कोइलाको विकल्प बन्दै चारकोल, प्रतिकेजी १९ देखि २२ रुपैयाँ उत्पादन लागत
धादिङ, ११ असार । भारतबाट कोइला झिकाएर इँटा उद्योग सञ्चालन गर्दै आएका सुयश श्रेष्ठलाई अहिले गाउँघरमै निर्माण गर्न सकिने चारकोल र ब्रिकेटबाट इँटा पोल्न सम्भव भएपछि दुई दशक लामो व्यावसायिक जीवनमा ठूलो सफलताको अनुभव भएको छ । कारण हो यसबाट ऊर्जाको बचत, वातावरण संरक्षणका साथसाथै गुणस्तरीय उत्पादन गर्न सकिने रहेछ । धादिङ धार्केमा स्थापना भएको उनको यति टायल एण्ड ब्रिक एण्डस्ट्रिज प्रालिमा अहिले कोइलाको सट्टा भित्रबाट चारकोल र बाहिरबाट ब्रिकेट प्रयोग गरी धमाधम इँटा उत्पादन गर्ने कार्य भइरहेको छ । यस उद्योगले ६० प्रतिशत चारकोललाई माटोमा मिसाउने गरेको छ भने ४० प्रतिशत ऊर्जा बायोब्रिकेटबाट बाहिरबाट तताउने गरिएको छ । परम्परागत इँटा भट्टालाई सुधार गरी भिएसबिके प्रविधि जडान गरिएको सो भट्टामा अहिले कोइलालाई प्रतिस्थापित गरी स्थानीय जङ्गलमा खेर गएका रुखका हाँगाबिँगा, दाउरा, काठ र सुकेका बायोमासबाट बनाइने चारकोल र बायोब्रिकेटलाई ऊर्जाको मुख्य स्रोत बनाइएको उद्योगको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । ‘‘सुरुमा त मलाई कोइला विना नै इँटा उत्पादन होला भन्ने विश्वास थिएन, पछि अनुसन्धानबाट प्रमाणित भएको देखेपछि मैले आयातित इन्धनको निर्भरतालाई कम गर्न चारकोललाई प्राथमिकता दिएको छु’’ – उनले भने । नेपालमा १८ हजारभन्दा बढी सामुदायिक वन रहेको र हरेक वर्ष त्यस्ता सामुदायिक वनमा झाडी सफाइ गर्न वर्सेनि ५/६ लाख रुपैयाँ खर्च हुने गरेकामा त्यसलाई प्रयोग गरेर चारकोल र ब्रिकेट निर्माण गर्न सकिए उल्टै लाखौं रुपैयाँ आम्दानी हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुको साथै वातावरण प्रदूषण न्यूनीकरणमा योगदान पुग्दछ । यसले जङ्गलको अवस्थामा पनि सुधार आउँछ । वन जङ्गलमा आगलागी हुनाको मुख्य कारण झाडीको व्यवस्थापन नहुनुलाई लिन सकिन्छ । रुखका स–साना हाँगाबिँगा, पातपतिङ्गरजस्ता खेर जाने वायोमासलाई विशेष प्रविधि रिट्रोटभित्र ४/५ घण्टासम्म नियन्त्रित तापक्रममा तताई त्यसमा भएको पानीको भाग र अन्य हानिकारक ग्यास बाहिर निकाली बल्ने क्षमता भएको पदार्थ मात्र बाँकी रहेको कोइलालाई चारकोलको रुपमा प्रयोग गर्न सकिन्छ । कृषिजन्य अवेशष, पातपतिङ्गर, सुकेका फलफूलका बोक्रा, रुखका बोक्रा, धुलो आदिबाट पनि चारकोल तयार गर्न सकिन्छ । चारकोलको लागत ठाउँ हेरेर प्रतिकेजी १९ देखि २२ रुपैयाँ पर्दछ । मिनर्जी एनिसेटिम्स्का कार्यक्रम निर्देशक सुयेश प्रजापति इँटाभट्टाबाट कोइलाको प्रयोगबाट निस्कने धुवाँमा कार्वनडाइअक्साइडको मात्रा अत्यधिक रहेको बताउछन् । मुलुकमा रहेका करिब ८०० वटा इँटाभट्टाले वर्षमा करिब पाँच लाख ६५ हजार मेक्ट्रिक टन कोइला खपत गर्दछन् । चारकोलको प्रयोग बढाउन सकिएमा कोइला आयातमा वार्षिक १२ अर्बभन्दा बढी रकम विदेसिनबाट रोक्न सकिने उनको तर्क छ । चारकोल र ब्रिकेट स्थानीय जङ्गलमा खेर गइरहेको वन पैदावारबाट