डरको छायामा बैंकिङ, जीवनभरको प्रतिष्ठा क्षणभरमा खरानी
नेपालमा औपचारिक बैंकिङ इतिहासको आरम्भ वि.सं. १९९४ कात्तिक ३० गते नेपाल बैंकको स्थापनाबाट भएको मानिन्छ । यस बैंक स्थापनाको झन्डै दुई दशकमा २०१३ सालमा आएर नियामक निकायका रूपमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि नै नेपाली मुद्रा चलनचल्तीमा आउन थाले भने बैंकिङ प्रणाली विकास गर्ने महत्वपूर्ण कामहरू पनि अघि बढेको पाइन्छ । यस क्रममा तत्कालीन नेपाल औद्योगिक विकास निगम लिमिटेडको वि.सं. २०१६ सालमा स्थापना भएको र यसको ६ वर्षपछि वि.सं. २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंक र २०२४ सालमा कृषि विकास बैंकको स्थापना हुन गयो । यसरी पहिलो बैंकका रूपमा गौरवपूर्ण इतिहास बोकेको नेपाल बैंक स्थापनापछिको ३० वर्षका अवधिमा नेपाल राष्ट्र बैंक, नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको स्थापना हुनु नेपालको बैंकिङ प्रणालीको विकास र विस्तारमा महत्वपूर्ण फड्को थियो । वि.सं. २०४१ मा विदेशी बैंकको संयुक्त लगानीमा नेपाल अरब बैंक लिमिटेड (हालको नबिल बैंक) को स्थापनासँगै नेपालको बैंकिङ इतिहासले थप उचाइ प्राप्त गर्यो भने वि.सं. २०४६ मा नेपालमा प्रजातन्त्रको पुनर्बहाली भएपश्चात् देशले लिएको उदारीकरण र निजीकरणको नीतिले नेपालको बैंकिङ इतिहासमा निजी क्षेत्रको प्रवेश खुकुलो मात्र भएन, क्रमशः बैंक तथा वित्तीय संस्थाहरूको विस्तार र प्रतिस्पर्धा समेत आश्चर्यजनक रूपमा बढ्दै गयो । यसरी बैंक तथा वित्तीय संस्थाहरूको अपत्यारिलो विस्तारसँगै यस क्षेत्रमा बढेका चुनौतीहरूको सामना गर्न समयसापेक्ष विभिन्न कानुनी प्रबन्धहरू पनि हुँदै गए र अन्ततः नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्वका लागि लचिलोदेखि कसिलो मर्जरको नीति समेत लागु गर्नुपर्यो । त्यसयता बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घट्दै जाँदा अहिले नेपालमा वाणिज्य बैंक २०, विकास बैंक १७, वित्त कम्पनी १६, लघुवित्त वित्तीय संस्था ५१ र पूर्वाधार विकास बैंक १ गरी १०५ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । सशस्त्र द्वन्द्वकाललगायतका विभिन्न प्रतिकूल कालखण्ड हुँदै गुज्रेको नेपालको बैंकिङ क्षेत्रमा अनेक कारणहरूले गर्दा केही वर्ष यता खराब कर्जाको दबाब उच्च देखिँदै आएको छ । हुनत विगतमा पनि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको वित्तीय स्वास्थ्य बिग्रँदा सघन उपचार गर्नु परेको स्मृतिमा रहेकै छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ साउन मसान्तसम्मको सूचकतर्फ दृष्टि दिने हो भने बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ५.६६ प्रतिशत खराब कर्जा रहेको र त्यसमध्ये ‘ग’ वर्गका वित्त कम्पनीमा खराब कर्जाको अनुपात सबैभन्दा उच्च ९.८९ प्रतिशत पुगेकाले खराब कर्जाको दबाबले बैंक तथा वित्तीय संस्थालाई पिरोल्नु स्वाभाविक छ । यसैगरी ‘ख’ वर्गका विकास बैंकको खराब कर्जा ५.