विकासन्युज

नेपाल उद्योग परिसंघको निर्वाचन २१ गते, हरिभक्त शर्मा अध्यक्ष बन्ने पक्का

काठमाडौं, ११ माघ । नेपाल उद्योग परिसंघ नयाँ नेतृत्व नेतृत्व चयन प्रक्रियामा जुटेको छ । परिसंघले फागुन २० र २१ गते १३ औ साधारणसभा आयोजना गर्दैछ । सो साधारणसभाले राष्ट्रिय परिषद् (गभर्निङ काउन्सिल), चार जना उपाध्यक्षसहित नयाँ नेतृत्व चयन गर्नेछ । विधानअनुरा वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा परिसंघको अध्यक्ष निर्वाचित हुनेछन् । विनोद चौधरीको नेतृत्वमा स्थापना भएको परिसंघमा शर्मा तेस्रो अध्यक्ष हुदैछन् । हरिभक्त शर्मा परिसंघको विधानमा वरिष्ठ उपाध्यक्षलाई सर्वसहमतिमा अध्यक्ष बनाउने व्यवस्था गरिएकोछ । निर्वाचन समितिले जनाएअनुसार परिसंघमा संस्थापक सदस्यहरु (आजीवन समेत) मध्येबाट १३ जना, प्रतिष्ठानगत सदस्यहरु (आजिवन समेत) मध्येवाट १२ जना र संस्थागत सदस्यहरु (आजिवन समेत) मध्येवाट ३ जना गरि जम्मा २८ जनाको राष्ट्रिय परिषद सदस्यहरुको निर्वाचन हुँदैछ । गभर्निङ काउन्सिल र उपाध्यक्षहरुको भने निर्वाचत हुनेछ । गभर्निङ काउन्सिलले पछि वरिष्ठ उपाध्यक्ष चयन गर्ने परिसंघको विधानमा उल्लेख छ । परिसंघको साधारणसभा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम ह्यात होटलमा हुने र बन्दसत्र तथा निर्वाचनका कार्यक्रम परिसंघको कार्यलय रहेको थापाथलीस्थीत ट्रेड टावरमा हुने परिसंघले जनाएको छ । परिषद्को सदस्यमा उम्मेदवारी दर्ता गर्न ५० हजार रुपैयाँ लाग्नेछ । हाल परिसंघको व्यक्ति तथा कम्पनी गरी करिव १५० सदस्य रहेको स्रोतले बतायो ।

१० ब्रोकर मिलेर नयाँ डिपी स्थापना हुदै, सर्वसाधारणलाई पनि सेयर दिने सोच

काठमाडौं, ११ फागुन । १० ओटा ब्रोकर मिलेर नयाँ निक्षेप सदस्य कम्पनी (डिपी) स्थापनाको पहल अगाडि बढेको छ । एक भन्दा बढी सेयर दलाल ब्यवसायी (ब्रोकर) मिलेर नयाँ डिपी कम्पनी खोल्न धितोपत्र वोर्डले बाटो खुल्ला गरेसँगै यस्तो पहल भएको हो । नयाँ कम्पनी स्थापनाको लागि कम्पनी रजिष्टार कार्यालयको प्रक्रिया पूरा गरिसकिएको ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले जानकारी दिए । नयाँ कम्पनी स्थापनाको लागि १० ब्रोकर कम्पनीले सवै कम्पनीले बराबर सेयर लगानी गर्ने भएका हुन् । अन्जनराज पौडेल ‘नयाँ डिपी स्थापनाको लागि कम्पनी रजिष्टारको कार्यालयको प्रारम्भिक काम सकिएको छ, धितोपत्र वोर्डले राय दिने वित्तीकै कम्पनी दर्ता हुन्छ र हामी काम सुरु गर्छाैं,’ थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नम्बर १३) का संचालक समेत रहेका पूर्वअध्यक्ष पौडेलले भने । नयाँ कम्पनीको नाम डिपी एण्ड क्लियरिङ हाउस लिमिटेड प्रस्ताव गरिएको छ । कम्पनीको चुक्ता पूजी १ करोड ५० लाख रुपैयाँ राख्ने तय भएको छ । नियामक निकाय धितोपत्र वोर्ड अनुमति दिएमा यस्तो कम्पनीले पोर्टफोलियो म्यानेजमेन्टदेखि पूजी बजार सम्बन्धित अन्य काम पनि गर्ने सोच बनाएको बताइएको छ । कम्पनी संचालनको अनुमति पाउने वित्तिकै कम्पनीको लागि प्रमुख कार्यकारी अधिकृतदेखि लिएर अन्य कर्मचारीसमेतको ब्यवस्थापन गरिहाल्ने तयारी कम्पनीको छ । कम्पनीको कार्यालय स्थापनाको लागि केही स्थानमा भवन समेत हेर्ने कार्य भएको पौडेलले जानकारी दिए । पब्लिक कम्पनी दर्ता गर्न लागिएको हो । धितोपत्र वोर्डले अनुमति दिएमा यस्तो कम्पनीको सेयर सर्वसाधारणलाई पनि विक्री गरिने गरी कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा ब्यवस्था गरिएको बताइएको छ । धितोपत्र वोर्डले केही साता अगाडि मात्रै एकभन्दा बढी ब्रोकर मिलेर नयाँ कम्पनी स्थापना गरी आएमा नयाँ डिपीको लागि अनुमति दिन सकिने नीतिगत ब्यवस्था गरेको थियो । नयाँ कम्पनीको संस्थापक सेयरधनीमा कुमारी सेक्युरिटिज, जेएफ सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी, थ्राइभ ब्रोकरेज हाउस, नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ, मिदास स्टक ब्रोकिङ कम्पनी, निभ सेक्युरिटिज, सिप्रबी सेक्युरिटिज र स्वेता सेक्युरिटिज रहेका छन् । धितोपत्र वोर्डका अधिकारीहरुले पनि यस्तो कम्पनीलाई तत्काल अनुमति दिने बताउदै आएका छन् ।