उत्पादन गर्न सकिने र ती स्वच्छ तथा नवीकरणीय ऊर्जाको स्रोत भएकाले यसलाई घरायसी र औद्योगिक प्रतिष्ठानमा प्रयोगमा ल्याउन सकिन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी प्रबन्धक शुभलक्ष्मी श्रेष्ठ चारकोल प्रयोग गरेको इँटाभट्टाबाट कालो धुवाँ नभई सेतो धुवाँ निस्कने भएकाले यसले वायुमण्डलमा कार्बनको मात्रा कम गरेवापत अन्तर्राष्ट्रिय बजारमा कार्बन व्यापारको सम्भावना पनि रहेको बताउछिन् । भिएसबिकेका अध्यक्ष जनार्दन न्यौपानेले राज्यले आयातित इन्धनमा अनुदान तथा नवीकरणीय ऊर्जाका अन्य प्रविधिहरुमा भ्याट, भन्सार छुटजस्ता सुविधाहरु उपलब्ध गराए पनि स्वदेशी पूँजी, खेर गएका वस्तुहरु प्रयोग गरी निर्माण गरिएका चारकोल, ब्रिकेटजस्ता प्रविधिमा पनि सुविधा उपलब्ध गराउन पटकपटक मन्त्रालयमा अनुरोध गरिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको गुनासो गरे । इँटा उद्योगका लागि आवश्यक चारकोल र ब्रिकेट उपलब्ध हुन सके यसको प्रयोगलाई बढाउन इँटा व्यवसायीहरु तयार रहेको उनको भनाइ छ । बायो इनर्जी परियोजनाका टोली प्रमुख मून श्रेष्ठले जैविक ऊर्जाको उत्पादन तथा उपयोगबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने तथा हरितगृह ग्यासको उत्सर्जनमा कमी आउने भई गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा योगदान पुग्ने भएकाले राज्यले यस्ता प्रविधिहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् वन जङ्गलमा त्यतिकै खेर गएका मिचाहा प्रवृत्तिका वनमाराजस्ता झारपात, हाँगाबिँगाबाट चारकोल बनाउने अभियान सुरु भएमा जङ्गलमा हुने आगलागीलाई पनि नियन्त्रण गर्न सकिन्छ । ऊर्जा तथा वातावरण केन्द्रका अध्यक्ष डा कृष्णराज श्रेष्ठले नेपालमा वनपैदावार, शहरबजार एवम् घरायसी र औद्योगिक प्रतिष्ठानबाट निस्कने जैविक फोहरबाट चारकोल, ब्रिकेट निर्माण गरी कोइला र इन्धनको खपतलाई न्यून गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउछन् । चारकोल कोइलाभन्दा निकै सफा इन्धनको स्रोत भएकाले यसको प्रयोगले घरभित्रको प्रदूषण पनि कम हुन्छ । चारकोलले खेतबारीमा फस्फोरस व्याक्टेरियाको संरक्षण गर्छ र पानीमा चिसोपना कायम राख्न पनि यो उपयोगी हुन्छ । चारकोल धुवाँरहित र गन्धरहित हुने भएकाले प्रयोगकर्ताको स्वास्थ्यमा श्वासप्रश्वाससम्बन्धी समस्या हुँदैन भने दाउरा, ग्यासभन्दा निकै सस्तो पर्न आउँछ । चारकोल हलुका र हेर्दा कोइला जस्तै देखिने भएपनि यसमा साधारण कोइलामा भन्दा बढी ताप दिने शक्ति हुन्छ । नेपालमा सम्पूर्णरुपमा कोइला विदेशबाट आयात हुन्छ । भारतको आसामबाट बढी मात्रामा कोइला आयात हुने गर्दछ । कोइलाको तुलनामा चारकोलको ज्वलन क्षमता पनि निकै उच्च रहेको पाइन्छ । वायो इनर्जी परियोजनाका प्राविधिक संयोजक अनिल महर्जन चारकोलको तापीय शक्ति पत्थर कोइलाको तुलनामा एकहजार ५०० बढी अर्थात औसतमा सात हजार प्रतिकेजी क्यालोरी हुने बताउछन् । चारकोलको प्रयोगले इँटा उद्योगमा पर्ने आर्थिक भार कम हुनाको