डिजाइनमै अड्कियो चक्रपथ
काठमाडौं । ‘महिनाभर काम गर्यो अन्तिममा घरबेटीलाई दिन भाडा पुग्ने कमाइ हुँदैन,’ बसुन्धरामा किराना पसल चलाउँदै आएकी सरिता तामाङ गुनासो पोख्छिन् । सानो लगानीबाट उनले दैनिक दश हजारसम्म आम्दानी गर्थिन् । त्यसबाटै उनको परिवारको बिहान बेलुकाको गर्जो टर्ने गर्थ्याे । अहिले भने उनको आम्दानी दोब्बरले घटेको छ । ‘२ तला जत्रो बालुवा, माटो र गिट्टीको थुप्रो पसलअगाडि राख्दा हाम्रो सानो पसल देखिँदैन,’ ग्राहक पहिला जसरी आउँदैनन्,’ पसल सञ्चालक तामाङले थपिन् ‘यो बाटोको काम हुनु अघि सहजै १० हजार कमाउँथे । अहिले बल्लतल्ल ४/५ हजार मात्रै हुन्छ,’ । उनको आम्दानी घट्नुको मुख्य कारण हो, चक्रपथ दोस्रो खण्ड (कलंकीदेखि बसुन्धारासम्म ८.२ कि.मि.) सडक विस्तारमा भएको ढिलासुस्ती । उक्त खण्ड निर्माणको काम समयमै सम्पन्न नहुँदा सरितालाई मात्रै होइन्, अर्की व्यवसायी मन्दिरा आलेलाई पनि उस्तै सास्ती छ । ‘पानी नपर्दा धुलो हुन्छ, पानी पर्दा हिलो हुन्छ,’ दिग्दार हुँदै उनले थपिन्, ‘हिलो भएको बेला बल्लतल्ल एक दुई जना ग्राहक आउँछन्, जुत्ता फुकालेर आउ भन्न पनि मिल्दैन दिनभर सफा गर्ने बाहेक केही व्यापार भएको छैन ।’ सर्वसाधारणको सहजता र विकासमा योगदान पु¥याउने लक्ष्य राखेको चक्रपथ झण्डै दशकदेखि व्यवसायीसँगै पैदलयात्रुको सास्ती बन्न पुगेको छ । बालुवा, माटो र गिट्टी लगायत निर्माण सामग्रीहरू वर्षौंदेखि सडकछेउमा थुपारिएका छन् । जसले गर्दा सडकमा हिड्न समेत सास्ती भएको पैदलयात्री दीपक लामा बताउँछन् । ‘सडक हो कि पार्किङ जस्तो लाग्छ । घन्चमञ्च गाडी राखेर दिनभर ड्राइभर दिनभर कता-कता हिड्छन् । हामी पैदल यात्रु हिड्न समेत ठाउँ पाइँदैन्,’ उनले गुनासो सुनाए । हिउँदमा धुलो र वर्षायाममा हिलाम्य हुने उक्त सडकमा व्यवसायीले जथाभावी फोहोर फालेर झन कुरुप बनाएका छन् । जसकारण सडक छेउमै रहेको उत्सव कुञ्ज नामक ब्याङ्कवेटका सेक्युरीटी गार्ड राजेन्द्र केसी मास्क लगाएरै काम गर्न बाध्य छन् । ‘धुलो र जथाभावी फालिएको फोहोरले गर्दा मास्क लगाउनु पर्ने परिस्थिति छ । पानी पर्दा केही राहत हुन्छ । अरुबेला सास्ती हुन्छ,’ उनले भने । यसरी दिउँसभर धुलोको बिचमै काम गर्नुपर्ने विडम्बनाले उनलाई श्वासप्रश्वास सम्बन्धि दीर्घरोग लाग्ने हो कि भन्ने चिन्ताले पिरोलेको छ । यस्तै, सुन्दर सिटी यातायातका बस चालक लक्ष्मण श्रेष्ठ बिहान झिसमिसेदेखि राति झण्डै ११ बजेसम्म चक्रपथको परिक्रमा गरिरहन्छ । तर, उक्त खण्डमा पुगेपछि उनलाई बिहान-साँझ सडकमा घण्टौसम्म हुने जामले मात्रै हैरान पार्दैन, उक्त खण्डमा सडक बत्ती जडान नहुँदा अध्यारो समयमा बाटो ठम्याउन समेत हम्मेहम्मे हुने गरेको छ । जसले गर्दा दुर्घट्ना बढ्ने गरेको बस चालक लामा बताउँछन् । ‘सबै गाडीहरू एउटै लेनमा चल्छन्, बसको पछाडि ट्याक्सी, स्कुटर र बाइक जस्ता साना गाडीहरू कताबाट पस्छन् । अध्यारोले देखिँदैनन्, दुर्घटना हुन्छ,’ सडक जोखिमबारे प्रष्ट पार्दै उनले तत्काल स्ट्रिट लाइट हाल्न सरकारको ध्यानाकर्षण समेत गराए । २०७२ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपाल-चीनबीच कलंकीदेखि महाराजगञ्जसम्म ८ लेनको सडक निर्माण