बैंक अफ काठमाण्डू लुम्बिनीको सीईओमा अजय श्रेष्ठ नियुक्त
काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जभएर आजदेखि एकिकृत कारोबार शुरु गरेको बैंक अफ काठमाण्डू लुम्बनीको प्रमुख कार्यकारी अधिकृत पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । मर्जपछि बनेको सञ्चालक समितिको असार २९ गते बसेको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । श्रेष्ठले विगत ८ वर्षदेखि बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए । ‘श्रेष्ठको कार्यशैली र प्रर्फमेन्स दुबै राम्रो थियो । नयाँ बोर्डले आगामी चार वर्षको लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको छ’ बैंकका एक सञ्चालकले विकासन्युजसँग भने । शालीन, सरल र मिहेनती बैंकर्सको रुपमा उनलाई धेरैले चिन्ने गरेका छन्। तत्कालीन ग्रिण्डलेज बैङ्कमा सहायकस्तरको कर्मचारीबाट सेवा शुरू गरेका उनले बैकिङ क्षेत्रमा तीन दशक काम गरिसकेका छन् । श्रेष्ठले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । २० वर्ष पुरानो बैंक अफ काठमाण्डू र १८ वर्ष पुरानो लुम्बिनी बैंक मर्जपछि आजबाट एकिकृत कारोबार शुरु गरेको छ । एकिकृत कारोबारको उद्घाटन राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले गरेका छन् ।
विकास निर्माणका परियोजनाले अझै गति लिन सकेन, २२ मध्ये ११ वटा मात्र लागु
काठमाडौं, ३० असार । एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकासका निम्ति सञ्चालन गरेका विकास–निर्माणका परियोजना द्रुत गतिमा कार्यान्वयन नभएकामा गम्भीर चिन्ता व्यक्त गरेको छ । उक्त बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालन भएका विकास परियोजनाको प्रगतिबारे बिहीबार यहाँ भएको समीक्षा बैठकमा लक्ष्यअनुरुप काम हुन नसकेको भन्दै बैंकका उच्च अधिकारीबाट चिन्ता व्यक्त भएको हो । यहाँस्थित उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामाले अघिल्लो समीक्षा बैठकबाट ऊर्जा क्षेत्रका चार परियोजनाका काम द्रुत गतिमा कार्यान्वयन गर्न २२ वटा कार्ययोजना निर्धारण गरिएकामा ११ वटा कार्ययोजना मात्र लागू भएका बताए । ती आयोजनाले सात वटा लक्ष्य पूरा नगरेका र चार वटा कार्ययोजना पालना नभएको वास्तविकता उनले औँल्याए। जलसम्बन्धी परियोजना र अन्य सहरी पूर्वाधार, यातायात, शिक्षा, कृषि, प्राकृतिक स्रोत र ग्रामीण विकासका आयोजनामा पनि लक्ष्यअनुरुप कार्यसम्पादन हुन नसकेको बताउँदै उनले त्रिभुवन विमानस्थल विस्तार आयोजना माटो अभावका कारण ठप्प भएकामा दुःख व्यक्त गरे । परियोजना व्यवस्थापन पनि कमजोर रहेको उनले बताए । पशुपति क्षेत्र विकास कोषले विमानस्थल विस्तार आयोजनाका निम्ति आवश्यक पर्ने माटो परियोजनालाई नदिने भन्दै सरकारी निर्णय विपरीत विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त आयोजना प्रभावित भएको छ । अन्य परियोजनामा पनि जग्गा प्राप्ति, वन क्षेत्रसम्बन्धी विषय टुङ्गो नलाग्दा विकास आयोजनाका काम लक्ष्यअनुरुप सम्पादन हुन सकेका छैनन् । बैठकमा नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीले आन्तरिक एवम् बाह्य कारणले विकास आयोजनाका काम द्रुत गतिमा हुन नसकेका स्वीकार गर्दै अन्तरमन्त्रालय समन्वय र सहकार्यलाई आफूहरूले विशेष जोड दिएको बताए । एडिबीको सहयोगमा हवाई यातायात क्षमता अभिवृद्धि, दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास, विद्युत् प्रसारण विस्तार तथा आपूर्ति सुधार, तनहुँ जलविद्युत् आयोजना, नेपाल ऊर्जा क्षेत्र सुधार, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका, ढल निकास व्यवस्थापन, काठमाडौं उपत्यका खानेपानी सुधार, एकीकृत सहर विकास तथा सहरी वातावरणीय सुधार, सडक सञ्जाल विस्तार, भूकम्पपछिको आकस्मिक सहयोग, विद्यालय क्षेत्र विकास योजना तथा सीप विकास परियोजना, विकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीवनयापन, पुँजी बजार एवम् पूर्वाधार क्षमता विकासलगायत परियोजना सञ्चालनमा छन् । रासस
मौद्रिक नीति आज
काठमाडौं, ३० असार । आगामी आर्थिक वर्षको मौद्रिक नीति आज(बिहिबार) सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले दिउँसो २ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । यस अघि असार २६ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएपनि आन्तरिक तयारी पुरा नभएको भन्दै पर सारिएको थियो ।
