक्सीको व्यवस्था गर्न खोज्दा मोटरसाइकल परेछ । तीन पटकसम्म रद्द गर्नुपर्याे । यसै ढिला त भइसकेको थियो । ढिला भइसक्यो भनेर एक्लाएक्लै बसपार्क पुग्ने निर्णय गर्याैं र हामीले आआफ्ना मोबाइलबाट याङ्गो बुक गर्याैं । श्रीमान् मभन्दा अगाडि निस्कनुभयो । म भने पर्खाइमै थिएँ । याङ्गो चालकले “म आइसकेँ, कहाँ हुनुहुन्छ ?” भनेपछि कुरा हुँदा उनले भनेको स्थान फरक परेछ । फेरि रद्द गरेँ । अब चाहिँ मेरो मन आत्तिन थाल्यो । स्थान मिलाउनतिर नलागेर गुडिरहेको ट्याक्सीमा आँखा गयो अनि रोकेँ । तीन जना आमाहरू बसपार्क जाँदै हुनुहुँदो रहेछ । म अगाडिको सिटमा बसिहालेँ र भनेँ, “दाइ, अलि छिटो, मेरो गाडी छुट्न लाग्यो ।” त्यही समयमा चालकले चार-पाँच पटक फोन गरिसकेका थिए । भनेको समयभन्दा आधा घण्टा ढिला भइसकेको थियो । अन्ततः बसपार्क पुगेँ । गाडीभरि मान्छे थिए, सबै मेरै पर्खाइमा थिए । कहिलेकाहीँ ढिला पनि राम्रै हुन्छ । मैले सबैलाई कुराएँ । “सरी है” भन्दै मुस्कानसहित गाडीभित्र पसेँ । कसैकसैले “केही छैन” भने, कसैकसैले चाहिँ बोल्न पनि मन नगरेजस्तो बुझें । साँच्चै रिसाएका रहेछन् । नरिसाऊन् पनि किन ? सबै समय अड्कलेर हिँडेका हुन्छन् । मैले भने मेरै पेवाजसरी मनमानी गरिदिएकी थिएँ, तर त्यस्तो हुन गएको हो, चाहेर भएको थिएन । जे होस्, अब धुन्चे पुगिने भइयो भनेर ढुक्क हुँदै अगाडिको सिटमा हामी दुईजना बस्यौँ । चालक पनि साह्रै मिजासिला रहेछन् । गाडी पनि राम्ररी चलाउने अनि कुरा गर्ने तरिका पनि मिजासिलो । त्यसैले म भन्छु, जातका आधारमा, पेसाका आधारमा अनि बस्ती एवम् ठेगानाका आधारमा कसैका बारेमा पनि निर्णय गरिहाल्नु हुँदैन । हरेक व्यक्तिमा विशेष खालका गुण हुन्छन् । चालक हुँदैमा सबै चालकहरू उस्तै हुँदैनन् । चालकहरू पनि नितान्त विशेष वा फरकफरक हुन सक्छन् । यो मलाई लागेको कुरा हो । सायद शिवबाबाले हामीलाई नजान सङ्केत दिइरहनुभएको थियो । बहिनीहरूले टिकट त्रिशूलीबाट धुन्चेका लागि बुक गरिसकेका थिए, तर म भने जाने वा नजाने भन्ने दोधारमै थिएँ । टिकट नपाउने सम्भावना भएकाले उनीहरूले जोहो गरिसकेका थिए, तर मेरो जाने निधो नभएकाले टिकट निश्चित गरिएको थिएन । ९ गते बिहान निधो भएपछि म बेलुका काठमाडौं आएकी थिएँ, आफ्ना श्रीमानलाई लिन । मेरा कारण बहिनीहरूले पनि टिकट रद्द गरेर मलाई पर्खनुपरेको थियो । गाडीको अगाडिकै सिटमा थिएँ म । आफैँ गाडी चलाउँदा केही नहुने, तर अरूले चलाएको गाडीमा बस्नै नहुने मेरा श्रीमान्लाई गाडी लागेर गाह्रो भइसकेको थियो । मलाई भने बोल्न पाएन र खान पाएन भने गाह्रो हुने । म चालक भाइसँग बोल्न थालेँ । खानाको कुरा निकालेँ, किनभने एक त खाना शुद्ध र सफा हुनुपर्याे, अर्को बासी हुनुहुँदैनथ्यो । यही खानाका भरमा धुन्चेबाट हिँडेर चन्दनबारी पुग्नुछ र बास बस्नुछ । मैले सोध्ने क्रममा अघिपछि जिम्बुमा खाना खान र गाडी रिचार्ज गर्नका लागि रोक्ने गरेको बताएँ । “आज त सम्भव हुँदैन, लाइनमा कुर्नुपर्छ । आज त दुई सयभन्दा बढी गाडी निस्किसकेका छन् । दिदी, तपाईंहरूलाई धुन्चे पनि अलि छिटो पुर्याउनुपर्याे । आज चाहिँ कि त ढुङ्गे, कि कालिकास्थानमा रोक्नुपर्ला,” चालक भाइले भने । “चिनेको होटल हो र भाइ ?” भन्ने मेरो सवालमा उनले “होइन दिदी” भने । कुरा गर्दै जाँदा गुर्जे चेकपोस्ट आइपुग्यो । त्यहाँको प्रक्रिया सकेर हामी ओरालो लाग्दै गर्दा खानाका बारेमा मेरा मनमा कुरा खेलिरहेका थिए । यसैबीच मैले सोधेँ, “खाना म अर्डर गरूँ भाइ ? चिन्नुभएको छ भने हुन्छ, तर सबैलाई गरिदिनुहोस् ।” “हो, चिनेकै ठाउँमा, यतै विदुरमै हो । गाडी पनि त्यतै रिचार्ज गर, भाइ, खाना खाइसक्दासम्म सकिन्छ पनि होला,” भनेँ । “त्यसो भए हामी दुईजना चाहिँ विद्युतीय गाडी चार्ज गर्ने व्यवस्था भएको बसपार्कमा खान्छौँ,” भनेँ । मैले तुरुन्तै फोन गरेर मेरै अफिसअगाडिको डाउन टाउन होटलमा १०-११ जनाका लागि खाना तयार गर्न भनेँ । “हामी नौदेखि सवा नौका बीचमा आइपुग्छौँ, तयारी हुनुपर्छ,” भन्दै पछि साग र आलु अनि मोलेको अचार पनि भन्न भ्याएँ । रूपा म्याडमले “हुन्छ नि, भेजलाई स्पेसल” भन्दै जिस्काउँदै जवाफ पनि दिनुभयो । हामी होटल आइपुग्दा ९ः१० भएको थियो । १५ मिनेटतिर खाना खान सुरु गर्याैं । सुरुमा टिमुरे, स्याफ्रुबेंसी सबै बगायो भन्ने खबर आयो । होटलका साहु भानु सरलाई कसैले पत्याएनन् । पत्याउनु पनि कसरी ? पानी परेको छैन, हजारौँ भक्तजनहरू लागेका छन् । झलमल्ल घाम लागिरहेको थियो । पछि बेत्रावती र सोले बगायो भनेर फोन आएपछि होटलकी साहुनी रूपा म्याडमको माइती उतै भएकाले फोन गर्दा उहाँको माइतीका कोही पनि सुरक्षित छैनन्, मानिसहरू माथिल्लो गाउँतिर भाग्न सफल भएका छन् भन्ने खबरले सबैलाई सिरिङ्ग बनायो । खाना खाइसकेका