७७ प्रतिशत र ‘क’ वर्गका वाणिज्य बैंकको खराब कर्जा ५.५६ प्रतिशत रहेको मानिन्छ । यो समग्र तस्बिर हेर्दा बैंकिङ क्षेत्र अहिले ऋण असुलीका अग्ला चुनौतीहरूमाझ उभिएको प्रस्टै देख्न सकिन्छ । ती चुनौतीहरू अपरिचित पनि छैनन्, तर ती चुनौतीहरूलाई चिरेर जाने सामूहिक क्षमता र कौशल भने बैकिङ क्षेत्रले अपेक्षित मात्रामा देखाउन सकिरहेको छैन । यदाकदा संस्थागत सुशासनसँग जोडिएका घटनाहरू हुन् वा मानवीय भुलवश भएका घटनाहरू हुन्, ती घटनाहरूलाई सामान्यीकरण गरेर देशमा बैंक तथा वित्तीय संस्था जस्तो संवेदनशील क्षेत्रका विरुद्ध निर्माण गरिएका भाष्य र समय समयमा विभिन्न नाममा सामाजिक सञ्जालका माध्यमबाट भइरहने दुष्प्रचारसहितका गतिविधि, दबाब, धम्की, आक्रमण र आक्रमण प्रयासले ऋण लिएर नियतवश नतिर्नेहरूको मनोबल बढाएको छ र बैंकिङ क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल खस्किएको छ । आफ्नाक्षमता भएर पनि कर्जाको सावाँ ब्याज नतिर्ने एकथरी छन् भने आफ्नो कर्जा तिर्नसक्ने क्षमतामा आएको कमीले गर्दा कर्जाको सावाँ ब्याजको किस्ता तिर्न नसक्ने अर्काथरी पनि छन् । तिर्न नचाहेर नतिर्नेहरू र तिर्न नसकेर नतिर्नेहरू निश्चय नै एउटै कोटिका होइनन् । कर्जाको ब्याजदर एकल अङ्कमा आइसक्दा पनि कर्जा विस्तारले गति लिन सकेको छैन । यद्यपि पछिल्लो समयमा कर्जा प्रवाहमा सुधार देखिएको भन्ने समाचार सार्वजनिक भएको छ । निजी क्षेत्र “पर्ख र हेर” को अवस्थामै रहेको छ । तीन खम्बे अर्थनीतिअन्तर्गतको एउटा खम्बा सहकारी क्षेत्र नै धरमराएको छ भने व्यापार व्यवसाय चलायमान हुन सकिरहेको छैन । यस्तै बेला प्राकृतिक विपत्तिको बज्रपातसमेत थपिएको छ । खरिद गर्ने व्यक्तिहरूको कमीले गैरबैंकिङ सम्पत्ति थुप्रिएर बसेकै कारण बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि ठूलो रकम छुट्याउनु परेको छ । तर सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नेतर्फ धेरै वर्षअघिदेखि सुरु भएको छलफल/विमर्शले नीतिगत स्थान पाए पनि अझै जन्मिन भने सकिरहेको छैन । ऋण असुली प्रक्रिया आफैमा जटिल, संवेदनशील र संस्थागत सुशासनसँग जोडिएको प्रक्रिया पनि हो । यसर्थ ऋण असुलीका सन्दर्भमा पहिचान भएका चुनौतीहरूको लामै सूची हुन सक्ने भए पनि ती सबै चुनौतीहरूको यस सानो आलेखमा चर्चा गर्न सम्भव नभएकाले बैंक तथा वित्तीय संस्थाले आफैँले लिलाम बिक्री गरी ऋण असुल उपर गर्दाका केही चुनौतीहरूको सङ्क्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । धितो लिलाम बिक्रीको प्रक्रियामा अवरोध पुर्याउने प्रवृत्ति: सर्तबमोजिम ऋणीले कर्जा चुक्ता नगरेमा र कर्जा दुरुपयोग गरेमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ ले लिलाम बिक्री वा अन्य कुनै व्यवस्था गरी कर्जा असुल उपर गर्न सक्ने अधिकार बैंक तथा वित्तीय संस्थालाई दिएको छ । यस क्रममा विभिन्न सूचनाहरू दिनुपर्ने हुन्छ । तर सकेसम्म ऋणीहरु असुली प्रयोजनका कुनै सूचनाहरू नै