बाणिज्य बैंकको सेयरमा लगानी गर्दै हुनुहुन्छ ? यस्तो छ बैंकहरुको प्रतिसेयर आम्दानी

काठमाडौं, १० फागुन । गत पुस मसान्तसम्मको वित्तीय विवरणका आधारमा बैंकहरुले प्रकाशित गरेको आफ्नो कम्पनीको प्रतिसेयर आम्दानी भिन्न भिन्न रहेको छ । केही बैंकहरुको प्रतिसेयर आम्दानी ५० रुपैयाँभन्दा माथि रहेको छ भने केही बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा कम छ । सेयरमा लगानी गर्नेहरुले लगानी गर्ने कम्पनीको प्रतिसेयर आम्दानी कति छ भनेर हेर्ने र्पेन हुन्छ । बैंकहरुले प्रकाशित गरेको विवरणका आधारमा बैंकहरुको प्रतिसेयर आम्दानी र खुद नाफा निम्न अनुसार छ । माछापुच्छ्रे बैंक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा रहेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४० करोड १३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत बर्ष यस्तो नाफा ३४ करोड ४० लाख रुपैयाँ थियो । जनता बैंक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १० करोड ९२ लाख रुपैयाँ थियो । एनसीसी बैंक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४२ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २३ करोड ९२ लाख रुपैयाँ थियो । सनराइज बैंक प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २६ करोड ४ लाख रुपैयाँ थियो । बैंक अफ काठमाण्डू प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३३ करोड ७ लाख रुपैयाँ थियो । एनएमबी बैंक प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ५ लाख रुपैयाँ थियो । एभरेष्ट बैंक प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ४८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ७७ करोड १२ लाख रुपैयाँ थियो । कुमारी बैंक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २१ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १८ करोड १६ लाख रुपैयाँ थियो । कृषि विकास बैंक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३६ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३८ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५३ करोड ४५ लाख रुपैयाँ थियो । एनबी बैंक प्रतिसेयर आम्दानी २४ रुपैयाँ छ । गत बर्ष यस्तो सेयर आम्दानी २७ रुपैयाँ थियो । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३६ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३३ करोड ११ लाख रुपैयाँ थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ४५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ६१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ६४ करोड ४६ लाख रुपैयाँ थियो । सिभिल बैंक प्रतिसेयर आम्दानी १० रुपैयाँ ८३ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १५ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १७ करोड ६९ लाख रुपैयाँ थियो । सिटिजन्स बैंक इन्टरनेसनल प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३१ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ९८ लाख रुपैयाँ थियो । सेन्चुरी कमर्शियल बैंक प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १६ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ९ करोड ९८ लाख रुपैयाँ थियो । हिमालयन बैंक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६६ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ८० करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५८ करोड ९५ लाख रुपैयाँ थियो । नविल बैंक प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ५० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ थियो । ग्लोबल आइएमइ बैंक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५४ करोड ४ लाख रुपैयाँ थियो । एनआइसी एशिया प्रतिसेयर आम्दानी २७ रुपैयाँ १८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ५० करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३६ करोड ६ लाख रुपैयाँ थियो । सानिमा बैंक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४० करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ८१ लाख रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट बैंक प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ९६ करोड ६० लाख रुपैयाँ थियो । प्राइम कमर्शियल बैंक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४६ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३६ करोड २१ लाख रुपैयाँ थियो ।