थिएनौँ । “कति मिठो है” भन्दै सबै मस्तले खाँदै हुनुहुन्थ्यो । सबै छाडेर बाहिर निस्क्यौँ । मिनेटमै जमिनको थरथराहटसँगै ठूलो आवाज गर्दै बाढी आइपुग्यो त्रिशूली-ढुङ्गे बजारमा । अलर्ट म्यासेज त पठाइएको रहेछ, नेटवर्कको समस्याले होला, सबैका मोबाइलमा ९ः१० तिर मात्र देखिएको थियो । त्यसपछि हामी सबै तितरबितर भयौँ, भागाभाग मच्चियो । अफिस बन्द गरेर बैंकका साथीहरू पनि बाहिर निस्किए अनि सबै जना आ-आफ्ना आफन्तहरूको खोजी गर्न थाल्नुभयो । गाडी चार्ज गर्न त्रिशूली बजार गएका चालक भाइलाई तुरुन्तै फोन गरेँ । चालक भाइ पनि स्टेसन नपुग्दै बाढीले भेटाउन खोजेको रहेछ । बाढी पछिपछि र आफू अगाडि-अगाडि हुँदै उनी केही सेकेन्डको अन्तरले भाग्न सफल भएछन् । त्यतिबेलासम्म नुवाकोटमा फोन लाग्दै थियो । हाम्रो टोलीकी अर्की बहिनी बेत्रावती आएर बस्ने कुरा थियो । उनको फोन नलाग्दा हामी तनावमा भयौँ । क्षणभरमै सबै सकियो जस्तो लाग्यो । अब हामी त्यही कहालीलाग्दो वातावरणमा सोध्ने र खोज्ने कार्य गर्न थाल्यौँ । त्यही बीचमा चालक भाइले भने, “दिदी, मेरो देवीघाटको सबै लग्यो । मान्छेलाई चाहिँ केही भएन ।” फोन काटियो, त्यसपछि सम्पर्क हुन सकेन । बेलुकापख बल्ल थाहा हुन आयो, अफिसकी बहिनीका परिवारका सबैलाई बाढीले लगे पनि उनी भने बाँच्न सफल भइछन् । हेर्दाहेर्दै क्षणभरमै धर्तीको थरथराहट, कालो पानीको लेदो, गोमन सर्पको जस्तो गति अनि गडगडाहट आवाजसहित आएर सबै स्वाहा बनाइदियो । आँखाले एकोहोरो हेरिरहन पनि सकेनौँ । बीचबीचमा आँखा चिम्लनुपर्ने अवस्था थियो । ठाउँठाउँमा भएका क्षतिका विवरण आउन थाले । कतै मानिसले थाहा नै पाएनन्, थाहा पाएकाले पनि भाग्न भ्याएनन् । घरमा भएका वृद्ध तथा विद्यालयमा भएका बालबालिका निस्कन सकेनन् । सक्नेहरूले आफ्ना सामान चोरीबाट जोगाउन ताल्चा-चाबी लगाउन थाले, जसले गर्दा उनीहरूलाई केही समय लाग्यो । कतै केही बहुमूल्य सामान लिएर जान समय लाग्यो, कतै पत्याउन नै समय लाग्यो, कतै आफ्नालाई जोगाउन खोज्दा समय लाग्यो, कतै भिडियो बनाएर भाइरल हुने रहरले समय लाग्यो । खोला त उर्लिएको थियो, खोलाले बाँकटे मारेको थियो, नक्सा कोरीकोरी झम्टेको जस्तो लाग्दथ्यो । भ्याउनु पनि कसरी, पत्याउनु पनि कसरी ? अविश्वसनीय र अकल्पनीय थियो । जे-जे कारण भए पनि ठूलो क्षति भयो । ठूलो धनजनको क्षति भयो । धेरै मानिस शारीरिक रूपमा घाइते भए अनि धेरै मानसिक रूपमा पीडित भए । कैयौँ वर्षमा उठ्न लागेको मेरो जन्मथलो अनि कर्मथलोको भूगोल मात्र होइन, ऐतिहासिक सभ्यता, भग्नावशेष, ऐतिहासिक स्थल अनि कहलिएका इतिहाससहितका धार्मिक स्थलहरू सबै क्षणभरमै स्वाहा भए । क्षणभरमै कैयौँ पुल, कैयौँ विद्यालय, कैयौँ सार्वजनिक संरचना र सम्पत्ति, हजारौँ घर र मानिसहरू माटामा विलीन भएको देख्यौँ । गोसाइँकुण्ड र मानसरोवर तीर्थको महिना परेकाले त्यस दिन धेरै तीर्थालुहरू पनि परेको अनुमान गरिएको थियो । जाने त गए, तर बाँच्नेलाई कति सकस ! भनिन्छ नि, जसको भोग सकियो, गए । जाने त गए, तर यस्तो परेर, देखेर अनि भोगेर बाँच्नु पनि बाँच्नेहरूको अभाग जस्तो लाग्यो मलाई । स्वार्थमा टिकेको यो संसार, लाग्छ सबै मौकैको पर्खाइमा हुन्छन् । मौका पाउनुपर्छ, तातो दिने त्यही अग्निले खरानी बनाइदिन्छ अनि तिर्खा मेट्ने त्यही पानीले बगाइदिन्छ । यस्तै भयो २०८३ भदौ १० गते । तिर्खामा प्यास मेटाउने त्यही पानी, मन्दिरमा चढ्ने त्यही जल, उसले मौका पाउँदा सेकेन्डमै सहरलाई बगर बनाइदियो, प्रसिद्ध पौराणिक महत्त्व बोकेका बजारका बस्तीहरूलाई हजारौँ वर्ष पछाडि धकेलिदियो । भन्नलाई त मान्छेको जीवनका इच्छा एवम् आकांक्षाहरू धेरै छन्, अनन्त छन् भनिन्छ, तर वास्तवमा भन्ने हो भने इच्छा एवम् आकांक्षा धेरै सीमित हुने रहेछन् । मान्छेका लागि आवश्यकता के हो, इच्छा के हो अनि चाहना के हो भन्ने कुरा उसको आफ्नो वशको कुरा होइन रहेछ । अनि औकात र सामथ्र्यले पनि निर्धारण नगर्ने रहेछ । त्यो त ऊसँग भएको समय, समयले निम्त्याएको परिस्थिति अनि बाँच्न सक्ने इच्छाशक्तिले मापन गर्ने रहेछन् । अन्ततः बाँच्नका लागि मृत्युसँग सङ्घर्ष गर्न लाग्ने समयले जीवनका धेरै महत्त्वपूर्ण कुराको निर्धारण गरिदिने रहेछ भन्ने कुरा पनि यस घटनाले राम्ररी सिकाइदियो । विदुरवासीहरूलाई पनि अलि पर जानुपर्छ भन्ने सतर्कता आएपछि म त्यस दिन केही महत्त्वपूर्ण सामान निकाल्न अफिसभित्र छिरेँ । सायद मेरा लागि केही महत्त्वपूर्ण सामान त्यसभित्र थिए । एउटा, अर्को, अर्को गर्दै सामानको त लर्को नै लाग्यो । फेरि अफिसका लागि महत्त्वपूर्ण सामानतिर पनि आँखा गए । कुनचाहिँ मात्र रोज्ने अनि बोक्ने ? भएका सबै महत्त्वपूर्ण, अफिसको भवन झनै महत्त्वपूर्ण । हनुमानजीले जडीबुटीको पहाड उचालेर लगेझैँ भवन