बुझ्न मान्दैनन् । सूचना बुझे वा नबुझे पनि खास गरेर बैंकले कर्जा असुल उपरका निम्ति तरताकेता सुरु गरेदेखि लिएर कर्जा चुक्ता गर्ने सूचना प्रकाशित गरेपछि होस् वा धितो लिलाम बिक्रीको सूचना प्रकाशित गरेपछि होस्, कर्जा चुक्ता गर्नेतर्फ भन्दा ऋणी स्वयं, धितो दाता वा निजका परिवारका सदस्यहरुबाट सो प्रक्रियामा अवरोध गर्न हरहिसाब, निषेधाज्ञा, अंश, धितो लिखत बदर आदि विभिन्न नामका मुद्दाहरूको साहारा लिने प्रवृत्ति छ । प्रथमतः बजारको अवस्थाले यसै पनि धितो लिलाम सकार गर्न/कबुल गर्न चाहनेकै कमी छ । द्वितीयतः कोही सकार गर्न तयार नै भए पनि डर, धाकधम्की र दबाब दिएर सकार गर्न दिइँदैन । केही गरी कसैले धितो सकार गरेमा पनि ऋणी वा ऋणीका परिवार खडा भएर लिलाम बदरसमेतका रिट/मुद्दाहरू दायर गरी सकार सम्पत्तिको हक हस्तान्तरणमा रोक लगाउने र भोगचलन गर्न नदिने समस्याहरू देखिँदै आएका छन् । जब कि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ (९) ले साविक धनीले भोगचलन गर्न दिन इन्कार गरेमा वा बाधा अवरोध गरेमा नेपाल सरकारको सम्बन्धित निकायले भोगचलन गराइदिनुपर्ने व्यवस्था भए पनि अदालतमा मुद्दा परेको वा अन्य कुनै बहाना देखाएर सम्बन्धित निकाय प्रायः पन्छिने र बेवास्ता गर्ने प्रचलनले गर्दा लामो समय पुँजी पनि फस्ने, सम्पत्तिको लाभ लिन नपाइने, ऋणी/ऋणीका परिवारले रिसइबी राख्ने र विवाद बोकेर तनावमा बाँच्नुपर्ने भयले हतपत्ती कोही सकार/खरिद गर्न तयार नै हुँदैनन् । बैंकको लिलामी नै सकार गर्नुहुँदैन भन्ने गलत सन्देश प्रवाहले खराब कर्जा असुलीमा अपेक्षित सफलता हासिल हुन सकिरहेको छैन । स्थानीय तहको सहयोगमा कमी धितो लिलाम बिक्रीका क्रममा सकारकर्ताका नाममा दा खा नामसारी गरिदिन सम्बन्धित स्थानीय तहले घर बाटो र कानुनअनुसार भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी सिफारिसलगायतका सिफारिस आवश्यक पर्ने हुन्छ । तर सम्बन्धित पालिका वा सोको वडा तहले लामो समय सिफारिस नै नगर्ने वा अल्झाएर राख्ने समस्या पनि भोग्नुपरिरहेको छ । यस्ता सिफारिस नपाएको समस्याबाट पीडित बैंकहरूले उच्च अदालतमा परमादेशसमेतको रिट नै लिएर जानुपरेको अनेक दृष्टान्त नभएका होइनन् । अर्कातिर धितो लिलाम बिक्रीका क्रममा कसैले नसकारेपछि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक आफैँले सकार गरी दा खा गराउने प्रयोजनका लागि पञ्चकृते मोल कायम गर्ने क्रममा समेत अनुरोध पत्रका बाबजुद पालिकाका तर्फबाट नियतवश उपस्थित नभएर लामो समय ऋण असुली प्रक्रिया अड्किएर बस्ने र बाँकी प्रक्रिया अघि बढाउन नसकिने अवस्थासमेत सामना गर्नुपरेकै छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा सर्वसाधारण जनताकै निक्षेप हो भन्ने यथार्थलाई आत्मसात् गरेर स्थानीय तहले छिटो छरितो सेवा प्रवाह गरी सहयोग गर्नुपर्नेमा अपेक्षित सहयोग प्राप्त नहुनु पनि ऋण असुलीका निम्ति एक चुनौती बन्ने गरेको छ । धितोको बजार मूल्यलाई लिएर हुने