फाइनान्स कम्पनी र विकास बैंकको बजार प्रशस्त छ-झपट बोहरा

भपट बोहरा बैंकिङ क्षेत्रमा चिनिएको नाम हो । मालिका विकास बैंकको संस्थापक कार्यकारी अध्यक्ष बोहरा पछि साझा विकास बैंकको अध्यक्ष हुँदै सिनर्जी फाइनान्सको अध्यक्ष बन्नु भएको छ । समस्यामा रहेको यो फाइनान्स उहाँको नेतृत्वमा सुधार होला वा नहोला ? तर धेरैले सुधारको आश गरेका छन् । प्रस्तुत छ : विकास बैंक संघका पूर्व अध्यक्ष समेत रहेका बोहरासँग फाइनान्स सुधारका योजना के छन् भनेर गरिएको विकास वहस ।[divider] झपट बोहरा,अध्यक्ष, सिनर्जी फाइनान्स लिमिटेड मालिका विकास बैंकको अध्यक्ष छोडेर साझा विकास बैंकको अध्यक्ष हुनुभयो, फेरी सिनर्जी फाइनान्सको अध्यक्ष हुनुभएको छ, किन यसरी संस्था परिवर्तन गरिरहनु भएको ? मालिका विकास बैंक मेरै अगुवाईमा स्थापना भयो । पहिलो पटक राजधानी बाहिर विकास बैंक स्थापना गर्ने कामको नेतृत्व गरेँ र १२ वर्ष मालिका विकास बैंकको कार्यकारी अध्यक्ष भएर काम गरेँ । मालिकालाई एउटा उचाईमा पुर्याएपछि मैले छोडेँ । ग्रोमर मर्चेण्ट बैंकर लिमिटेड पनि मेरै अगुवाईमा स्थापना भएको हो । यो कम्पनी प्रभु ग्रुपले लियो । साझा विकास बैंक पनि मेरै अगुवाईमा स्थापना भएको हो । त्यो राम्रै रुपमा सञ्चालन भैरहेको छ । म करिब महिनादेखि सिनर्जी फाईनान्सको अध्यक्ष बनेको छु । तत्कालिन एल्पिक एभरेष्ट फाइनान्सको थोरै सेयर किनेको थिएँ । मर्जपछि सिनर्जी फाइनान्स बन्यो । अहिले यो फाइनान्स सुधारको चरणमा छ । यसलाई पनि सुरक्षित अवतरण गराउनु पर्नेछ । मैले मालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा मात्रै जागिर खाएँ । अहिले म कर्मचारी होइन, प्रोफेसनल बैंकर र इन्टरप्रेनर हुँ । इन्टरप्रेनरका रुपमा कम्पनीहरुको स्थापना गरिरहेको छु । प्रत्येक मान्छेले आफू भित्र रहेको उद्यमशिलता देखाउन सक्नुपर्छ । एकै ठाउँमा बसिरह्यो भने उद्यमशिलता निष्क्रिय हुन्छ । ठाउँ परिवर्तन गर्दा अवसर र ज्ञान समेत हासिल गर्न सकिन्छ । अहिले उद्यमशिलता देखाउँदै अघि बढिरहेको छु । यसले मलाई र मैले नेतृत्व गर्ने दुबै संस्थालाई फाइदा पुगेको हुन्छ । समस्यामा गुज्रिरहेको सिनर्जी फाइनान्सलाई कसरी अघि बढाउनु हुन्छ ? राम्रा संस्थाहरुमा जो सुकैले नेतृत्व गर्न सक्छन् । त्यहाँ मेरो आवश्यकता पनि पर्दैन । जहाँ समस्या र चुनौति छन्, त्यहाँ गएर ती चुनौतिहरुको सामना गर्दै अघि बढाउनुमा छुट्टै आनन्द हुन्छ । सिनर्जीमा हामीले सुधारका प्रक्रिया अघि बढाईसकेका छौं । अप्ठेरापछि सहज परिस्थिति आउँछ नै । हामी विधिको शासन र नीति नियमको पालना गर्छाै । नीति नियमको सच्चा पालना गर्दै कर्जा असुली द्रुतगतिमा अघि बढेको छ । खराब कर्जाधारीहरु पनि सम्पर्कमा आईरहेका छन् । पुस मसान्तसम्ममा करिब एक करोडको सञ्चालन मुनाफा आर्जन गरिसकेका छौं । संस्थालाई दीर्घकालिन रुपमा दिगो बनाउन सञ्चालकदेखि सबै कर्मचारी लागिपरेका छन् । चालु आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको अवस्था कस्तो हुन्छ ? असार मसान्त भित्र सिनर्जी फाइनान्सलाई यहि पूँजी, यहि व्यवस्थापन र यहि कर्मचारी संरचनाले सक्षमरुपले सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउँछौं । त्यो हाम्रो वित्तिय विवरणले देखाउने छ । १२ करोड कर्जा असुली गरियो भने नाफामा २४ करोडले वृद्धि देखिन्छ । असार मसान्तसम्ममा संचित नोक्सानी आधा भन्दा बढि घटाईसक्छौं । खराब कर्जा ३४ प्रतिशतबाट घटाएर २० प्रतिशत भन्दा तल झार्छाै । असार मसान्तसम्ममा फाईनान्सलाई सञ्चालन मुनाफामा लैजान सकिन्छ । लगानीकर्ताले प्रतिफल पाएपछि साँचो अर्थमा संस्था सुधारिएको मानिन्छ, सेयरधनीले लाभांश कहिले पाउँछन् ? थुप्रै व्याज असुली गर्न बाँकी छ, भाका नाघेका कर्जा छन् । गैर बैंकिङ सम्पति पनि धेरै छ । तीनको असुलीपछि लाभांश दिन सकिन्छ । अर्थतन्त्र सुध्रिदै गयो र हामीले भने जस्तै भयो भने आगामी आर्थिक वर्षको नाफाबाट लगानीकर्ताले केहि न केहि लाभांश पाउँछन् । खराव भएका कर्जाहरुको धितो सुरक्षणको अवस्था कस्तो छ ? हामी शतप्रतिशत खराब कर्जा असुल्न सकिन्छ भन्नेमा विश्वस्त छैनौं । तर धेरै जसो कर्जा भने असुल्न सक्छौं । खराब ऋणीहरुसँगको अन्तरक्रियाबाट धेरै हदसम्म ऋण उठाउन सकिन्छ भन्ने देखिएको छ । हामीसँग ७५ देखि ८० करोडको स्थिर सम्पति छ । नेपालका फाइनान्स कम्पनीमध्ये राम्रो स्थिर सम्पति भएको कम्पनी हो सिनर्जी । ३० देखि ४० करोडको पोर्टफोलियो तलमाथी भएपनि फरक पर्दैन् । हामीसँग ब्याकअप राम्रो छ । स्थिर सम्पति धेरै छ । ऋणीको ब्याक अप पनि राम्रो छ । केहिका लागि राईट ब्याक गर्नुपर्छ । केहिलाई बैंकिङ कसुर लगाउन सकिन्छ । बहुसख्याक ऋणमा धितो राम्रो छ । हामीले नयाँ भ्यालुएटर नियुक्त गरेर कर्जा र धितोका पुनः मुल्यांकन गरिरहेका छौं । कुन ऋणी र धितोको अवस्था के हो भनेर हेरिरहेका छौं । कर्जा तीर्न नसक्ने ऋणीका लागि एउटा फण्ड बनाएर काम गर्दैछौं । अप्ठेरोमा परेको ऋणी र संस्थालाई नै पनि यसले सहयोग नै गर्छ । हिजो धितो लिँदा दुई लाख मूल्य निर्धारण गरिएको थियो भने अहिले सात लाख मूल्य निर्धारण हुन सक्छ । त्यसकारण सिनर्जी फाईनान्स नयाँ ढंगले अघि बढ्छ र आफ्नो पोजिसन सुधार गर्छ । त्यसका लागि हामीले