नै लगूँ जस्तो भाव मनमा आयो, तर मसँग न समय थियो, न त हनुमानजीको जस्तो पहाड बोक्ने सामथ्र्य नै । अन्ततः त्यहीँ छाडेर हिँडेँ सबै चीज । केही पनि बोकिनँ । मर्दै छु भन्ने थाहा भएको मान्छेले त्यो अन्तिमको दुई सेकेन्डमा कुन कुरा महत्त्वपूर्ण छ भनी सोचेर भन्न सक्छ र ? त्यतिबेला लाग्यो, मर्न लागेको मान्छेलाई के इच्छा छ भनेर सोध्नु मूर्खता रहेछ । त्यो सेकेन्ड-मिनेटले इच्छालाई कदापि उजागर गर्न नसक्ने रहेछ । मान्छेमा हुने इच्छा र आकाङ्क्षा कतिसम्म खुम्चिन्छ र तन्किन्छ भन्ने कुरा मैले प्रत्यक्ष महसुस गरेँ । साँच्चै, एक मिनेट अघिसम्म सुन-पैसा जोगाउन खोज्दाखोज्दै भाग्दा-भाग्दै सेकेन्डले बाँचेकाहरू सेकेन्डमै आफन्त मात्र बाँचिदिए हुन्थ्यो भन्नेमा पुगे । केही घण्टामै लास मात्र भेटिदिए हुन्थ्यो भन्नेमा पनि पुगे । केही दिनमा लास पहिचान मात्र भए पनि हुन्थ्यो भन्नेमा पुगेर महिनादिनमा डीएनए मात्र पनि मिलिदिए हुन्थ्यो भन्नेमा पनि पुगे । मन नै त रहेछ, नत्र करोडौँको सम्पत्ति अनि मुटुका टुक्राका रूपमा रहेको परिवार सबै गुमाउँदा पनि एक बोरा चामल राहतका रूपमा थापेर बाँच्न कोसिस गर्नुपर्ने नै रहेछ । योभन्दा सजिलो र त्योभन्दा राम्रो भन्दै बाँचिरहेकाहरू ढुङ्गामाटामा एउटा पालमुनि जीवन गुजार्दै बाँच्न कोसिस गर्नुपर्ने नै रहेछ । सकिने त रहेछ त ! फेरि किन भएन, त्यो भएन, यस्तै हुनुपर्छ भन्दै तँछाडमछाड, लुटपाट अनि अहङ्कारमा लाग्नेहरूका आफन्तहरू हेर्दाहेर्दै बगेका, फोन गर्दागर्दै सम्पर्कविहीन भएका । “एक कल आइदिए हुन्थ्यो अनि एक पटक फर्केर आइदिए हुन्थ्यो, अँगालो हाल्थेँ, माफी माग्थेँ, जे छ बाँडेर खान्थेँ” भन्ने कल्पना गरेर पर्खाइमा बसेजस्तो बहानामा पनि त बाँच्ने कोसिस गर्न सकिने रहेछ त । लानेले के लगे ? आफूले गरेका कर्म लगे होलान् । बाँच्नेले के गर्न सके ? आफ्ना प्राणहरू, मुटुहरू बग्दा त्यही बाढीमा हामफाल्नुपर्ने होइन र ? तर बाँच्नका लागि सङ्घर्ष गर्न थाले, जे पर्छ बेहोर्न थाले । आज जे भयो, त्यो सधैँ नरहने पनि रहेछ । विस्तारै सहजताका साथ स्वीकार्दै जानुपर्ने रहेछ । भविष्य अनिश्चित रहेछ भन्ने थाहा पाउँदै गए । मान्छेलाई सत्कर्म गर्न कुनै तामझाम, तँछाडमछाड र अहङ्कारको आवश्यकता नपर्ने रहेछ, अनगिन्ती इच्छा एवम् आकाङ्क्षाको आवश्यकता नपर्ने रहेछ । हिजो जे थियो, आज नहुने रहेछ । आज जे छ, त्यो भोलि त नरहने रहेछ । सत्य त यही नै हो नि, सबै मनकै खेल त रहेछ, सबै भावकै खेल त रहेछ, होइन र ? मोबाइलमा कैद हुनुपर्ने त्यो क्षण मेरा भावहरूले नै कैद गरिदिए । मेरा आँखाहरू प्रत्यक्ष साक्षी भइदिए । कसरी सुनाऊँ, के देखाएर मन बुझाऊँ म मेरा भावी सन्ततिलाई ? हेर्दाहेर्दै खरानी बनाइदियो । खरानीको रूप पनि यसरी परिवर्तन भयो हाम्रो पुस्ताका लागि । इतिहास मेटाइदियो अनि हाम्रा भावी सन्तानका लागि नयाँ इतिहास सिर्जना गरिदियो ! हामी आएको गाडीमा एकै परिवारका ठूलै समूह हुनुहुन्थ्यो । बेलुकापख जाने बेलामा अँगालो हाल्दै भन्नुभयो, “हजुरको खानाले हामीलाई बचायो । धन्यवाद, बहिनी,” भन्दै बिदा हुनुभयो । तर जस एउटाले पाउँछ, अपजस अर्काले । सबै उहाँकै खेल हो, उहाँकै इच्छा हो, अरू त सब माध्यम मात्र हुन् । बाँच्ने पनि विभिन्न बहानाले बाँचेका छन्, अनि मर्ने पनि विभिन्न बहानाले मरेका छन् । वास्तवमा भगवान्लाई “बचाउनुभयो” भनेर धन्यवाद दिन पनि मन लागिरहेको थिएन । बाँचेर यस्तो विकराल विनाशको रूप देख्नु अनि महसुस गर्नु पनि अभाग नै लाग्यो मलाई । राम्रो कुरा सुन्न पाउनु, देख्न पाउनु र महसुस गर्न पाउनु पनि जीवनको भाग्य हो जस्तो लाग्छ मलाई । सयौँ सक्षम चालकहरू बगे, सयौँ इन्जिनियरहरू धरतीको काखमा विलीन भए । भौतिक क्षतिको पीडा सम्बन्धित ठाउँहरूले भोगे, तर अन्य क्षतिको पीडा स्वदेशीलाई मात्र नभएर विदेशीलाई पनि भयो । क्षति नबेहोर्ने कुनै जिल्ला थिएन, नपरेको कुनै पेसा थिएन, नपरेको कुनै जाति थिएन, नपरेको कुनै उमेर थिएन । पीडा सिङ्गो देशलाई नै दियो । हेर्दाहेर्दै सडकभरि सबै अचेतजस्ता देखिन्थे- ज्यान बचाएर भाग्नेहरू, आफ्नो सम्पत्ति पुरिएको वा बगाएको हेर्नेहरू अनि लामो यात्रा तय गरी हिँडेका यात्रीहरू र विशेष गरी तीर्थयात्रीहरू । वास्तवमा त्यतिबेला सबै अचेतजस्ता भएका थियौँ । एक जना आमा सकी-नसकी सडकमा कुदिरहँदा पनि हामीले केही गर्न सकेनौँ । उहाँको त्यसबेलाको स्थितिलाई सम्हाल्न सकेनौँ, अझ भनौँ, होसै भएन । बेलुकापख सडकमै बसिरहेको देखेर मैले उहाँलाई भेटेर कुरा गरेपछि महसुस गरेँ, मैले उहाँलाई सम्हालिदिनु पर्थ्याे । उहाँले भन्नुभयो, “म भर्खर घाँस काटेर घरमा छिरेकी थिएँ, बाढी त छिरिसकेछ बहिनी । जस्ती थिएँ, भागिहालेँ । मलाई त होस पनि थिएन । बाँच्न लेखेको रहेछ मलाई ।” वास्तवमा त्यहाँको माहोल हेरेर लाग्थ्यो, कसैलाई होस थिएन । होस थियो त केवल सेना र प्रहरीहरूमा, जो आफूलाई जोखिममा राखेर उद्धारकार्यमा खटिरहेका थिए । उहाँहरूको त्यो कुशलता, आँट र साहसलाई पनि सहृदय नमन ! लेन्दे भोटेकोशीबाट अकल्पनीय र अविस्मरणीय रूपमा आएको त्यो विनाशकारी रूप बाढी थिएन, खोला बगेको थिएन । त्यो त शिव भगवान्को जस्तो रौद्ररूप थियो, महाकालीको जस्तो काली रूप थियो ! जसले रसुवा जिल्लादेखि नुवाकोटका नाम चलेका ऐतिहासिक एवम् पौराणिक गौरव बोकेका पुराना बजार-बेत्रावती बजार, त्रिशूली बजार, ढुङ्गे बजार अनि ऐतिहासिक थलो देवीघाटजस्ता महत्त्वपूर्ण ठाउँहरूलाई आफैँमा मिलाउँदै लगेर वारिपारिका सबै बस्ती बगर बनाइदियो । केही दिनपछि विस्तारै हामी क्षति पुगेका ग्राहकहरूको विवरण लिएर बीमा दाबीका लागि प्रक्रिया अघि बढाउन थाल्यौँ । आंशिक क्षति भएका र परिवार सकुशल रहेका केही ग्राहकहरू सम्पर्कमा आई बीमा तथा अन्य बैंकिङ कार्यको प्रक्रिया अघि बढाइएको भए तापनि कैयौँ ग्राहकहरू, जसको जनधन पूर्णतः क्षति भयो, उहाँहरू त्यस परिस्थितिको असरबाट निस्कन सक्नुभएकै थिएन । उहाँहरूका लागि हामी माध्यम भएर काम गरिरहेका थियौँ । हामीले गर्नुपर्ने पहिलो कर्तव्य र गर्न सक्ने काम पनि यही नै थियो । अहिलेसम्म ग्राहक, बीमा कम्पनी र बैंकले बीमा गर्नका लागि मात्र बीमा गर्याैं, बैंकिङ नियम पूरा गर्नका लागि मात्र बीमा गर्याैं । तर अबका दिनमा हामीले पूर्ण सम्पत्ति र वैधानिक बीमा दाबीका लागि बीमा गर्नुपर्छ । यसका लागि बीमा साक्षरता अभियान सञ्चालन गर्नु पनि अत्यन्त आवश्यक रहेको देखियो । यसैबीचमा हामीले बीमा कम्पनीहरूसँग छलफल गर्ने र गराउने काम पनि गर्याैं । सहज अवस्थामा साथ लिन्छौँ र अप्ठ्यारो समयमा साथ दिन्छौँ- नेपाल बैंकले सधैँ गर्ने नै छ । भन्नलाई त सजिलो छ, “मरेपछि के चाहिन्छ र ?” तर मरेपछि मान्छेलाई झन् धेरै कुरा चाहिन्छ । धेरै आफन्तहरूको साथ र सहयोग पनि चाहिन्छ । तर त्यतिबेला परिवार रहेनन्, छिमेकी रहेनन्, आफन्त रहेनन्, बाँच्नेलाई साथ दिने कोही भएनन् अनि मरेकालाई मलामी जाने मान्छेसमेत रहेनन् । हाम्रो अमूल्य ऐतिहासिक, धार्मिक सम्पत्ति अनि आफन्त र चिनेका मान्छे मात्र परेनन्, नेपाल बैंक लिमिटेडका हाम्रा आदरणीय ग्राहकहरूको ठूलो मात्रामा जनधन, संरचना, सम्पत्ति र व्यापार सबैमा अपूरणीय क्षति भयो । एक जना कर्मचारी बहिनीको घरबार लग्यो, कर्मचारीहरूका आफन्तहरू बगेर बेपत्ता भए । अफिस आएका साथीभाइहरू पुलजस्ता संरचना भत्किएर वारिको वारि हुन जाँदा महिनौँसम्म परिवारविहीन भए । यस्तो विषम परिस्थितिमा सरकार र ग्राहकलाई साथ दिनुपर्छ भनेर जेनेरेटर चलाएर तनमनले निरन्तर बैंकबाट सेवाहरू प्रवाह गरिरह्यौँ । सार्वजनिक बिदाहरूमा पनि हामी बिदामा बसेनौँ । यसमा म मेरो शाखाको टोलीप्रति आभारी रहेँ । कैयौँ दिन बत्ती नआउँदा पानी र मोबाइलको समस्या बढ्दै गएको थियो । हामीले जेनेरेटर चलाएर सर्वसाधारण, प्रहरी, सेना र सशस्त्र प्रहरीका मोबाइल चार्ज गरिदिएर अनि पिउने पानीको व्यवस्था गरिदिएर आफूले सकेको सहयोग निरन्तर गरिरह्यौँ । नेपाल बैंक सुखमा मात्र होइन, दुःखमा पनि हजुरहरूकै साथमा हुन्छ भन्ने आभास दिन हाम्रा तर्फबाट निरन्तर सहयोगको प्रयास गरिरह्यौँ । यस्तो समयमा सबैले जहाँ छौँ, त्यहीँबाट आआफ्नो दक्षता र क्षमताले सकेको सहयोग गर्नु नै ठूलो कुरा हुँदो रहेछ । सेनाको भूमिका, सरकारको भूमिका अनि स्थानीय सरकार तथा स्थानीय निकायको भूमिका फरकफरक थिए । ती सबै भूमिका उनीहरूले निभाइरहेका थिए । हामीले पनि आफ्ना तर्फबाट सक्दो कोसिस गरिरह्यौँ । साथीभाइहरू एकएक गरेर बिरामी हुन थाले, तैपनि हामीले आलोपालो गरेर अफिस चलायौँ, बन्द हुन दिएनौँ । तर यस्तो माहोलमा निरन्तर अफिस आए पनि काममा केन्द्रित हुन नसकेको हामी सबैले महसुस गर्न थालेका थियौँ । हामी कर्मचारी सबैलाई केही समयका लागि विश्रामको आवश्यकता महसुस हुन थालेको थियो । यति नराम्रो र गहिरो प्रत्यक्ष प्रभाव पर्याे कि साथीभाइहरू “अब यस शाखामा बसेर काम गर्न सकिन्न होला, म्याम” पनि भन्न थाल्नुभएको थियो । यसैबीच मिति २०८३।०५।२३ गते तालिम तथा विकास डिभिजनको टोली मनोपरामर्शदाता डा. केदार रायमाझी सरलाई साथमा लिएर नुवाकोट आइपुग्यो । यस परामर्श कार्यक्रमले वास्तवमा हामी कर्मचारीहरूलाई ठूलो राहत मिलेको महसुस गरायो । जसले जे सक्छ, जोसँग जे छ, त्यही तरिकाले सहयोगको भाव राख्ने बेला थियो त्यो । उहाँहरूप्रति हामी आभारी रह्यौँ । त्यसबीचमा हरेक विभाग अनि प्रदेशबाट भएको चासो र सहयोगप्रति हामी आभारी रह्यौँ । यसका साथै मिति २०८३।०६।