विवाद कर्जा लगानी गर्दा स्वीकारिएको धितोको मूल्य कर्जा असुली गर्दा कम भयो भन्ने प्रायः विवाद आइरहेकै हुन्छ । यति धेरै मूल्य जाने सम्पत्ति यति कम मूल्यमा बैंक तथा वित्तीय संस्थाले लियो वा तेस्रो व्यक्तिलाई दियो भनेर सृजना हुने विवाद मिडिया र अदालतसम्म पुगिरहेको हुन्छ । लगानी गर्दा नै धितो मूल्याङ्कन सही भयो भएन भन्ने प्रश्न एकातिर उठिरहेको हुन्छ भने अर्कातिर असुली गर्दा अघि स्वीकारेको मूल्यभन्दा कममा किन तेस्रो पक्षलाई सकार गराइयो वा सुम्पियो भन्ने सदावहार विवाद आइरहेको हुन्छ । नेपाल राष्ट्र बैंकको संशोधित इ. प्रा. निर्देशन नं २ को बुँदा नं ११ को उपबुँदा (१) ले “कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलाम प्रक्रिया पूरा गर्दा समेत उक्त धितो बिक्री नभएका खण्डमा मात्र आफँैले सकार गर्नुपर्नेछ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा मूल्याङ्कन गर्नुपर्नेछ” भनी गरेको व्यवस्था विपरीतका दाबी र विवादहरू पनि बारम्बार आउने गरेका छन् । लिलाम गर्दाको प्रचलित धितो बजार मूल्य यति नै हो भनेर मापन गर्ने कुनै वैज्ञानिक आधार देखिँदैन । यस सम्बन्धमा भावना श्रेष्ठ वि एनआइसि एसिया बैंक लि. समेत भएको उत्प्रेषण मुद्दामा सर्वोच्च अदालतले “घरजग्गाको मूल्यले समग्र पक्षसँग सम्बन्ध राख्ने चलायमान प्रवृत्ति राख्ने हुन्छ, जसका कारण समयको अन्तरालसँगै मूल्याङ्कनमा पनि सामान्य घटीबढी भइरहने नै हुन्छ । यस्ता सामान्य घटीबढी मूल्याङ्कनलाई आधार बनाई कसैले पनि सकार नगरेको धितो सुरक्षण बैंक आफैले सकार गर्नबाट रोक लगाउने हो भने समग्र बैंकिङ प्रणालीमा नै प्रतिकूल असर पुग्न गई अन्ततोगत्वा सर्वसाधारणको निक्षेपको सुरक्षामा नै सङ्कट उत्पन्न हुने हुन्छ ।” भनी बोल्नुले पनि मूल्य घटबढ हुनै सक्दैन भन्ने बुझाइ खण्डित भएको छ । तर तेस्रो पक्षले धितो सकार/कबोल गर्दा यदाकदा मालपोतको मूल्याङ्कनभन्दा पनि न्यून हुने र त्यसलाई पनि स्वीकृत गरिदिने गरिएको पाइन्छ । बैंक तथा वित्तीय संस्था र सकारकर्ता मिलेर लिलामीको औपचारिकता पूरा गरी निकै सस्तोमा धितो सम्पत्ति खाइदिन्छ र बिचल्ली पारिदिन्छ भन्ने भाष्य बनेका र बनाइएका छन् । यही मूल्यको विषयले सामाजिक सञ्जाल रङ्गिने र अभियानका रूपमा समेत अनेक अवाञ्छित एवम् दबाबमूलक गतिविधि हुने हुँदा गलत सन्देश प्रवाह भई ऋण असुली प्रभावित हुने गरेको छ । ज्यादै न्यून मूल्यमा धितो लिलाम गरेको भनेर न्यायिक हस्तक्षेप भई बदरसमेत भएका छन् । धितोको प्रचलित बजार मूल्य यति नै हो भनेर ठ्याक्कै मिलाउन सम्भव नहुने यथार्थलाई आमरूपमा बुझाउन नसक्दा भ्रमको खेती चलिरहेको छ । सकारकर्ताको स्वार्थ मात्र नहेरी धितोदाताका पक्षमा पनि बैंक तथा वित्तीय संस्थाबाट निर्णय भइरहेकै हुन्छ, जुन प्रचारमा आउने विषय होइन । कार्यरत जनशक्तिको सुरक्षा चिन्ता सुरक्षित र सम्मानित भएर बाँच्न चाहने मानवीय स्वभाव नै हो । कुनै पनि कर्जा प्रवाह गरिसकेपछि उक्त कर्जाको