मनिषा बुढाथोकी

पर्यटकलाई हिमालको काखमै छोडेर फर्किएपछि...

काठमाडौं । विश्वका ५० भन्दा बढी हिमाल आरोहण गरिसकेका अनुभवी रुसी पर्वतारोही कोन्स्टान्टिन स्मिर्नोभले ८ हजार ४८५ मिटर अग्लो मकालु हिमालको चुचुरो चुम्ने योजना बनाए । यही योजनासहित उनी २०८२ चैत २६ गते नेपाल आइपुगे । स्मिर्नोभले मकालु आरोहणका लागि मकालु एडभेन्चरबाट १४ हजार ६ सय अमेरिकी डलरको गाइडसहितको पूर्ण प्याकेज लिए । मकालु एडभेन्चरले उनलाई गाइडका रूपमा भजुराम गुरुङ उपलब्ध गरायो । त्यसपछि २०८३ वैशाख २३ गते उनी गाइड गुरुङसँगै आधार शिविरबाट आरोहण यात्रामा निस्किए । तीन दिनपछि अर्थात् वैशाख २६ गते उनले ८ हजार ४८५ मिटर अग्लो मकालु हिमालको चुचुरो सफलतापूर्वक चुमे । मकालुको चुचुरोमा पुग्नु आफैमा एउटा कठिन उपलब्धि हो । तर, चुचुरोमा पुग्दाको खुसी लामो समय टिक्न सकेन । अवरोहणका क्रममा भारी हिमपात भएपछि उनको यात्रा जोखिमपूर्ण बन्दै गयो । चुचुरोमा पुग्न जति कठिन थियो, त्यहाँबाट फर्कन त्योभन्दा बढी चुनौतीपूर्ण बन्यो । अवरोहणका क्रममा जीवन-मरणको संघर्ष गर्नुपर्यो ।  हिमपातका कारण स्थिर डोरी (फक्स्ड रोप) तान्नसमेत कठिन भइरहेको थियो । यस्तै, कठिन अवस्थामा आरोहीलाई सहयोग गर्न गाइडको व्यवस्था गरिएको हुन्छ । तर, स्मिर्नोभले अवरोहणका क्रममा गाइडबाट आवश्यक सहयोग पाउनु त परको कुरा हो, उल्टै एक्लै  छाडिए । ‘रात पर्न लागेकाले गाइडले छिटो हिँड्न भन्दै आफूलाई हतार गर्दै थियो,’ उनले भने, ‘गाइडको टर्चको ब्याट्री सकिन लागेको हुन सक्ने ठानेर आफूसँग भएको टर्चसमेत दिएँ । तर टर्च पाएपछि गाइड मभन्दा अगाडि छिटो छिटो हिँड्न थाल्नु भयो । म एक्लै भएँ ।’ गाइडले उनलाई बाटोमै छाडेपछि स्मिर्नोभ करिब ७ हजार ७०० मिटरको उचाइमा एक्लै भए । अत्यधिक थकानका कारण उनी त्यहीँ निदाए ।  वैशाख २७ गते । बिहान करिब ४ बजेर ४९ मिनेट । झन्डै ७ घण्टा २० मिनेटपछि अत्यधिक चिसोका कारणले उनको निद्रा खुल्यो । त्यतिबेला उनीसँग न अक्सिजन थियो, न कठ्याङ्ग्रिँदो चिसोबाट जोगिने पर्याप्त व्यवस्था । देब्रे हातमा पञ्जासमेत थिएन । न स्लिपिङ ब्याग थियो, न टेन्ट । आरोहणका लागि पैसा तिरेर लिएको गाइड पनि साथमा थिएनन् । अत्यधिक चिसोका कारण उनको शरीरले काम गर्न छाड्न थालेको थियो । उनले भने, ‘रातभर चिसोले मेरो शरीर शून्य भएको थियो । मेरो गाइडले म रातभर एक्लै हुँदा न खोजी गर्नु भयो, न कसैलाई उद्धारका लागि जानकारी गराउनुभयो ।’ जीवन र मृत्युबीचको दोसाँधमा पुगेपछि स्मिर्नोभले आफूसँग भएको गार्मिन मेसेन्जर नामक स्याटेलाइट कम्युनिकेटर उपकरणको आकस्मिक बटन थिचे । त्यसपछि उनको आपत्कालीन संकेत अमेरिकाको टेक्ससस्थित गार्मिन एसओएस रेस्पोन्स सेन्टरमा पुग्यो । उक्त केन्द्रले उनको परिवार र मकालु एडभेन्चरका म्यानेजिङ डाइरेटर (एमडी) मोहन लम्साललाई सम्पर्क गर्यो ।  तर पनि उनको तत्काल उद्धार हुन सकेन । डिहाइड्रेसन, अक्सिजनको अभाव र कठ्याङ्ग्रिँदो चिसोबीच स्मिर्नोभले आफ्नो यात्रा जारी राखे । करिब ७ हजार ६०० मिटरको उचाइमा पुगेपछि हिउँले पुरिएको स्थिर डोरी (फिक्स्ड रोप) को समस्या पार गरे । कठिन यात्राका क्रममा टाढैबाट झण्डा बिन्दु (फ्ल्याग प्वाइण्ट) देखेपछि आफू सही बाटोमा रहेको संकेत पाए । उनले ढुक्कको लामो स्वास फेरे ।  साँझ करिब ५ बजेर ४० मिनेटमा उनी क्याम्प ३ पुगे । तर त्यहाँ पुगेपछि पनि पहिले नै पुगिसकेका गाइडले आफूलाई न त तातो पानीको व्यवस्था गरिदिए, न अक्सिजन लगाइदिए । थकान, डिहाइड्रेसन र शरीरमा पानीको अभावकाबीच उनी त्यहीँ शिविरमा निदाए ।  