१६ गते बैंकको उच्च व्यवस्थापनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र प्रमुख कर्जा अधिकृत तथा नेपाल इन्स्योरेन्सका सञ्चालकको टोलीका साथमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा क्षति पुगेका ग्राहकहरूका बीच भएको महत्त्वपूर्ण छलफलले हामी र हाम्रा ग्राहकहरूलाई पनि राहत मिलेको महसुस गरायो । कल, मिसकल अनि सन्देशको लगातारको प्रवाहले साँच्चै त्यतिबेला मलाई मेरो सम्बन्धहरू देखावटी र नाजुक रहेनछन् भन्ने थाहा भयो । कतिलाई फोन गर्न पनि डर लाग्यो रे, सम्पर्क हुन सकेन भन्छ कि भनेर । त्यसै कारण मैले फेसबुकमा त्यसबारे जानकारी गराएकी थिएँ- एउटा जानकारीका रूपमा कि हाम्रो शाखा र हामी सबै ठीक छौँ भनेर । लगत्तै भएको शाखा प्रबन्धकहरूको बजेटसम्बन्धी छलफलमा साथीहरूसँग भेट्दा उनीहरूले अँगालो हालेर आँखाभरि आँसु पारेको देख्दा बल्ल मलाई पनि महसुस भयो, म पनि बाँचेर आएकी रहिछु । अधुरो रह्यो त्यो मेरो गोसाइँकुण्ड घुम्न जाने इच्छा अनि अपूरो रह्यो मेरो पहिलो गोसाइँकुण्ड यात्रा । धन्न जीवन छ, इच्छाशक्ति छ । फेरि भगवानकाे इच्छाले कुनै दिन पुगौँला, मेरो अधुरो यात्रा पूरा गरौँला । घरहरू बन्लान्, बाटो र अन्य संरचनाहरू विस्तारै बन्लान्, बस्ती बस्लान् र विस्तारै फेरि उठ्लान् । तर ती लास नभेटाएर कुशको दाहसंस्कार गरेकाहरूले कसरी चित्त बुझाउलान्-“मेरो मान्छे छैन, अब कहिल्यै फर्केर आउँदैन” भनेर ? तर त्यो दिन फेरि दोहोरिएर कहिल्यै नआओस् । सबै पीडितहरूको आशा र विश्वाससँगै संरचनाहरू फेरि निर्माण होऊन्, भरोसाहरू भविष्यप्रति उभिऊन् । गुमाएका आफन्तहरू फर्केर नआए पनि उहाँहरूप्रति श्रद्धाञ्जली भाव राख्दै बाँच्ने शक्ति र अघि बढ्न सक्ने ऊर्जा मिलोस्, यही छ मेरो प्रार्थना । बस्, यतिबेला संस्थागत, व्यक्तिगत, पारिवारिक र भाइचारामा एकअर्काको साथ, माया, प्रेम र समानुभूतिको आवश्यकता छ । उठ्नु छ अनि उठाउनु छ, सबैले यो मनन गरौँ । यस्तो समयमा पनि सम्भावनाहरू खोज्ने र देख्नेहरू धेरै हुनुहुन्छ । बाँच्नेहरू भन्नुहुन्छ, “हामीलाई बचाएको नै योभन्दा धेरै कर्म गर्न हो, त्यसैले अझ धेरै गर्नुपर्छ । सडकमा पुर्यायो, सडकबाटै उठ्नुपर्छ ।” सलाम त्यो आँट, साहस अनि विश्वासलाई । हामी बिर्सन खोज्छौँ, तर हाम्रा ग्राहकहरू दिनप्रतिदिन ताजा भएर आइदिनुहुन्छ । आफ्नो त्यस दिनको फरक परिवेश तर एउटै दर्द र पीडाको कहानी सुनाउँदै रुन थाल्नुहुन्छ, भक्कानिन थाल्नुहुन्छ । लाग्छ, यो क्रम वर्षौँ चलिरहनेछ । सायद त्यो २०८३ भदौ १० गते, त्यो कालो दिन हामी र हाम्रो त्रिशूली शाखाले कहिल्यै बिर्सने छैनौँ । तीज मनाउन सकेनौँ । यसको लगत्तै महान् पर्वहरू पनि नजिकिँदै छन्, तर खल्लो, सुनसान र नरमाइलो छ । केही छैन, यस साल समवेदना बाँडौँ, सहानुभूति राखौँ, अर्को साल खुसी साट्दै रमाउँला । किनभने सधैँ हाम्रा आदरणीय ग्राहकहरूको भीडभाडले भरिने नेपाल बैंक लिमिटेड चाडपर्वका माहोलमा पनि सुनसान र खाली देख्दा शून्यताभित्र भीड खोजिरहेका छौँ । अब बगेर गएकाहरू फर्किएर आउने आशा सायद गरिँदैन, तर वारि र पारि छुटेको सम्बन्ध विश्वास र आस्थाको डोरी छिट्टै जोडियोस् । फेरि नेपाल बैंक उहाँहरूको भीडभाड र साथले भरियोस्, यही कामना ! (लक्ष्मी पण्डित नेपाल बैंकको त्रिशूली शाखाकी शाखा प्रबन्धक हुन् ।)

द्वन्द्वकालमा गएको नेपाल बैंक फर्किने पर्खाइमा

जागिरे भएपछिको पहिलो पटक बाहिर जाँदै गर्दा बेग्लै अनुभव, सबैले भने आफ्नै घरगाउँमा जाँदै हुनुहुँदो रैछ, बधाई छ ! हो, हुन त, मेरो जन्मथलो हो, हुर्केको गाउँघर हो तर के गर्नु ? यो पनि अब एकादेश भैसकेको थियो मेरा लागि । मनलाग्दा, फुर्सद हुँदा जाने थलो बनिसक्यो मेरो जन्मथलो । मेरो जे छ अब काठमाडौंमै छ । त्यसैले पनि होला आफ्नै जन्मघर आउन पनि सजिलो चाहिँ भएन मलाई । घर छोडेर हिँड्ने अघिल्लो रातको त्यो छट्पटि र पीडा त मलाई थाहा छ । रात बाक्लिँदै जान्छ, निद्रा भने झन् पातलिँंदै जान्छ । के के भुलेँ जस्तो लाग्छ, के छुटे जस्तो लाग्छ । भोलि एक दिनको भए पनि सबै तयारी गरिदिनुपर्छ भन्ने लाग्छ । कपडामा आइरन, जुत्ता, मोजा, टाई, टिफिन, पानी, ब्याग आदि सबै सबै । सबैतिर व्यवस्थापन गर्न कहाँ सजिलो छ र ! म आफ्नो जन्मथलोलाई कर्मथलो बनाउन बिहानको घरका सबै काम सकेर सबेरै नुवाकोटतिर लागेको थिएँ । वास्तवमा म नुवाकोटमै जन्मिएर पनि मलाई मेरो बैंकको शाखा कहाँनिर छ थाहा थिएन । काठमाडाैं सहरभित्रै काम गरेर अनुभव भएको म सहरबाहिरको शाखामा काम गर्नुपर्ने हुँदा नितान्त फरक लागिरहेको थियो मलाई । परिवेश, काम गर्ने शैली, सेवा लिने शैली र दिने शैलीमै फरक लाग्यो । सहरका तुलनामा गाउँका समस्यामा नै फरकपन पाएँ । साह्रै सोझा अनि अशक्त लाग्ने ग्राहकहरू, सेवामूलक कार्यमा समय बढी व्यतीत हुने, समय परिवर्तन भएर कार्डलेसका समयमा आइपुग्दा डिजिटल ज्ञानसमेत कम भएका ग्राहकसँग काम गर्दा ठूलो ठूलो स्वरमा कुरा गर्नुपर्ने, भिडभाड एवम् कोलाहलको माहोल सृजना हुने जस्ता कुराहरूले गर्दा फरक अनि भिन्न ग्राहकहरूको अनुभव गरिरहेको थिएँ मैले । अशक्तहरूका भीडमा शक्तहरू पनि अशक्त बनेर ससाना कुरामा पनि कर्मचारीहरूको भर परेको देख्थें । एकदमै फरक तर बेग्लै अनुभव लाग्थ्यो मलाई ।  