नियमित अनुगमनमार्फत उक्त कर्जा सदुपयोग भए नभएको, व्यवसायबाट हुने आम्दानीको सदुपयोग भए नभएको सम्बन्धमा नियमित अनुगमन गरी ऋणीले समयमा सावाँ ब्याजको किस्ता बुझाएको नबुझाएको नियमित अनुगमन गर्नु आवश्यक हुन्छ । तर केही वर्ष यता सबै ठाउँमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू नियमित परियोजना अनुगमनमा जान सक्ने वा असुलीका लागि ऋणीकहाँ नै ताकेताका लागि प्रत्यक्ष उपस्थित हुन सक्ने गरी सुरक्षाको भरपर्दो वातावरण छैन । कार्यस्थलमै पनि सुरक्षा खतरा मोलेर काम गर्नुपर्ने अवस्था छ । उच्च मनोबलका साथ कानुनले दिएको अधिकार प्रयोग गरी दैनिक काम कारबाही गर्न र कर्जा असुली प्रक्रिया समयमै अघि बढाउन सक्ने वातावरणको कमी छ । कर्जा दुरुपयोग गर्ने तथा समयमा सावाँ ब्याजको किस्ता नतिर्ने ऋणीहरूको चल, अचल सम्पत्ति लिलामी र कब्जा गर्ने प्रक्रियामा विभिन्न डर र धाकधम्की दिने, राजनीतिक दबाब दिने, दुर्व्यवहार गर्ने, घेराउ गर्ने, कर्जा नतिर्न उक्साउने, बैंक तथा वित्तीय संस्थाका बारेमा विभिन्न दुष्प्रचारहरू गर्ने, सामाजिक सञ्जालमा भ्रम फैलाउने र भीड जम्मा गरेर कर्मचारीलाई तर्साउने जस्ता अवाञ्छित क्रियाकलापले गर्दा डरको छायाँमुनि बसेर कर्मचारीहरूले काम गर्नुपर्ने बाध्यता छ । साथै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ आकर्षित हुने कसुर र काम गर्ने क्रममा अनुभवको तथा ज्ञानको कमी, अत्यधिक कार्यबोझसमेतले हुने त्रुटिहरूलाई पनि मुलुकी अपराध संहिता, २०७४ जारी भए यता बैकिङ क्षेत्र लक्षित ठगी र आपराधिक विश्वासघात जस्ता मुद्दाहरू प्रहरीमा दर्ता हुने प्रवृत्ति डरलाग्दो ढङ्गले बढिरहेको छ । आकर्षित नै नहुने कानुनको प्रयोग गरेर अनुसन्धान र अभियोजन गरिँदा जीवनभर लगाएर व्यक्तिले आर्जन गरेको प्रतिष्ठा क्षणभरमा खरानी भई अपूरणीय क्षति पुगेको पीडादायी दृष्टान्तहरू दोहोरिन छाडेका छैनन् । कानुनको दुरुपयोग गरी यस्तो असुरक्षित, उकुसमुकुसयुक्त र अन्योलपूर्ण वातावरणले राम्रा जनशक्तिहरू पनि सेवाबाट पलायन भएर वैकल्पिक रोजगारी वा विदेश रोजिरहेका छन् भने उत्कृष्ट जनशक्ति पनि यस क्षेत्रमा अपेक्षित मात्रामा आकर्षित हुन सकिरहेको छैन । सम्पत्ति व्यवस्थापन कम्पनीको अभाव लामो समयदेखि सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकतालाई लिएर बैंक तथा वित्तीय क्षेत्रमा चर्चा र बहस हुँदै आएको भए पनि हालसम्म पनि यसले मूर्त रूप लिन सकेको छैन । बैंक तथा वित्तीय संस्थाको ऋण असुली कमजोर रहेपछि खराब कर्जा बढेको र यसले गर्दा गैरबैंकिङ सम्पत्तिको दबाब पनि बढ्दै गएका सन्दर्भमा सम्पत्ति व्यवस्थापन कम्पनीको खोजी हुनु अस्वाभाविक होइन । बैंक तथा वित्तीय संस्थाको कर्जामा घरजग्गा धितोको हिस्सा ठूलो रहेपछि कर्जा असुलीका क्रममा आफैले सकार गरेको गैरबैंकिङ सम्पत्तिमा पनि घरजग्गाको हिस्सा बढी हुने भएकाले यस्तो सम्पत्ति बिक्री नभई त्यसै थुप्रिएर बस्दा बैंक तथा वित्तीय संस्थाको पुँजी