सबै प्रक्रिया अघि बढाईसकेका छौं । छिट्टै सकारात्मक परिदृष्य देख्न सकिन्छ । डिपोजिटको साईज पनि घटेको छ, लेण्डिङ पनि घटेको छ, तपाईले योजना बनाएअनुसरा उपलब्धी हासिल कसरी हुन्छ ? हामीसँग लगानीका पर्याप्त अवसरहरु नभएर एग्रेसिभले डिपोजिट नलिएका हौं । कर्जाको कुरा गर्ने हो भने कमर्सियल बैंकले ६ देखि ७ प्रतिशतमा कर्जा उपलब्ध गराईरहेका छन् । हामी सस्तोमा निक्षेप लिएर सस्तोमै कर्जा प्रवाह गराउने योजनामा छौं । छिट्टै निक्षेपमा पनि बढाउने र कर्जा पनि बढाउने लक्ष्य छ । निक्षेपमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदरको तादम्यता मिलाएर निक्षेप र कर्जाको आकार बढाउँछौं । गत असोज मसान्तमा एक अर्ब ८० करोड निक्षेप थियो अहिले १० करोड बढेर एक अर्ब ९० करोड पुगेको छ । अब कर्जाको प्रवाह पनि बढ्छ । सबै शाखालाई टार्गेट दिईसकेका छौं । मर्जमा जाने वा आफैं पूँजी पुर्याउने हो ? अहिले बाफिया ऐनको संसोधन प्रक्रिया अघि बढेको छ । त्यसले फाईनान्स कम्पनीहरुको उदेश्य के के राख्छ ? के थपिन्छ वा के घटाईन्छ ? फाइनान्सलाई सञ्चालन गर्न सक्ने अवस्था रहन्छ वा रहन्न भन्ने पनि हेर्छाै । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको नियमको अक्षरस पालना गर्नु हाम्रो दायित्व हो । सोही अनुरुप फाईनान्स कम्पनी नै रहँदै ८० करोड पुँजी पुर्याउने कि विकास बैंकसँग मर्जमा जाने कि वा बाणिज्य बैंकसँग मर्जर वा एक्विजिसनमा जाने भन्ने सबै विकल्प खुल्ला छन् । जहाँ सहज हुन्छ त्यही सहकार्य हुन्छ । अहिले नै यहि गर्ने भन्ने निष्कर्ष निकालि सकिएको छैन । हाम्रो पहिलो लक्ष्य भनेको संस्थाको आन्तरिक वित्तय अवस्था सुधार्नु हो । अवस्था सुध्रेपछि बाणिज्य बैंकले पनि राम्रो मूल्य दिन्छन् । त्यसरी मर्जमा गईयो भने सेयरको मूल्य बढि पनि पाईन्छ र कर्मचारीको व्यवस्थापन पनि सहज हुन्छ । प्रारम्भिक चरणमा केहि संस्थाहरुसँग छलफल पनि गरिरहेका छौं । उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेछौं । यी त तत्कालिन कार्यक्रम भए, दीर्घकालिन योजना के छन् ? स्ट्याण्डर्ड चाटर्ड बैंकले नै पनि पूँजी वृद्धिको योजना बुझाउन सकिरहेको छैन । हामी त फाईनान्स कम्पनी हौं त्यो पनि नाजुक अवस्थामा पुगेको छ । केन्द्रीय बैंकले दिएको पूँजी वृद्धिको योजना अनुसार हामी अघि बढ्ने हो । त्यसका लागि सबै विकल्पहरु खुल्ला गरेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेको कम्पनीको वित्तीय अवस्था सुधार गर्ने नै हो । विकास बैंक र फाइनान्स कम्पनीहरुलाई सर्भाइभ हुन मुस्किल जस्तै देखिएको छ, कसरी अघि बढ्ने ? कतिपय विकास बैंकको सेयर मूल्य बाणिज्य बैंकको भन्दा बढी छ । डिपोजिट ग्रोथ र खराब कर्जा पनि बाणिज्य बैंकको भन्दा राम्रो देखिन्छ । ऐन कानुनले विकास बैंक र फाइनान्स कम्पनीलाई प्रशस्तै ठाउँ दिएको छ । त्यसको सदुपयोग गर्न सक्ने क्षमतामा भर पर्छ । उदेश्य, क्षेत्र र योजना साथ अघि बढियो भने खासै समस्या छ जस्तो मलाई लाग्दैन । क, ख, ग र घको वर्गिरकण हट्ने भन्ने सुनिएको छ । यद्यपी आफ्नो उदेश्य अनुसार अघि बढ्ने कुरामा समस्या नहोला । बणिज्य बैंक र विकास बैंक तथा फाईनान्स कम्पनीको ब्याजदरमा दुई गुणको अन्तर छ, यति ठूलो ब्याजदरको अन्तरलाई चिर्दै कसरी प्रतिष्पर्धा गर्ने ? घ वर्गका वित्तिय संस्थाले २० देखि २२ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । सहकारीहरुले २४ देखि २८ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । फाईनान्सले १२ देखि १८ प्रतिशतमा लगानी गरिरहेका छन् । विकास बैंकले १० देखि १४ प्रतिशतमा लगानी गरिरहेका छन् भने बाणिज्य बैंकहरुले ६ देखि १० प्रतिशतमा ऋण लगानी गरिरहेका छन् । सहकारी, फाइनान्स, विकास बैंक र बाणिज्य बैंकका आ आफ्नै प्रकारका उपभोक्ता छन् । सबैको आफ्नै बजार छ । बाणिज्य बैंक नभएको ठाउँमा विकास बैंक र फाइनान्सले बजार खोज्ने हो । कम लागतमा निक्षेप ल्याएर कम ब्याजदरमै ऋण लगानी गर्ने हो । वित्त कम्पनी र विकास बैंक तथा फाईनान्सले महंगो लागतमा निक्षेप संकलन गर्ने भएकाले ऋणको ब्याजदर पनि बढि नै हुन्छ । सबैको आफ्नै क्षेत्र र बजार छ । आत्तिनु पर्ने अवस्था छैन । तत्कालै नयाँ लगानी केमा गर्दै हुनुहुन्छ ? जीन्दगीको दुर्भाग्य भनौं, सात बर्षदेखि इन्स्योरेन्स कम्पनी पाईप लाईनमा थियो । ग्रोमर यति धेरै अघि बढि सक्यो तर इन्स्योरेन्स कम्पनी ल्याउन सकिएको छैन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटिड (जिआईसी नेपाल) नाम थियो त्यसको । तर अहिलेसम्म पनि लाइसेन्स पाउन सकिरहेको छैन् । रेगुलेटरी बडिको आफ्नै नीतिले होला सायद लाईसेन्स पाईएन । ५० वर्षको उमेर पुग्यो । धनगढीमा बाख्रा पालन सुरु गरिसकेको छु । त्यसलाई व्यवसायीक रुपले अघि बढाउने भन्दा पनि कृषि प्रधान मुलुकको गरिमा जोगाउन भनेर मात्रै बाख्रा पालन सुरु गरेको हुँ । ८० भन्दा बढि बाख्रा छन् । बेचेर पैसा कमाउने भन्दा पनि सोख हो मेरो । बच्चामा स्कुल विदा हुँदा बाख्रा चराउन जान्थे । त्यसकै सम्झनामा बाख्रा पालेको हुँ । त्यसबाट आत्म सन्तुष्ठि मिल्छ । अब १५ वर्षजति सक्रिय जीवन बाँकी होला । अब सामाजिक काम तिर लाग्छु होला । अब दिन दुःखीको सेवा गर्ने सोच बनाएको छु ।