साथै वातावरणमा पर्ने नकारात्मक असरको मात्रा घटाउन सकिन्छ । कोइलाको प्रयोगबाट धुलोजन्य तथा रासायनिक ग्यास उत्सर्जन भई वातावरणमा प्रदूषण र मानव स्वास्थ्यमा प्रतिकूल असर पुगिरहेको छ । चारकोल प्रकृतिमा रहेको जैविक पदार्थ९वायोमास०लाई विशेष तरिकाबाट बालेपछि बन्ने नवीकरणीय इन्धनको स्रोत मानिन्छ भने कार्बन निस्क्रिय इन्धनको रुपमा लिने गरिन्छ । चारकोलमा सल्फर तथा पारो९मर्करी०जस्ता हानिकारक तत्व हुँदैन । इँटा भट्टाबाहेक चारकोललाई घरायसी इन्धनको रुपमा खाना पकाउन, कोठा तताउन र होटल, रेस्टुराँलगायत अन्य उद्योग÷कारखानामा पनि प्रयोगमा ल्याउन सकिने भएकाले यसको व्यावसायिक उत्पादनमा ध्यान दिनुपर्ने देखिन्छ । त्यतिकै खेर जाने पैदावारलाई उपयोग गरी औद्योगिक खपत बढाउने, स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्ने र कार्बन उत्सर्जनलाई कम गर्ने उद्देश्यले युरोपेली सङ्घको सहयोगमा हेल्भटासको मुख्य साझेदारीमा देशका १६ जिल्लामा जैविक ऊर्जा परियोजना सुरु भएको छ । भारतलगायत विश्वका अधिकांश मुलुकमा हिजोआज वातावरणमैत्री र नवीकरणीय ऊर्जा स्रोतको रुपमा चारकोलको प्रयोग बढ्न थालेको छ । रासस
बजारमा छापावाल सुन प्रतितोला तीन हजार रुपैयाँले वृद्धि
काठमाडौं, १० असार । नेपाली बजारमा छापावाल सुन प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ५९ हजार रुपैयाँ कायम भई कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ७९५ मूल्य कायम भएको चाँदी शुक्रबार २५ रुपैयाँले वृद्धि भएको छ । रासस
आर्थिक विकासमा अवरोध गर्न खोज्ने तत्वलाई राज्यले सहन नसक्ने प्रधानमन्त्रीको भनाई
काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजनीतिक अधिकार र सामाजिक न्यायको अभियान समाप्त भएकोले सरकार र निजी क्षेत्र एकसाथ नेपाल निर्माण अभियानमा लाग्नु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ र हिमालय टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको सीएनआई नेपाल निमार्ण २०७३ को उद्घाटन गर्न सोल्टी होटल पुगेका ओलीले भने–‘यस्ता रचनात्मक अभियानमा निजी क्षेत्रसँग काँधमा काँधमिलाएर अघि बढ्न सरकार सदैव तयार छ र आर्थिक विकासलाई अघि बढाउने कुनै पनि कार्यमा अवरोध गर्न खोज्ने कुनै पनि समूह वा तत्वलाई राज्यले सहन सक्दैन ।’ कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले अगिंकार गरेको उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्ने नीतिलाई सहयोग गर्न परिसंघले सीएनआई नेपाल निमार्ण २०७३ अभियान सञ्चालन गरेको बताए । राजनीतिक आन्दोलनमा पूरै एक पुस्ताले शंघर्ष गरेको बताउँदै शर्माले भने–‘अबको पुस्ता राष्ट्र« निर्माणमा आफ्नो पूँजी र विज्ञता प्रयोग गर्न तम्तयार छ । त्यसका लागि सरकारले उद्योग व्यसाय सञ्चालन र मौलाउन सक्ने वातावरण निर्माणमा सरकारको भुमिका अपरिहार्य छ ।’ सीएनआई नेपाल निमार्ण २०७३ मा शुक्रवार ४ र शनिवार ४ गरि कुल ८ विषयमा प्यानल छलफल हुने कार्यक्रम छ । कार्यक्रममा भएको विचार विमर्षबाट निस्केका निश्कर्षहरु समावेश प्रतिवेदन विभिन्न सरोकारवाला निकायहरुका पेश गर्ने आयोजकको योजना छ । सीएनआई नेपाल निमार्ण २०७३मा प्रधानमन्त्रीलगायत सरकारी निकायका वरिष्ठ अधिकारीहरु, विदेशी नियोगका प्रतिनिधिहरुका साथै विभिन्न देशका राजदुत र सीएनआईका पदाधिकारीहरु तथा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।