तथा स्रोत परिचालनमा समेत दबाब पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने प्रयोजनका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गरी सरकारलाई बुझाउने घोषणा गरेको र चालु आ व को बजेटमा पनि समयसीमासहित यस्तो कम्पनी स्थापना गर्ने बुँदा समावेश भएकाले यसको प्रतीक्षा भइरहेको छ । हुनत यो मौसमी माग जस्तो बेला बेलामा उठ्ने र सेलाउने पनि गरेको छ । धितो लिलाम गरेर ऋण असुल गर्न नसकेपछि निष्क्रिय कर्जाको दर (एनपीएल) र लिलाम नभएर बैंकहरूमा थन्किएको निष्क्रिय सम्पत्ति (एनपीए) बढ्दो छ । घरजग्गा कारोबारमा आएको मन्दी, आर्थिक शिथिलता, विपत्तिजन्य घटना, राजनीतिक उथलपुथल, सहकारी क्षेत्रका समस्या आदि कारणहरुले गैरबैंकिङ सम्पत्ति बिक्री गर्न कठिनाइ भइरहेको छ । भारतमा “ब्याड बैंक” पनि भनिने यसप्रकारको कम्पनीको स्थापनाले नेपालमा निष्कृय कर्जा/निष्क्रिय सम्पत्तिको विद्यमान समस्यालाई कुन हदसम्म समाधान गर्न सकिएला भन्ने विषयमा कस्तो कानुन आउँछ, कसरी काम गर्छ र कति बलियो बन्छ भन्ने लगायतका विषयमा निर्भर रहला । हुनत विगतमा बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन र नियमावलीको निर्माण भएर ऋण असुली न्यायाधिकरण स्थापना हुँदा पनि खराब ऋणको आकार जुन मात्रामा घट्छ भन्ने अपेक्षा गरिएको थियो, त्यस अनुरुप परिणाम आउन नसकेको अनुभव नभएको होइन । ऋण असुलीमा हाल रहेको प्रक्रियागत उल्झन सम्पत्ति व्यवस्थापन कम्पनीतिर पनि सर्ने भयो भने प्रभावकारी नहुने जोखिम छ । तर यस्ता कम्पनीको बाह्य अनुभव र असल अभ्यासलाई समेत ध्यानमा राख्ने हो भने पक्कै पनि थुप्रिएर बसेको गैरबैंकिङ सम्पत्तिको आकार घटाउन योगदान पुग्दछ । बैंक तथा वित्तीय संस्थाले बैंकिङ सेवामै केन्द्रित भएर लगाउनुपर्ने समय र ऊर्जा कर्जा असुली र गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका निम्ति पनि लगाउनुपर्ने बाध्यतालाई यस्तो कम्पनीको स्थापनाले कम गर्न सक्ने हुन्छ । खराब कर्जाको बोझ उठाउनै नसकिने विन्दुमा पुग्नु अगावै यसप्रकारको कम्पनीको जन्म भई सञ्चालनमा आउनुपर्नेमा हालसम्म यस कम्पनीको स्थापना र सञ्चालनमा आउन नसकेकाले ऋण असुली प्रक्रिया चुनौतीपूर्ण हुन पुगेको छ । कर्जा लगानीका समयमा तयार गरिने लिखतहरू मुलुकी ऐनलाई विस्थापित गरेर संहिताबद्ध कानुनहरू जारी भई प्रचलनमा रहिआएको छ । संहिता र अन्य कानुनहरूमा आएको परिवर्तनसँग मेल खाने गरी लिखतका ढाँचा र बेहोरालाई आवश्यक परिमार्जन गरी तयार गर्नेदेखि लिएर लिखतहरूमा पुर्याउनुपर्ने रीतसमेतमा पर्याप्त ध्यान जानु आवश्यक हुन्छ । व्यक्तिगत जमानत दिनेको दायित्व सीमित वा असीमित के हुने भन्ने प्रश्न न्याय र कानुनका क्षेत्रमा समेत बारम्बार उठिरहेको पाइन्छ । यस्तो जमानत एकाघर परिवारका सदस्यका रूपमा वा तेस्रो पक्षका रूपमा दिँदा होस् वा संस्थागत कर्जा प्रवाह हुँदा सञ्चालक/एकल सञ्चालक/आधारभूत सेयरधनीले दिँदा होस्, लिखतमा कानुनबमोजिम दायित्व परिभाषित