नगद लाभांश सेयरधनीकै बैंक खातामा जम्मा गराउने काम जटिल–मर्चेण्ट बैंकर

काठमाडौं, ९ फागुन । नेपाल धितोपत्र बोर्डले सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा हुने व्यवस्था मिलाउन दिएको निर्देशनप्रति मर्चेण्ट बैंकरले असन्तुष्ठि जनाएका छन् । नविल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत समेत रहेका मर्चेण्ट बैंकर एसोसियसनका अध्यक्ष प्रविण रमण पराजुलीले सेयरधनीको नगद लाभांश तत्काल बैंक एकाउण्टमा जम्मा गर्ने व्यवस्था कार्यान्वयनका लागि जटिल रहेको बताए । ‘सेयरधनीको नगद लाभांश उनीहरुकै बैंक खातामा जानु राम्रो हो तर हामीसँग डाटाबेस राम्रो नभएकाले कार्यान्वयनमा समस्या छ’ पराजुलीले भने । उनले गतिलो तथ्यांकको अभाव भएको र सबै लगानी कर्ताको बैंक खाता समेत नहुने भएकाले खातामै नगद लाभांश पठाउने काम सहज नभएको बताए । सबै वित्तिय संस्थाहरुमा फाइल बोकेर जाने अवस्था नभएकाले पनि उक्त व्यवस्था कार्यान्वयनमा जटिलता रहेको उनको भनाई छ । ‘सबै संस्थासँग समन्वय गर्नु पर्छ, त्यो कठिन छ’ पराजुलीले भने । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयरधनीहरुको लागत संकलन गरिरहेको र सो लागत आएपछि मात्रै सेयर धनीको बैंक खातामै नगद लाभांश जम्मा गर्न सकिने उनको भनाई छ । तर सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सेयर धनीकै खातामा नगद लाभांश जम्मा गराउने व्यवस्था तत्काल कार्यान्वयन आवश्यक रहेको बताए ।‘बोर्डले दिएको निर्देशन अत्यन्तै सकारात्मक छ, त्यसको कार्यान्वयन गर्नु पर्छ, हामी तयार छौं ’ दाहालले भने । केहि बैंक तथा वित्तिय संस्थाहरुमा रहेको एबिबिएस(एनि ब्राञ्च बैंकिङ सर्भिस) चार्जका कारण आउन सक्ने समस्या समाधानका लागि  पनि बैंकर संघ तयार रहेको उनले बताए । ‘एबिबिएस चार्जले केहि समस्या ल्याउन सक्छ तर हामी बैंकरहरु त्यसको समाधानका लागि तयार छौं, सेयर धनीकै खातामा नगद लाभांश जम्मा हुने व्यवस्थाको कार्यान्वयन जरुरी छ ।’ दाहालले भने । सेयर बजारलाई प्रबिधी र लगानी कर्ता मैत्री बनाउन पनि सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा गराउने व्यवस्था अत्यावश्यक रहेको उनको भनाई छ । उता, सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले सेयर धनीको खातामै नगद लाभांश जम्मा गराउने व्यवस्थासँग मर्चेण्ट बैंकरहरुको सम्बन्ध नरहेको बताए । सेयर धनीकै खातामा नगद लाभांश जम्मा गराउने व्यवस्था सूचिकृत कम्पनीसँग सम्बन्धीत रहेकाले मर्चेण्ट बैंकरले टाउने दुखाउनु नपर्ने विश्लेषक भट्टराईको भनाई छ । ‘बोर्डले निर्देशन सूचिकृत कम्पनीलाई दिएको हो, मर्चेण्ट बैंकर भनेको बिचमा काम गर्ने निकाय हो, बोर्ड र सूचिकृत कम्पनीका बिचमा सहमति भएको बिषयमा मर्चेण्ट बैंकरले भाँजो हाल्नु हुन्न ।’ भट्टराईले भने । नेपाल धितो पत्र बोर्डले फागुन ६ गते निर्देशन जारी गर्दै सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा हुने व्यवस्था कार्यान्वयन गर्न भनेको थियो । तर मर्चेण्ट बैंकरहरु भने सो निर्देशन प्रति असन्तष्ठ रहेको श्रोत बताउँछ । श्रोतका अनुसार बैंक खातामै नगद लाभांश जम्मा हुने व्यवस्था कार्यान्वयन गर्दा मर्चेण्ट बैंकरको आम्दानी घट्ने भएकाले उनीहरु सो व्यवस्थाको विपक्षमा छन् ।