‘नेपाल बैंकक फेस्टिवल २०१६’ राजधानीमा हुँदै, आयोजना असोज १४ गतेदेखि शुरु
काठमाडौं, १० असार । नेपाल बैंकक फेस्टिवलको ‘नेपाल बैंकक फेस्टिवल २०१६’ आगामी असोज १४ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । नेपाल र थाइल्याण्डबिचको द्धिदेशीय सम्बन्ध बिस्तार गर्ने लक्ष्यका साथ सो आयोजना गर्न लागेको आयोजकले बताएका छन् । सो आयोेजना सियाम लंचंग बैंककले आगामी असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म गर्न लागेको हो । नेपाल बैंकक फेस्टिवल २०१६ मा नेपाल र बैंककका गरि १ सय ५० भन्दा बढी व्यवशायिक प्रतिष्ठानहरुको सहभागिता रहने छ । नेपालका लागि थाई राजदुताबास तथा ललितपुर उधोग वाणिज्य संघ को विशेष सहयोगमा सम्पन्न हुन गैरहेको यस फेस्टिवलको मार्केटिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । शुक्रबार राजधानीमा बसेको पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदुत भुट्टि भुट्टिसेन्टले काठमाडौंमा हुन लागेको फेस्टिवलले दुई देशका बिचमा व्यवशायिक सम्बन्ध बिस्तारमा महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । राजदुत भुट्टिसेन्टले दुई मुलुकबिच अहिले कायम रहेको व्यवशायिक सम्बन्ध बिस्तार गर्दै नेपालमा थाइल्याण्डको लगानी भित्र्याउनका लागि पनि फेस्टिवलले टेवा पुर्याउने अपेक्षा गरेका छन् । साथै आफु र राजदुतावासले आपसी समन्वय गरेर नेपालको पर्यटन प्रर्बद्धनका लागि विशेष सहयोग गर्ने प्रतिबद्धता पनि राजदुत भुट्टिसेन्टले जनाए । सिन्थेसिस एक्जिवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने फेस्टिवलमा हुने नेपाल र बैंककका व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् । विभिन्न विधाका उत्पादनहरु तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री र अन्य सामग्री फेस्टिवलको आकर्षणका रुपमा रहने छन् । त्यसै गरि हस्तकलाका उत्पादन, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ । फेस्टिवलमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बैंकक पुर्याउन र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने छ । यसका अलावा नेपाल र बैंककबिच पछिल्लो समय विकास भएका प्रविधि आदान प्रदान गर्न पनि फेस्टिवलले महत्वपुर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।
ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने, २००० जनाले रोजगारी पाउने