हुने गरी बोलिनुपर्छ । यस्तो दायित्वपश्चात् दर्शी वा भविष्यदर्शी के हो खुल्नुपर्छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनी व्यवस्था र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम गर्नुपर्ने विभिन्न लिखत, तमसुक, मञ्जुरीनामा, धितो जमानी आदिमा नछुटाउनुपर्ने बेहोरा, मिति, ठेगाना र सहीछाप आदि छुट्न जाँदा तथा माग गर्नुपर्ने कागजातहरू माग गर्न छुट हुँदा कर्जा असुली गर्ने प्रक्रियामा प्रवेश गरेपछि त्यसका प्रभावहरू प्रकट हुन थाल्छन् र यस्ता कमजोरी/छिद्रहरूको लाभ उठाएर ऋणी, धितोदाता वा व्यक्तिगत जमानतकर्ताले खेल्ने, उम्किने वा कानुनी उल्झन बढ्ने जोखिमसमेत हुन्छ । कतिपय लिखतहरूमा बेहोरा लेखिनुपर्ने ठाउँ खाली रहने, मिति खाली छोडिदिने र दस्तखत र छाप हुनुपर्ने ठाउँमा दस्तखत नै छुट्ने, तयार भएको लिखत राम्ररी रुजु नगर्ने, साक्षीको नाम लेखेर दस्तखत गराउन बिर्सने जस्ता कर्जा लगानीका बखत हुने मानवीय त्रुटिहरू पनि ऋण असुलीका क्रममा बाधक हुन्छन् । कर्जा लगानीकै समयमा नै त्रुटिरहित लिखतहरू तयार नहुने हो भने असुलीको प्रक्रियामा प्रवेश गरेपछि यसको प्रभाव देखिन गई असुलीको अपेक्षित गति र परिणाम हासिल हुन कठिन हुन्छ । समय सधँै एकनास हुँदैन । हिजो असल कोटिमा रहेको कर्जा विभिन्न परिस्थितिजन्य बाध्यताले पछि खराब कर्जामा परिणत भएका दृष्टान्तहरू पनि छन् । सबै रोगको एउटै उपचार सम्भव नभएजस्तै सबै खराब कर्जा असुलीका निम्ति लिलाम बिक्री मात्रै एउटै अचूक उपाय नहुन पनि सक्दछ । अर्कातिर कर्जा स्वीकृत हुँदाकै समयमा ग्राहकको वित्तीय अवस्था कमजोर रहेको, कर्जा तिर्ने क्षमता पर्याप्त नभएको वा धितो तथा कारोबारसम्बन्धी आवश्यक परीक्षण अपर्याप्त रहेको अवस्था उपर ध्यान नदिई वा नपुगी कर्जा प्रवाह भएको छ भने असुलीमा जटिलता हुन्छ नै । तरलता बढेका बेला परियोजनाको आवश्यकताभन्दा बढी कर्जा प्रवाह भएका कारण पनि कर्जा असुलीमा कठिनाइ हुने गरेको छ । तसर्थ संस्थागत सुशासन थप बलियो बनाएर बैंक तथा वित्तीय क्षेत्रका विरुद्ध भइरहेका अनेक दुष्प्रचार र विभिन्न नाममा भइरहेका दबाबमूलक गतिविधिबाट सृजित चुनौतीपूर्ण परिस्थितिलाई कुशलता, संयमता र सुझबुझका साथ सम्हाल्दै र सर्वसाधारणको विश्वासलाई निरन्तर कायम राख्दै बैंक तथा वित्तीय संस्थाले आपसी एकता र समन्वयका साथ अघि बढ्न सकेमा खराब कर्जाको बोझलाई क्रमशः घटाउनै नसकिने होइन किनभने चुनौतीरहित व्यवसाय कुनै पनि छैन र यसबाट भागेर कहीँ पुगिने पनि होइन । चुनौतीका जे जस्ता चाङ भए पनि विगतका दिनहरूमा प्राप्त अनुभवबाट यथोचित शिक्षा लिँदै खराब ऋण असुल उपर गर्न दृढ इच्छाशक्ति देखाउनुपर्ने र सर्वसाधारणको बैंक तथा वित्तीय संस्था उपरको अटुट विश्वासको कडी टुट्न दिन नहुने खाँचो रहेको छ । (सेढाई वरिष्ठ अधिवक्ता हुन् । नेपाल बैंकको ९०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित वार्षिकोत्सव विशेषाङ्क, २०८३ बाट साभार गरिएको हो ।)