कोही समस्यालाई सुस्तरी शान्त भएर सुनाउँछन् त कोही हतासमा रिसाएर सुनाउँछन् तर हामीले धैर्यपूर्वक सुनिदिनुपर्छ अनि बुझेर समाधान पनि निकालिदिनुपर्छ । हाम्रो पेसा नै यस्तै छ, सुन्न सक्ने क्षमता एकदमै हुनुपर्ने । त्यसैले पनि हाम्रा बुढापाकाहरूले भन्नुहुन्छ नि– कम बोल्नु, धेरै सुन्नु । सुन्न सक्ने बानीले समस्यालाई बुझ्न सक्छौँ र सुल्झाउन पनि किनकि ठाउँ, परिवेश, समय र उमेरसँगै फरक फरक कथा, व्यथा र समस्या अनि सुनाउने र बुझाउने शैली पनि फरक फरक ।  नेपाल बैंकको महत्त्वपूर्ण के रैछ भन्ने कुरा सहरका शाखाहरूबाट भन्दा यस्ता गाउँमा भएका शाखाहरूबाट थाहा हुने रैछ । नेपाल बैंकप्रतिको लगाव, तछाडमछाड अनि भिडमभिडले स्पष्ट हुन्छ कि नेपाल बैंकप्रतिको आस्था र विश्वास कति अटल र अटुट छ भन्ने कुरा । जति नै भिड किन नहोस्, बरु नेपाल बैंकमै बास बस्न तयार हुन्छन्, एक हप्ता धाउन तयार हुन्छन् तर बैंक छाडेर जाने कुरा कहिल्यै गर्दैनन् । छोराछोरीले घुर्काए जस्तो गाह्रोसाह्रोमा घुर्काउन थाल्छन् तर नराम्रो सोच्दैनन्, गाली पनि गर्दैनन् । कति सादा र सरल व्यवहार उहाँहरूको । हाम्रा यिनै इमान्दार एवम् सोझा ग्राहकहरू नै नेपाल बैंकको पहिलो बलियो आधार हुन् भन्दा खासै फरक नपर्ला । यस्ता प्रकारका हाम्रा ग्राहकहरू जोगाइराख्नु नै हाम्रो पहिलो कर्तव्य पनि हो जस्तो लाग्छ । पेन्सन अनि सामाजिक सुरक्षा भत्ताका ग्राहक जोगाउनु बैंकको पहिलो कर्तव्य हो जस्तो लाग्छ मलाई जसले बैंक रहेसम्म स्वेच्छाले साथ दिइरहन्छन् । कस्ता कस्ता ग्राहक हुन्छन् सायद कमैले कल्पना गर्न सक्छन् ।  एक दिन एकजना आमा मेरो रूममा आएर भुइँमा टुसुक्कै बस्नुभयो । हातमा एउटा बोराको पोको थियो । पछि थाहा भयो कि उहाँको एफडी खाता रैछ । आज सकिने भनेर उहाँको दिमागमा बसेको रैछ, अनि हतार-हतारमा बैंक आउनुभएको रहेछ । उहाँको ३० लाख रकम बैंकमा जम्मा थियो, फेरि थप गर्न भनेर २० लाख बोरामा राखेर आउनुभएको थियो, कल्पना पनि गर्न नसकिने । आफ्ना कागजात ५ वटा खामभित्र स्टिच लगाएर सुरक्षित राख्नुभएको थियो । मलाई कागजात निकाल्नै १५ मिनेट लागेको थियो । जति गाढा आस्था उति गहिरो विश्वास नेपाल बैंकसँग । हाम्रो नेपाल बैंकका ग्राहकहरू यस्तै नै हुन्छन्, सोझा अनि सादा । यही नै नेपाल बैंकको जग हो । जबसम्म ग्राहकहरू हाम्रा साथमा रहन्छन् तबसम्म हामी रहन्छौं साथै जबसम्म नेपाल बैंक रहन्छ तबसम्म साथ दिइरहन्छन् हाम्रा यस्ता ग्राहकहरूले । एक दिन एक जना ८२ वर्षको बाजे आउनुभयो बैंकमा । उमेरले ८२ तर उहाँ एकदमै भरिलो, रसिलो र तगडा देखिनुहुन्थ्यो । कान भने कम सुन्नु हुँदो रैछ, अलि बेस्सरी बोल्नुपर्ने । उहाँले धेरै वर्ष पहिले कर्जा लिएको रे १० लाख रुपैयाँ । अनि चुक्ता पनि उही छोटो समयमै गर्नुभएको रैछ । तर फुकुवा नगरी बस्नुभएको रैछ जग्गा । पुरानो फाइल भएकाले हामीलाई त्यो जग्गा फुकुवा गर्नका लागि प्रक्रिया पूरा गर्न समय पनि लाग्यो अनि अलि सजिलो पनि भएन । अनि मैले किन यति लामो समय राख्नुभएको फुकुवा नगरी भनेर सोधेको त उहाँको जवाफ सुनेर म छक्क परेँ । नेपाल बैंकमा राखेपछि ढुक्क हुन्छ किनभने यहाँबाट कतै हराउन्न भनेर उहाँले भन्दा म छक्क परेँ । न चोरीको डर न सन्तानले खालान् भन्ने डर भन्दै हँसाउनुभयो । ग्राहकहरूबाट थाहा हुन्छ हामीलाई उहाँहरूको नेपाल बैंकप्रतिको अथाह विश्वास ।  पेन्सन लिन आउने समय र चाडपर्वका समयमा हामीले राम्रो सेवा दिन सक्नु पनि कर्मचारीको एक परीक्षा जस्तो हुन्छ । सामान्य अवस्थामा त गर्न सकिन्छ अनि त्यति साह्रो खटिनु नपर्ला तर भीडभाड अनि चाडपर्वमा छिटो छरितो अनि राम्रो सेवाको अपेक्षा गर्नु उहाँहरूको अधिकारको कुरा पनि हो । हामी हरेक कर्मचारीले यस्ता कुरामा ध्यान दिन सकेमा पनि हाम्रो सेवालाई उत्कृष्ट बनाउन सहयोग पुग्दछ । एक त हामी प्रत्येक कर्मचारीले आफूलाई आफ्नो कामको, आफ्नो डेस्कको अनि आफ्नो कर्तव्यको बोस मानेर समयमै उचित निर्णय लिई सेवा दिन सक्नुपर्छ भने अर्कातिर भिडभाड अथवा असमान्य अवस्थामा आफूसम्म आइपुगेका ग्राहकलाई आफैले सेवा दिई काम निम्टाइदिने, उसको र फलानोको भनेर नपन्छाइदिने अनि अर्को फाँट नदेखाइदिने, एउटा साथीसँग रिसाइरहेको र डिसकस परिरहेको ग्राहकलाई हेरेर सुनेर बस्नुभन्दा अवस्था हेरेर फरक अनि समझदारीको वातावरण सृजना गर्न सहयोग