वैशाख २८ गते राति करिब १ बजेतिर उद्धारका लागि आएका लाक्पा रिन्जिन शेर्पाले बल्ल उनलाई अक्सिजन उपलब्ध गराए । थप हिउँले खानबाट जोगाउन चिसिएका उनका खुट्टा बुटबाट निकालेर सुत्ने झोलामा राखियो । त्यसपछि मात्रै उनले केही राहत महसुस गरे । अन्ततः उद्धारका लागि आह्वान गरेको तीन दिन र गाइडले आफूलाई छाडेको ५५ घण्टापछि वैशाख २९ गते बिहान करिब ९ बजेर १५ मिनेटमा हेलिकप्टरमार्फत उनको उद्धार भयो । तर त्यतिबेलासम्म उनको शरीरमा गम्भीर क्षति पुगिसकेको थियो । उपचारका क्रममा हिउँले खाएर दायाँ हातका पाँचवटै र बायाँ हातको एउटा गरी ६ वटा औंला काट्नुपर्यो । ८ हजार मिटरभन्दा अग्लो हिमालको चुचुरो सफलतापूर्वक चुमेका स्मिर्नोभले अन्ततः आफ्नै हातका औंलाहरू गुमाउन पुगे । गाइड र कम्पनीमाथि गम्भीर आरोप स्मिर्नोभले गाइड र मकालु एडभेन्चर प्रालिका सञ्चालक तथा व्यवस्थापन पक्षमाथि गम्भीर आरोप लगाएका छन् । उनका अनुसार गाइडले उनलाई जोखिमपूर्ण उचाइमा एक्लै छाडेको आरोप लगाएका छन् । उद्धारका लागि कुनै पहल नगरेको र उद्धारको समन्वय गर्नुपर्ने कम्पनीले समेत विभिन्न बहाना बनाएर ढिलाइ गरेको उनको भनाइ छ ।  उनको परिवारले पटकपटक कम्पनीका सञ्चालकसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेको थियो । उनले भने, ‘मेरो परिवारले उद्धारका लागि बारम्बार मोहन लम्साललाई पहल गर्दा समेत गलत तथ्य भनी गुमराहमा राख्नुभयो ।’ त्यसैगरी, आफूलाई आवश्यक दक्षता र योग्यता भएको हिमाल आरोहणसम्बन्धी गाइड उपलब्ध गराउनुपर्नेमा पदयात्रा गाइड उपलब्ध गराइएको आरोपसमेत उनले लगाएका छन् । मकालु आरोहणका क्रममा भएको घटनापछि स्मिर्नोभले मकालु एडभेन्चर प्रालि र आफ्ना निजी गाइडविरुद्ध काठमाडौंस्थित उपभोक्ता अदालतमा मुद्दा दायर गरेका छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५०, ५१ तथा ५२ बमोजिम उनले क्षतिपूर्तिको माग गरेका छन् । उजुरीअनुसार उनले हालसम्मको उपचार खर्चबापत २३ लाख ४९ हजार ९ सय ५६ रुपैयाँ माग गरेका छन् । भविष्यमा लाग्ने उपचार खर्च तथा नेपालमा रहँदा दैनिक गुजाराका लागि आवश्यक राहत रकमबापत थप १५ लाख रुपैयाँ माग गरिएको छ । त्यसैगरी, मुद्दा दर्ता गर्दा कानुन व्यवसायीलाई बुझाउनुपर्ने सेवा शुल्क र जीवनभरि आयआर्जनमा पुगेको क्षतिबापत ६० लाख रुपैयाँसमेत विपक्षीबाट भराइदिन माग गरेका छन् । उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको अदालतका सूचना अधिकारी तथा अधिवक्ता होमनाथ कँडेलले जानकारी दिए । कँडेलका अनुसार उपभोक्ता अदालतमा विदेशी नागरिकले उपभोक्ता अधिकारसम्बन्धी मुद्दा दायर गरेको यो दोस्रो घटना हो । उनले भने, ‘यसरी उपभोक्ता अदालतमा कुनै विदेशी नागरिकले उपभोक्तासम्बन्धी मुद्दा दर्ता गरेको यो दोस्रो पटक नै हो ।’ आरोहीको सम्पूर्ण जिम्मेवारी गाइड र कम्पनीको हुन्छः शेर्पा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाले पर्वतारोहणका क्रममा आरोहीको सम्पूर्ण जीवनको जिम्मेवारी गाइड र कम्पनीको हुने बताए । उनका अनुसार गाइडले आरोहीको खानपान, हिँडडुल तथा सामान्य स्वास्थ्य समस्या देखिएमा उपचारको व्यवस्था गर्नुपर्छ । ठूलो समस्या वा आपत्कालीन अवस्था आइपरे कम्पनीसँग समन्वय गरेर हेलिकप्टरको व्यवस्था गर्नुपर्छ । उनले भने, ‘गाइडले खाने, हिँड्ने, सानातिनो केही भए उपचार गर्ने र ठूलो केही आपत् आइपरे कम्पनीसँग सहकार्य गरेर हेलिकप्टरको व्यवस्था गर्नुपर्छ ।’ भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित जिम्मेवार निकाय सचेत हुनुपर्नेमा शेर्पाले जोड दिए । उनले भने, ‘पर्यटन विभाग, मन्त्रालय, व्यवसायी, नेपाल पर्वतारोहण संघ सबै मिलेर यो घटनालाई आधार मानी उप्रान्त यस्तो घटना नघटोस् भनेर नियामक भूमिका निर्वाह गर्न जरुरी छ ।’