गर्ने सहमति भएको थियो । तर, जग्गा प्राप्ति र कोभिड-१९ का कारण काम सुरु हुन सकेन । अन्ततः विशेष गरी बसुन्धारादेखि नारायणगोपाल चोकसम्मको ६०० मिटर सडकखण्डमा जग्गा विवाद भएपछि चीनले आफ्नो कार्यक्षेत्र परिवर्तन गर्दै कलंकीदेखि बसुन्धारासम्म मात्र सडक विस्तार गर्ने निर्णय गर्यो । सोअनुरुप नेपालले सर्भिस लेन निर्माणार्थ ७० करोड रुपैयाँ बजेट छुट्याएर २०७६ सालबाट काम सुरु गरेको हो । तर, आठ वर्ष बित्दासम्म पनि कामले गति लिन सकेको छैन । यस विषयमा चक्रपथ सुधार आयोजनाकी प्रमुख आाशिका पोखरेलसँग प्रश्न गर्दा उनी भन्छिन्, ‘पसल अगाडि थुपारिएका बालुवा, माटो र गिट्टी जस्ता निर्माण सामग्रीहरू स-साना निर्माण कार्यका लागि राखिएका हुन् र यो महिनाको अन्तिमसम्म हटाइनेछन् ।’ यस्तै, सडक बत्ती जडानका लागि भने हालसम्म पनि चिनियाँ पक्षले डिजाइनको अन्तिम रुप दिइनसकेकाले समस्या भएको उनको तर्क छ । ‘सडकमा लाइट राख्ने चीनकै जिम्मा हो । डिजाइन फाइनल नभइसकेकाले पनि अहिलेसम्म लाइट राख्न सकिएको छैन्,’ पोख्रेलले भनिन् । सर्भिस लेन बन्दै गर्दा चिनियाँ पक्ष २ पटक उत्त खण्डको मुख्य लेन निर्माणका लागि नेपाल आएको थियो । जहाँ उनीहरुले सडकको प्राविधिक जाँच गरेको थियो । यसैबिच जेन-जी आन्दोलन र सरकार परिवर्तनका कारण कामले गति लिन सकेन । तत्कालीन ओली नेतृत्वको सरकारले गरेको सम्झौताले वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि मात्रै निरन्तरता पायो । सोसँगै भौतिक पूर्वाधार विकास यातायात मन्त्री सुनिल लम्साल र चिनियाँ राजदूत झाङ माओमिङबीच भएको निर्माण कार्यान्वयन सम्झौताअनुसार चीनले ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । सम्झौताअनुरुप नेपालले सर्भिस लेन निर्माण सम्पन्न गरेपछि मात्रै चिनियाँ पक्ष मुख्य लेन निर्माणका लागि आउने छ । ‘चारवटा ठेक्कामार्फत करिब ९० प्रतिशत काम भइसकेको छ । बसुन्धारा चोक परिसरमा करिब डेढ किलोमिटर मात्रै निर्माण गर्न बाँकी छ,’ आयोजना प्रमुख पोखरेलले थपिन्, ‘मुख्य लेनको डिजाइन अझै फाइनल भएको छैन । उहाँहरुले डिजाइन पेश गरेपछि मात्रै मुख्य लेनको काम सुरु हुन्छ ।’ पहिलो चरणमा चीनले (वि.सं.२०७०-२०७५)मा कोटेश्वरदेखि कलङ्कीसम्मको ९.५ किमी खण्ड ८ लेनमा विस्तार गरेको थियो । विस्तारका क्रममा काम सुरु गर्नुअघि साइट क्लियर नभएकाले विवाद निम्तिएको थियो । सोहीकारण काममा ढिलाइ भएपछि दोस्रो चरणमा चिनियाँ पक्षले नेपाल सरकारको जिम्मा रहेको सर्भिस लेन निर्माणको काम सम्पन्न नगरी मुख्य लेन विस्तार सुरु नगर्ने बताएको थियो । सोहीअनुसार २०७६ सालबाट सर्भिस लेनको निर्माण सुरु गरेकोमा यतिबेला काम अन्तिम चरणमा पुगेको आयोजनाको दाबी छ । सर्भिस लेन निर्माणका लागि सरकारले ७० करोड रुपैँया बराबर बिनियोजन गरेको उनको भनाई छ । जसमध्ये ५० करोड रुपैयाँको काम भइसकेको छ । आयोजनाअन्तर्गत चिनियाँपक्षले ढुंगेधारामा पक्की पुल, सितापाइला-बालाजु, बालाजु-माछापोखरी र सामाखुसी-बसुन्धरामा तीनवटा आधुनिक अपाङ्गमैत्री आकाशे पुल तथा कलंकीदेखि बसुन्धरासम्म सडक बत्ती निर्माण गरिनेछ । त्यस्तै, नेपाल पक्षले सर्भिस लेन, सडक संकेत र फुटपाथ निर्माण गर्नेछ ।