गरिदिने, यस्ता हाम्रा स-साना सहयोगी भावले एकातिर ग्राहकले सहज वातावरणको अनुभव गर्न थाल्छन् भने कार्यालयमा कर्मचारीहरूमा कामको प्रेसर कम अनुभूति हुने, कर्मचारी साथीहरूमा सौहाद्र भावको सृजना हुन जाने हुँदा यसले अन्ततः ग्राहकले पनि प्रत्येक कर्मचारीलाई विश्वास गर्न सक्ने वातावरण बन्छ । यसरी नै हामी प्रत्येक कर्मचारी प्रत्येक ग्राहकको विश्वासिलो एवम् भरपर्दो बन्न सक्नुपर्छ । यो पनि प्रत्येक कर्मचारीका लागि एउटा चुनौती बन्दै गइरहेको छ जस्तो लाग्छ । नेपाल बैंकका तत्कालीन ३ वटा शाखा यसै शाखामा गाभिई सेवा प्रदान गर्दै आइरहेको यस शाखामा पेन्सन तथा सामाजिक सुरक्षा भत्तालगायतका सेवा प्रदान गर्दा ग्राहकको भीडभाड अत्यधिक हुने, कतिपय ग्रामीण भेगका र वित्तीय साक्षरताको कमै ज्ञान भएका विशेष गरी कृषक, ज्येष्ठ नागरिक र शारीरिक रूपले दुर्बल अवस्थाका ग्राहकलाई सेवा प्रदान गर्दाका अवस्थामा हामीले नरिसाई, झन्झट नमानी सहज तरिकाले सेवा दिने वातावरण सृजना गर्न सक्नु नै चुनौती बन्न जान्छ । आएका ग्राहकलाई सन्तुष्ट बनाएर फर्काउन सक्नु नै शाखाको ठूलो उपलब्धि मानिन्छ ।  अधिकांश गृहिणी दिदीबहिनीहरू भने खाली हात नबसेको पनि पाइयो । पेवा तथा खेती किसानी गर्दै बैंकमा पैसा जम्मा गर्न आउने, आफ्नो सिप एवम् कलाका सामान अनि करेसाबारीका अर्गानिक कृषिका सामानहरू बेचेर राम्रै आम्दानी गरेको पनि देखियो । यो अवसर पनि हो उहाँहरूका लागि । सामूहिक रूपमा स्थानीय तहमा आयोजना गरिने विभिन्न घरेलु तथा हस्तकलाका साथै विभिन्न सृजनशील कलासम्बन्धी तालिम लिनु, यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउनु, विभिन्न समूहहरूको प्रतिनिधित्व गर्नु अनि समसामयिक विषयमा चासो राख्नु जस्ता विविध कार्यहरूमा व्यस्त रहनु नै उनीहरूको दिनचर्या रहेको छ भने के कसो गर्दा गाउँघरको राम्रो हुन्छ त्यो आफै सोच्न सक्ने बन्नु दिदीबहिनीहरूका लागि यो राम्रो उपलब्धि पनि लाग्यो भने अहिलेको समयमा गाउँघरको समस्या भनेको युवापुस्ताको सङ्ख्यामा कमी आउनु, गाउँघरमा बिरलै युवायुवतीको बसोबास हुनु र सङ्ख्यात्मक हिसाबले ज्येष्ठ नागरिकहरूको बाहुल्य हुनु हो ।  गाउँघरमा गइयो भने बुढाबुढी अनि विदेशमा रहेका छोराछोरीका सन्तान स-साना नातिनातिनाभन्दा अरू भेटिन्नन् । बैंक टाढा हुनु, सहयोगका लागि सहयोगी युवा हातहरू साथमा नहुनु, बुढेसकालमा बुबाआमाहरू एक्लो जीवन बाँच्नुपर्ने अवस्था अहिले गाउँघरको तीतो यथार्थ बन्न पुगेको छ । त्यसैले पनि समस्यामाथि समस्या थपिएको हो । सवारी साधनमा ल्याइदिने मान्छे छैनन्, सार्वजनिक साधनको भर पर्नुपर्छ, यसो गरिदेऊ न भनेर पठाउने मान्छेको अभाव छ, जता गए पनि बुढाबुढी भएको बुबाआमा नै अघि लाग्नुपर्छ । युवाहरू गाउँबाट बेँसी, बेँसीबाट सहर, सहरबाट विदेश जाने क्रम घट्दो होइन, बढ्दो रूपमा देखिन्छ । यसकारण पनि गाउँबाट आउनुपर्ने आमाबुबालाई बैंकिङ कारोबार गर्न समस्या भएको हो । फोन गर्न सक्नुहुन्न, भनेको बुझ्नुहुन्न, डिजिटल ज्ञान छैन । जसले गर्दा बैंकिङ कारोबारमा असहज भएको देखिन्छ । त्यसैले पनि अहिलेको समयमा गाउँघरमा बैंक खाता बढाउन सक्ने अवस्था नभए पनि भएका खाताहरूलाई जोगाउन सक्नु नै सफल मान्नुपर्ने अवस्था आएको छ । यी सब कुरा भनिरहँदा कथा जस्तो लाग्न सक्छ तर वास्तवमा आजको गाउँघरको तीतो यथार्थ यही हो ।  यस्तैमा एक दिन गेटसम्म आइदिनुपर्‍यो म्याडम, मैले मान्छे लगाएर बोकाएर ल्याएको छु आमालाई भन्दै एकजना पाको अर्थात् बुबाको उमेरको व्यक्ति आउनुभयो । म गएँ, उहाँको शारीरिक अवस्था अनि बिरामी भई अशक्त अवस्थामा आफ्नै खाताको पैसा झिक्न पनि कति गाह्रो, बैंकमा राखिएको आफ्नै पैसा पनि एक प्रकारको घाँडो बनेजस्तो आभास भयो मलाई, उहाँलाई देखेर । लामो समयदेखि उहाँको पैसा निकाल्न केही बैंकिङ नियम मिलिरहेको थिएन, त्यसैले उहाँले आफैँ आउनुपरेको थियो । भित्र आउन सक्नुभएन अनि आउन पनि मान्नुभएन । बाहिरै बसेर कुरा गर्न खोजेको देखेर मैले उभिएर नै कुरा गरें । उहाँको पहिलो शब्द नै आम्मै म जस्तै केटी मान्छे रैछ नि हाकिम त, उहाँको मुहारमा एक प्रकारको आशाको उज्यालोपन देखें । सायद उहाँलाई समस्या मैले बुझिदिन्छ भन्ने पनि लाग्यो । उहाँले नेपाल बैंकमा खाता कसरी खोलियो अनि किन नेपाल बैंक छोड्न सकिएन, सबै खासखुस खासखुसमै भन्दै जानुभयो । म कतिपय शब्द बुझ्दिनथें तैपनि ओठको लवजमै बुझ्ने कोसिस गर्दै गएँ, उहाँ आफै पनि कतिपय कुरा दोहोर्‍याई तेहेर्‍याई भन्नुहुन्थ्यो । बोली प्रस्ट छैन तैपनि मनभित्र गुम्सिएर बसेका धेरै धेरै कुरा सुनाउन चाहनुहुन्थ्यो । आँखामा रोशनी थिएन तैपनि मलाई राम्ररी नियाल्न खोज्दै हुनुहुन्थ्यो । आँखामा भएका आँसु सुकेर सुक्खा भैसकेका थिए, शब्द शब्दमा मन भकानिथ्यो, मन रुन्थ्यो तर सुक्खा आँखाले साथ दिँदैनथ्यो । हामी जस्ता अनपढ, सोझा अनि गाउँघरका सबैको नजिकको साथी जस्तो थियो नेपाल बैंक । खै, कता हरायो, कता गयो भन्दै लामो सास तान्नुभयो।  