बैंकको खुद नाफा र कर्मचारी खर्च अनुपातः सवैभन्दा बढी उत्पादकत्व प्राइमको, सवैभन्दा कम कृषि विकासको

काठमाडौं, ९ फागुन । कर्मचारीको लागि सवैभन्दा कम रकम खर्च गरेर बढी खुद नाफा गर्ने बाणिज्य बैंकहरुमा प्राइम कमर्शियल बैंक अगाडि देखिएको छ । सवैभन्दा बढी रकम कर्मचारीको लागि खर्च गरेर कम खुद नाफा गर्ने बैंकमा भने कृषि विकास बैंक परेको छ । बैंकहरुले प्रकाशित गरेको गत पुस मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरण अनुसार प्राइम कमर्शियल बैंकले कर्मचारी खर्चको ५ गुणाभन्दा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्मा ४६ करोड ९२ लाख खुद नाफा गरेकोमा ८ करोड ५९ लाख ८४ हजार रुपैयाँ मात्रै कर्मचारी खर्च गरेको छ । बैंकले गरेको खुद नाफा कर्मचारी खर्चको तुलनामा ५ दशमलब ४६ प्रतिशतले बढी हो । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा कर्मचारी खर्च भन्दा निकै कम नाफा गर्ने बाणिज्य बैंकमा कृषि विकास बैंक परेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ३८ करोड ७५ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा बैंकले कर्मचारीको लागि भने १ अर्ब ३१ करोड १ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा कर्मचारी खर्चको ४ गुणाभन्दा बढी छ । सो बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ७ करोड ८१ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेकोमा सो अवधिसम्ममा २४ करोड ३० लाख ४७ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । इन्भेष्टमेन्ट बैंकले कर्मचारी खर्चभन्दा ४ दशमलब ४४ गुणा बढी खुद नाफा गरेको हो । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा नविल बैंकले कर्मचारी खर्चको तीन गुणाभन्दा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिसम्ममा बैंकले कर्मचारीको लागि ४० करोड ६४ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ । नविलले कर्मचारीको लागि गरेको खर्चभन्दा सो बैंकले गरेको खुद नाफा ३ दशमलब ३३ गुणाले बढी हो । यस्तै सानिमा बैंकले पनि कर्मचारी खर्चको भन्दा तीन गुणा बढी खुद नाफा गरेको छ । बैंकले गत पुस मसान्तसम्ममा ४० करोड ८० लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा बैंकले कर्मचारीको लागि १२ करोड ५० लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ । सानिमाले गरेको खुद नाफा कर्मचारी खर्चभन्दा ३ दशमलब २६ गुणाले बढी हो । सिद्धार्थ बैंकले कर्मचारी खर्चको २ दशमलब ७५ गुणा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ४९ करोड २८ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको थियो भने कर्मचारीको लागि १७ करोड ९४ लाख ११ हजार रुपैयाँ खर्च गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले कर्मचारी खर्चको २ दशमलब ६८ गुणा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ६१ करोड २० लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ भने कर्मचारीको लागि २२ करोड ७९ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै सेन्चुरी कमर्शियल बैंकले कर्मचारी खर्च भन्दा खुद नाफा १ दशमलब ५२ गुणाले बढी गरेको छ । गत पुुस मसान्तसम्ममा सो बैंकले १६ करोड ७ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि १० करोड ६० लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा सिटिजन्स बैंक इन्टरनेसनलले कर्मचारी खर्चभन्दा २ दशमलब ८९ गुणा बढी खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा सो बैंकले ४१ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि १४ करोड ५० लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै एभरेष्ट बैंकले कर्मचारी खर्चको २ दशमलब ३६ गुणा बढी खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा सो बैंकले ७५ करोड ३७ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि ३१ करोड ९५ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ ।

हिमालयन डिष्टिलरीमा बाबुछोराको सेयर ७५ प्रतिशत, सञ्चालक समिति कठपूतली, कम्पनी नोक्सानमा, ३६ सय सेयरधनीको हितमा कसले बोलिदिने ?