काठमाडौँ, १० असार । ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन् । आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी रु तीन अर्ब ७८ करोड ५० लाख नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको उद्योग विभागले जनाएको छ । आइल्यान्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार ५४ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । ती उद्योगमध्ये नेपाल बोर्डस लिमिटेडको रु दुई करोड ८८ लाख ६८ हजार, होटल एन्ड लिजरको रु ९१ करोड पाँच लाख ६५ हजार, ह्वाइट हर्स फल्स कोपरेसनको रु दुई करोड २० लाख, प्लेन पान मसाला गुट्खा, स्वीट् सुपारीको रु चार करोड ५० लाख लगानी रहेको छ । त्यस्तै अर्गानिक इगटेबल्सको रु ५० लाख, होटल विथ रेस्टुराँको रु २४ लाख, वित्तीय लगानी योजना विकासको रु एक अर्ब ७५ करोड ५० लाख, जिटी एन्ड टि होटलको रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टको रु आठ करोड लगानी रहेको विभागले जनाएको छ । विभागका अनुसार आइल्यान्डका उद्योगमध्ये प्याकेजिङ मिनरल्स मेनुफेक्चरिङको रु २४ करोड, अर्गानिक भेजिटेबल्सको रु ५० लाख, टाइगर टु प्रालिको रु ९० करोड, अस्पताल सञ्चालन गर्न रु दुई अर्ब ८४ लाख ४३ हजार र सनसाइन भ्याली अर्गानिक फर्मको रु २५ करोड लगानी रहेको छ । आइल्यान्डको लगानी रहेको नेपाल बोर्डस लिमिटेडले मुलुकमा पहिलोपटक २०५० साल वैशाख २ गते लगानी गर्न स्वीकृति पाएको हो भने पछिल्लो पटक २०७२ साल वैशाख ३१ गते सनसाइन भ्याली अर्गानिक फर्मले लगानी गर्न स्वीकृति पाएको विभागको विदेसी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले जानकारी दिए । नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् भने सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको बताइएको छ । रासस
बेलायत यूरोपियन यूनियनबाट बाहिरयो, विश्व बजारमा नैराश्यता, पुँजी बजारमा गिरावट
काठमाडौं, १० असार । बेलायत युरोपियन युनियनबाट बाहिरिने भएको छ । गएराति भएको ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५१.९ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८.१ प्रतिशत मत हासिल गरेको छ । लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्ष बहुमत आएको छ । तर उत्तरी ब्रिटेनमा इयुबाट वाहिरीने पक्षमा बहुमत आएको छ । युकेआइपीका नेता नाइजल फराजले परिणामको स्वागत गर्दै त्यसलाई ब्रिटेनको स्वतन्त्रताको दिनको संज्ञा दिएका छन् । २० वर्षदेखि इयुबाट अलग हुनुपर्ने पक्षमा अभियान चलाइरहेका युकेआइपीका नेता नाइजल फराजले समर्थकहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘यो साधारण र सभ्य जनताहरुको विजय हो ।’ मतदान सकिएपछि इयुमै रहने पक्षले जित्ने अनुमान गरेको फराजले जुन २३ तारिखलाई स्वतन्त्रता दिवसका रुपमा इतिहासले सम्झने बताएका छन् । तर बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । विश्वमा त्रास बेलायतका जनताले यूरोपबाट अलग हुने पक्षमा गरेको मतदान परिणामले विश्वलाई त्रसित बनाएको छ । सम्पत्ति बजारमा लगानी गर्ने लगानीकर्ता आत्तिएका छन् । सेयर बजार र मुद्रा बजार घटेको छ । बेलायतको मुद्रा पाउन्डको मूल्य डलरको तुलनामा सन् १९८५ यताकै तल्लो बिन्दुमा खसेको छ । जापान, चीन, भारत लगायत विश्वको ठूला अर्थतन्त्र भएको देशहरुको सेयर बजारमा भारी गिरावट आएको छ । बेलायतमा सेयर बजार बन्द भएकोले मूल्य असर देखिएको छैन । लामो प्रक्रिया २८ वटा राष्ट्र सम्मिलित युरोपेली संघबाट बेलायतको बहिर्गमन तत्कालै हुने छैन् । उक्त प्रकिया पूरा हुन न्युनतम दुई वर्ष लाग्नेछ । यूरोपियत यूनियनका २७ राष्ट्रले बेलायतको जनमत संग्रहको प्ररिणामबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । अनौपचारिक छलफलमा यूनियनको सदस्य रहिरहन आग्रह गर्ने विषयमा छलफल भईरहेको यूनियन अध्यक्षले बताएका छन् ।
सिलिन्डरको मापदण्ड छानबिन गर्न आयल निगमलाई निर्देशन
काठमाडौं, १० असार । आपूर्ति मन्त्रालयले हिमालयन पेट्रोकेमिकल प्रालिको रोक्का भएको ग्यास खरिद अनुमति(पिडिओ) फुकुवा गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । नबकमन्त्रालयको निर्णयानुसार गत जेठ ७ गते खाना पकाउने ग्यास विस्फोट भई ललितपुरका सुरेश ताम्राकार र राजेश ताम्राकारको मृत्यु भएपछि मृतकका आफन्तलाई भौतिक क्षतिका लागि राहतस्वरूप ४० लाख रूपैयाँ आर्थिक सहयोग गरिसकेका अवस्थामा विरोधका कार्यक्रम फिर्ता दिई सहमति भएपछि फुकुवा गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको शुक्रबारको निर्णयानुसार प्रयोगमा ल्याइएका सिलिन्डर मापदण्डअनुसार भए/नभएकाबारे छानबिन गर्न पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । रासस
विकास निर्माणका कार्यहरु तीव्र गतिमा, करिब एघार करोडको लगानी
नवलपरासी, १० असार । चालु आवमा सञ्चालन भएका निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फका योजनाहरु अन्तिम चरणमा पुगेका छन् । जिल्लाका छवटै निर्वाचन क्षेत्रमा तीव्र गतिमा योजना कार्यान्वयन अन्तिम चरणमा पुगेको जिविसका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिए । निर्वाचित सांसदको क्षेत्रमा एक करोड ५० लाख रुपैयाँको दरले छवटा निर्वाचन क्षेत्रमा नौ करोड रुपैयाँका ८९ वटा योजना सञ्चालनमा छन् । अधिकांश योजना बाटोघाटो, मठमन्दिर, विद्यालय भवन निर्माणलगायत छन् । यसैगरी निर्वाचित र समानुपातिकतर्फका सांसदको निर्वाचन क्षेत्रअन्तर्गत प्रतिसांसद २० लाख रुपैयाँका दरले दुई करोड रुपैयाँ बराबरका ११९ वटा योजना रहेका छन् । अधिकांश योजना विकास निर्माणसँग सम्बन्धित छन् । यता केही योजना सांसदले आफ्नो कार्यकर्तालाई पोस्ने उद्देश्यले अघि बढाएको जनगुनासो बढेपछि जिविसले ती योजनाको अनुगमन गर्न थालेको छ । “काम पूर्ण भएपछि मात्र रकम भुक्तानी गरिने छ,” जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीले भने। यस पटक जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ नौ करोड तथा निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फ रु दुई करोड बजेट विनियोजन भएको बताइएको छ । रासस