बेग्लाबेग्लै नौवटा स्थान जनाउने नौ कोटहरू बुझाउने शब्दहरूबाट बनेको शब्द अपभ्रंश भएर बनेको नुवाकोट जिल्ला रमणीय मात्र होइन यसको आफ्नै ऐतिहासिक विशेषता पनि छ । नेपाललाई सार्वभौम सम्पन्न मुलुक बनाउन राजा पृथ्वीनारायण शाहले युद्धमा प्रयोग गरेको महत्त्वपूर्ण ऐतिहासिक जिल्ला मानिन्छ नुवाकोट । काठमाडौंबाट नजिक रमणीय र एक अलग ऐतिहासिक विशेषता रहेको यस जिल्लालाई सेरा दरबार, सात तले नुवाकोट दरबार, भैरवी मन्दिर अनि दुप्चेश्वर मन्दिरले अझ थप परिचित बनाएको देखिन्छ ।  काठमाडौंबाट नजिक मानिने यो जिल्ला पर्यटकीय रूपमा पनि विकसित हुँदै गइरहेको देखिन्छ भने नजिक र कम दूरीमा रहेको शाखाका रूपमा लिइन्छ त्रिशूली शाखालाई । द्वन्द्वकालभन्दा अघि नुवाकोटमा नेपाल बैंकका देउराली शाखा, ढिकुरे शाखा, चोकदे शाखा र त्रिशूली शाखासमेत गरेर जम्मा चार शाखा थिए । जसबाट हाम्रा ग्राहकहरूले राम्रै सेवा सुविधाहरू लिइरहेका थिए । सशस्त्र द्वन्द्व चलिरहेका समयमा यी सबै शाखाहरू हटाइए अनि एउटै शाखाका रूपमा त्रिशूली शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । अहिले पनि नुवाकोटका धेरै टाढाका ठाउँहरू घ्याङफेदी, भाल्छे, मेदान र उर्लिनी जस्ता ठाउँबाट ग्राहकहरू सेवा लिन आउनुहुन्छ । के गाउँ, के सहर, के सिधासादा, के बाठा, सबै प्रकारका ग्राहकहरूको भिड नेपाल बैंकको यस शाखामा हुने गरेको पाइन्छ । यहाँ आउने सबै ग्राहकहरूको एउटै इच्छा हुन्छ, विनाझन्झट छिटोछरितो सजिलै काम होस् अनि कर्मचारीको व्यवहार पनि सद् भावपूर्ण होस् । यसकारणले नै आमाको पनि यही इच्छा पनि हो अनि आमाको भावानात्मक सम्बन्धसँग जोडिएको, एक प्रकारको गहिरो अटूट आस्थाले भरिएको पनि थियो ‘नेपाल बैंक । नुवाकोटको सबैभन्दा ठूलो गाउँपालिका सूर्यगढी गाँउपालिकालाई सेवा दिने नेपाल बैंकको चोकदे शाखा पुनःस्थापना हुन सकेन । द्वन्द्वकालमा गएको नेपाल बैंक कहिले आउँछ, म पर्खाइमा छु नानी भन्नुभयो आमाले मसँग । श्रीमान् आर्मी हुनुहुन्थ्यो । छोरा फार्मेसी पढेर गाउँमै सानो औषधि पसल गर्दै थियो । म घर सम्हाल्थें । लामो कथा छ तर एउटै शब्दमा भन्नुपर्दा दुवैले नेपाल आमाका लागि ज्यान दिए । म एक्लो भएँ । पछि सरकारले दिएको पैसा लिन मैले यस नेपाल बैंकमा खाता खोलेँ । हुन त म पटक पटक नेपाल बैंक श्रीमान्सँग आइरहेकी हुन्थँे तर मेरा नाममा खाता थिएन । मेरा श्रीमान्को निधनले नेपाल बैंकमा सुरु भएको मेरो खाता तर मलाई खाताभन्दा पनि नेपाल बैंक प्यारो लाग्छ । यस बैंकमा आएपछि त्यतिबेलाका सम्झनाहरू ताजा हुन्छन् मेरा स्मृतिमा । नेपाल बैंकमा जाँदा धेरै कुरा सोध्न मन लाग्थ्यो अनि उहाँ व्यस्त भएका बेला म गार्डलाई अनि त्यहाँ सरसफाइ गर्ने बहिनी थिइन् उनैसँग सबै कुरा सोध्थें । एक दिन मलाई उहाँले खुब चासो लिएकी छौ त तिम्रो नाममा पनि खोलिदिन्छु नि खाता, त्यसमा म केही पैसा राखिदिन्छु अनि तिमी बाख्रा र कुखुरा खुब पाल्नु अनि मेरो पेवा भन्दै बेचेर पैसा धेरै बनाउनु भनेर भन्नुभएको थियो । त्यो त सपना नै रह्यो मेरो । औषधि पसल पनि छोड्नुपर्‍यो । चोकदेमै खोलेको थिएँ खाता, त्यसको केही समयपश्चात् बैंक गाउँबाट सरेर सहर गयो, पछि फेरि आउँछ भन्नुहुन्थ्यो तर कहिल्यै आएन । हामी जस्ता अशक्तहरूलाई धेरै गाह्रो भयो । निल्नु नओकल्नु भयो । यति टाढा छ बैंक आउन । त्यो बैंक फेरि ल्याउन मिल्दैन र ? कसलाई भन्नुपर्ने हो नानी ? सरकारले किन यस्तो हामीहरूको पीडा नबुझेको ? हामी जस्ता अशक्तहरूको गुनासो पनि सुन्ने ठाउँ छ र भनेको ? ए नानी ! ल न भन्दिनुपर्‍यो सरकारलाई । मेरो भदो छोरा हो यो, न मैले अधिकार दिन मिल्छ, न आफै आइरहन सक्छु । एक त साधन पनि समयमा पाइन्न अनि दिन नै माया मारेर आउनुपर्छ । एक पटक त म यतै बास बस्नुपरेको नि नानी । लोकल गाडी हिँडिसकेछ अनि यतै बास बस्नुपर्‍यो तर म आफन्तकहाँ गएर बसेँ । एक हजार रकम लिन आउन पाँच सय खर्च गर्नुपर्छ नानी । घर नजिकै अरू दुईटा बैंक छन् छ न त तर जान मन लाग्दैन मलाई ती बैंकमा । किन किन यही बैंकसँग मेरो आत्मीयता छ अनि बढी विश्वास पनि । तर नानी मलाई यहाँसम्म पटक-पटक आइरहन नपर्ने गरी मिलाइदिनु प¥यो भन्दै व्यथा पोख्दै भन्नुभयो, ‘अब त आउनुपर्ने हो, फर्किनुपर्ने हो, लामो समय भयो क्यार आउँछु भनेर गएको हो । सबैले भन्छन् आउँछ, हाम्रो गाउँमा नेपाल बैंक फेरि आउँछ । मलाई विश्वास छ नानी नेपाल बैंक म नमर्दै फर्केर मेरो गाउँ आउँछ, म पर्खाइमा हुनेछु ।’’ (लक्ष्मी पण्डित नेपाल बैंककी उपप्रबन्धक हुन् ।)