काठमाडौं, ६ फागुन । २०४२ साल साउन ९ गते स्थापना भएको हिमालयन डिस्टिलरी २०५७ सालमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भयो । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत २४० कम्पनी मध्ये मदिरा (रक्सी) उत्पादन गर्ने एक मात्र कम्पनी हो हिमालयन डिष्टिलरी । यो कम्पनीमा हाल ३ हजार ९ सय ६२ व्यक्ति तथा कम्पनी सेयरधनी छन् । भनिन्छ नेपालमा प्रतिपोका २० रुपैयाँ पर्ने रक्सी उत्पादन गरे पनि, प्रतिबोटल २ लाख पर्ने रक्सी उत्पादन गरेपनि बिक्री हुन्छ । जस्तो रक्सी उत्पादन गरेपनि उत्पादक कम्पनीहरुले नाफा कमाउँछन । तर हिमालयन डिष्टिलरीको कथा भने वेग्लै छ । सर्वसाधारणले लगानी गर्नुपूर्व यो कम्पनी संधै नाफामा थियो । सर्वसाधारणले सेयर किनेपछि लगातार १४ वर्ष नोक्सानमा गयो । १५ औ र १६ औं वर्ष सेयरधनीलाई केही नाफा वितरण गर्यो । चालु आर्थिक वर्ष फेरी कम्पनी नोक्सानमा देखाईएको छ । ६ महिनमा कम्पनी ५ करोड २८ लाख नोक्सानमा गएको वित्तीय विवरण सार्वजनिक भएको छ । कसरी गयो कम्पनी घाटामा ? कसरी चलेको छ यो कम्पनी ? को हुन् यसका वास्तविक मालिक ? कम्पनीमा संस्थागत सुशासन कस्तो छ ? विकासन्यूजले खोज गर्दा अनौठा तथ्यहरु भेटिएका छन् । यस रिपोर्टमा सेयरधनी र सञ्चालक समितिको बारेमा केही तथ्यहरु सार्वजनिक गर्दैछौं । धितोपत्र सम्बन्धि कानुन र नियम अनुसार नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत हुने कम्पनीहरुले आफ्नो वार्षिक प्रतिवेदनमा शून्य दशमलव ५ प्रतिशत भन्दा बढी स्वामित्व धारण गर्नेहरुको नाम सार्वजनिक गुर्नपर्छ । सूचिकृत प्रया सबैं कम्पनीहरुले यसको पालना गरेका छन् । तर हिमालयन डिष्टिलरीले उक्त कानुनी व्यवस्था लत्याउदै आएको भेटियो । विकास मिडियाले हिमालयन डिष्टिलरीका मुख्य सेयरधनीको सूचि माग गर्दा कम्पनीले यस्तो जवाफ दियो । जवाफ नदिनुको रहस्य त्यतिबेला पत्तालग्यो जतिबेला विकासन्यूजले सम्बन्धित स्रोतबाट कम्पनी कुल सेयर ३८ लाख ५६ हजार ४५५ कित्ता धारण गर्ने ३ हजार ९६२ व्यक्ति तथा कम्पनीको सूचि प्राप्त गर्यो । पब्लिक कम्पनी भएपनि यो कम्पनी पुरै पारिवारिक भएको, एउटा व्यक्तिले चलाएको र सबै काम एउटा व्यक्तिको स्वार्थमा हुने गरेको तथ्यहरु सेयरधनीको सूचि, सञ्चालक समितिको संरचना र सञ्चालकहरुको हैसियतले प्रष्ट पारेको छ । यो कम्पनीमा ७५ प्रतिशत सेयर विजय बहादुर शाह (उनले व्यापार थाल्दा देखि अहिलेसम्म तीन पटक नाम फेरेको भेटिएको छ । कही विजय कुमार शाह लेखिएको छ, कही विजय बहादुर शाह लेखिएको छ, कही विजय कुमार गुप्ता लेखिएको भेटिएको छ ।) र उनको छोरा राजबहादुर शाहको नाममा रहेको छ । शाह परिवारको नाममा मात्र २८ लाख ९९ हजार ३६५ कित्ता सेयर छ । यो कुल सेयरको करिव ७५ दशमलव १८ प्रतिशत हो । त्यसमा राजवहादुर शाहको नाममा २२ लाख ७० हजार ४ सय कित्ता सेयर रहेको छ भने विजय बहादुरको निजी कम्पनी डिष्टिलरीज् रिसर्ज सेन्टर प्रा लिको नाममा ६ लाख २८ हजार ९६५ कित्ता सेयर छ । कम्पनीको अध्यक्षमा श्रीमती मारग्रेट टि.जे. शाह छिन् । उनी विजय शाहकी श्रीमती हुन् । विजयका छोरा राजबहादुर सञ्चलक समितिमा सदस्यको साथै प्रबन्ध निर्देशकको हैसियतमा कार्यकारी प्रमुख छन् । यसरी कम्पनीको अध्यक्ष आफ्नो श्रीमतीलाई र कम्पनीको कार्यकारी प्रमुख छोरालाई राखेर विजय शाह सञ्चालक समिति बाहिर बसेको छन् । यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्दै आएका पंकजराज श्रेष्ठलाई शाह परिवारले हालै मात्र स्याक गरिसकेको छ । मासिक करिब ४ लाख रुपैयाँ तलव खादै कम्पनीको कार्यकारी प्रमुखको हैसियतमा राजबहादुर अगाडि आएका छन् । हिमालयन डिष्टिलरीलाई लाईसेन्स दिने बेलामा उद्योग मन्त्रालयमा सहसचिव रहेको नरेन्द्र कुमार बस्न्यात लामो समयदेखि उक्त कम्पनीमा सञ्चालक छन् । उनीसँग २५ सय कित्ता सेयर छ । नेपाल उद्योग परिसंघको अध्यक्ष समेत रहेका बस्न्यातले हिमालयन डिष्टिलरीमा शाह परिवारको ‘एसम्यान’का रुपमा काम गर्दै आएका छन् । खासगरी सरकारी निकायमा काम लिने समयमा शाह परिवारले बस्न्यातलाई प्रयोग गर्दै आएको छ । अर्का सञ्चालक अखिलेशप्रसाद सिंहसँग १६ हजार कित्ता सेयर छ । उनी यो कम्पनीका प्रवद्र्धक हुन् । उनी शाह परिवारका नातेदार हुन् । सञ्चालक समितिमा एक जना विनोद श्रेष्ठ छन् । विनोद श्रेष्ठ नाम गरेका दुई जना सेयरधनी देखिन्छन् । नाम एउटै भए पनि उनीहरु फरक व्यक्ति हुन् । सेयरधनीको बुबाको नाम र ठेगाना मिल्दैन । एउटा विनोदसँग २ हजार कित्ता र अर्को विनोदसँग १० हजार कित्ता सेयर छ । सर्वसाधारण समूहबाट निर्वाचित तीन जना सञ्चालन छन् । उनीहरु पनि शाह परिवारले बनाएको कठपूतली सञ्चालक भएको तथ्य उनीहरुले धारण गरेको सेयर संख्याबाट प्रष्ट देखिन्छ । तिनै जनासँग प्रतिव्यक्ति ११० कित्ता सेयर छ् । सञ्चालक सान्टु श्रेष्ठको नाममा ११० कित्ता सेयर छ । उनी काठमाडौं निवासी हुन् । सञ्चालक परिमल झाको नाममा पनि ११० कित्ता मात्र सेयर छ । उनी सप्तरीबासी हुन् । अर्का सञ्चालक शंकरराज पाण्डेको स्वामित्वमा पनि ११० कित्ता सेयर छ । उनी मध्यबानेश्वर निवासी हुन् । एक पटक ११ हजार रुपैयाँ लगानी गरेर कम्पनीको सञ्चालक बन्ने र प्रति बैठक १० हजार रुपैयाँ भत्ता पाउने, उपसमितिहरुमा रहेर भत्ता खान पाउने भएकोले उनीहरुका लागि यो भन्दा राम्रो अर्को कुनै कम्पनी नपाईएला । पारसमणी घिमिरे कम्पनीका स्वतन्त्र सञ्चालक छन् । बैठकमा उपस्थिति हुनु, शाह परिवारको प्रस्तावलाई अनुमोदन गर्न माइन्यूटमा सहि गर्नु, लञ्च खानु र भत्ता बुझ्नु बाहेक उनको पनि अरु कुनै भूमिका नभएको स्रोतले बतायो । सर्वसाधारणसँग ५ कित्ता र १० कित्ता सेयर यो कम्पनीको सेयरलगानी गर्ने ३ हजार भन्दा बढी सेयरधनीसँग ५ कित्ता र १० कित्ता मात्र सेयर छ । १०० कित्ता भन्दा कम सेयर धारण गर्ने ३ हजार ५ सय ६८ सेयरधनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस । एकसय कित्ता भन्दा बढी सेयर हुने व्यक्ति तथा सस्था करिव २७५ छन् । एकहजार कित्ता भन्दा बढी सेयर धारण गर्ने व्यक्ति करिव २५ जना मात्र छन् । १०० कित्ता भन्दा बढी सेयर धारण गर्ने ३ सय ९२ सेयरधनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस । विजयबहादुर शाह आफूलाई मदिरा बजारको वादशाहको रुपमा प्रचार गर्ने विजयबहादुर शाह हिमालयन डिष्टिलरी पब्लिक कम्पनी भएको, ४ हजार सेयरधनी भएको, प्रोफेशनलहरुले चलाएको, पारदर्शि भएको दावी गर्छन । तर साना र छरिएर रहेका सेयरधनीलाई कम्पनीले पुरै वेवास्ता गरेको र कम्पनी शाह परिवारले मनोमानी ढंगले चलाएको साना सेयरधनीको गुनासो छ ।

इन्भेष्टमेन्ट कम्पनीको लगानी र लगानीकर्ता खोजी गर्दै धितोपत्र वोर्ड, पूजी बजारमा शंकास्पद लगानी गरेको अनुमान

काठमाडौं, ६ फागुन । इन्भेष्ट कम्पनी मार्फत पूजी बजारमा हुने लगानी शंकास्पद देखिएपछि धितोपत्र बोर्डले अनुसन्धान थालेको छ । यस्ता कम्पनीमा भएको लगानी तथा त्यस्ता कम्पनी मार्फत हुने लगानीको विषयमा कुनै पनि नियामक निकायले खोजी नगरेपछि कारोवारप्रति शंका गर्दै बोर्डले अनुसन्धान थालेको हो । बोर्डले पहिलो चरणमा विवरण संकलन गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज र ब्रोकर कम्पनी मार्फत विवरण संकलन गरेर अध्ययन थालिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए । ‘हामीले नेपाल स्टक एक्सचेन्जसँग सन् २००७ देखि इन्भेष्टमेन्ट कम्पनीले गरेको कारोवारको विवरण र ब्रोकरहरुसँग यस्ता कम्पनीको लगानी र लगानीकर्ताको विवरण मागेका छौं, यस्तो विवरण प्राप्त भएपछि उनीहरुको लगानीका विषयमा आवश्यक देखिए थप अनुसन्धान हुन्छ,’ बोर्डका अध्यक्ष डा. कार्कीले भने । ब्रोकरले सेयर कारोवार गर्दा ‘नो योर कष्टुमर’ (केवाइसी¬) फर्म अनिवार्य रुपमा भर्नुपर्ने भएकोले उनीहरुसँग विवरण हुने आधारमा बोर्डले ब्रेकरसँग लगानी र लगानीकर्ताको विवरण मागेको हो । इन्भेष्टमेन्ट कम्पनीमा हुने लगानी र त्यस्ता कम्पनीबाट पूजी बजारमा हुने लगानीका विषयमा अहिलेसम्म नियमन र सुपरिवेक्षण हुने गरेको छैन । कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेर पछि पूजी बजारमा जतिपनि लगानी गर्न पाउने अवस्था छ । यस्ता कम्पनीमा अदृश्य रुपमा सरकारी अधिकारीहरुको लगानी भएको हुन सक्ने शंका बोर्डको छ । त्यस्ता अधिकारीले सुचनाको दुरुपयोग गरी कारोवार गरिरहेको पनि हुन सक्ने भन्दै बोर्डले अनुसन्धान थालेको हो । इन्भेष्टमेन्ट कम्पनीमा लगानीकर्ताले आफ्नो आम्दानीको स्रोत देखाउनु पर्दैन । यही सुविधा प्रयोग गर्दै केही शंकास्पद लगानी पनि भएको हुन सक्ने शंका बोर्डले गरेको छ । इन्भेष्टमेन्ट कम्पनीको नाममा पूजी बजारमा बर्सेनि अर्बाै रुपैयाँ बराबरको कारोवार हुने गरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । अहिले अदृश्य रुपमा बैंक तथा वित्तीय संस्थाले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने र त्यसै मार्फत पूजी बजारमा लगानी गर्ने गरेको शंका बोर्डको छ । यस्तै अधिकांश सहकारी संस्थाहरुले पनि इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर त्यसै मार्फत सेयर कारोवार गर्ने गरेका छन् । जलविद्युत आयोजना निर्माताले पनि इन्भेष्टमेन्ट कम्पनी मार्फत सेयर बजारमा कारोवार गर्ने गरेका नेप्सेको भनाइ छ ।