लघुवित्तको लाइसेन्स माग्दै सयभन्दा बढी आवेदन
काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षदेखि लघुवित्त संस्थाको लाइसेन्स दिन रोक्ने चर्चा चलेसँगै यस्तो संस्था संचालनको अनुमति माग्नेको भिड लागेको छ । गत मंगलवार मात्रै लघुवित्त संचालनको अनुमतिका लागि १० नयाँ आवेदन परेको छ । नयाँ कम्पनी दर्ता रोकिनुअघि नै दर्ता भएका कम्पनीले लाइसेन्स पाउने आशामा यसरी कम्पनी दर्ताको संख्या बढेको हो । यद्यपि लाइसेन्स रोकिदा अहिले दर्ता भएका कम्पनीलाई अनुमति दिने वा नदिने र लाइसेन्स नै रोक्ने नरोक्ने सम्बन्धमा राष्ट्र बैंकले कुनै जानकारी दिएको छैन । ‘वित्तीय सेवा नपुगेका ठाउको लागि भनेर लघुवित्तको लाइसेन्स खुल्ला राखिएको हो, अन्य बैंक वित्तीय संस्था भएकै ठाउमा लघुवित्त खोल्ने र सेयर मूल्य माथि पुर्याएर रातारात धनी हुने प्रवृत्ति मात्रै देखिएकोले रोक्ने कि भन्ने चर्चा चलेकै हो, तर निर्णय मौद्रिक नीतिमा आउछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । ‘लघुवित्तको लाइसेन्स रोक्ने हल्ला चलेपछि मंगलबार मात्रै १० नयाँ कम्पनीको इजाजत माग्दै निवेदन परेको छ, एक महिना अगाडिसम्म ४० कम्पनी अनुमति माग्दै पाइप लाइनमा थिए, अहिले यस्तो संख्या सय नाघ्यो,’ ती अधिकारीको भनाइ छ । राष्ट्र बैंकले विहिवार अपरान्ह मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरे पनि त्यस्तो तयारीको जानकारी अझै दिएको छैन । मौद्रिक नीति मार्फत अनिवार्य नगद अनुपात (सिआरआर) शुन्य दशमलब ५ प्रतिशतले बढाउने चर्चा चलेको छ । यस्तै तरलताको दीर्घकालिन ब्यवस्थापनको लागि रिपो र रिभर्स रिपोको ब्यवस्था खुल्ला राख्ने नीतिगत ब्यवस्था हुन सक्ने बताइएको छ ।
माछापुच्छ्रे बैंकको बोनस सेयर साउन ४ गतेदेखि
काठमाण्डौ ३०, असार । माछापुच्छ्रे बैंक लिमिटेडले साउन ४ देखि साउन १० सम्ममा बोनस सेयर वितरण गर्ने जनाएको छ । बैंकको सत्रौँ वार्षिक साधारण सभाको निर्णय अनुसार १६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न लागेको हो । डीम्याट खाता भएको शेयरधनीको खातामा बोनस सेयर सिधैं जम्मा हुने र डीम्याट खाता नभएका शेयरधनीहरुलाई माछापुच्छ्रे बैंक लिमिटेडको सेयर विभागमा प्रमाणपत्र लिन सकिने बैंकले जनाएको छ । साथै, उक्त बोनस सेयर डीम्याट खाता मार्फत अभौतिक रुपमा लिन चाहने शेयरधनीले साउन २ सम्मामा डीम्याट खाता खोली बैंकलाई जनकारी गराएमा बोनस सेयर सोही खातामा जम्मा गरिने बैंकले जनाएको छ ।
एनसीसी र आईडी बैंकको विशेष साधारणसभा सम्पन्न, मर्ज प्रस्ताव पारित
काठमाडौं, ३० असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले अन्य पाच वटा सस्थासँग गाभ्ने गाभिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि इन्फ्रास्ट्रक्चर डेभलपमन्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट (आईडी) बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट विशेष साधारण सभा गरेर मर्जको प्रस्ताव पारित गरिसकेका छन् । सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न/गराउन बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मर्जर प्रयोजनको लागि सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न नियुक्त लेखापरीक्षकले तयार पारेको सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए रिपोर्ट) अनुसार सेयर स्वाप रेसिया पनि साधारण सभाले पारित गरेको छ । नेटवर्थका आधारमा एनसीसी बैंक लि. को एक शेयर बरावर कुमारी बैंक लि. को एक शेयर, (१ः१), इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७), इण्टरनेशनल डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात तीन शेयर (१ः०.७३), एपेक्स डेभलपमेण्ट बैकको शुन्य दशमलव चार आठ शेयर (१ः०.४८) र सुप्रिम डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७) हुनेगरी स्वाप रेसियो सम्बन्धी विशेष प्रस्ताव पारित गरेको जनाइएको छ ।
इन्भेष्टमेन्ट बैंकको एफपीओ सेयर प्रमाणपत्र आयो
काठमाडौं, ३० असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)को सेयर प्रमाणपत्र वितरण शुरु भएको छ । बैंकले असार ३० गतेदेखि एफपीओको प्रमाणपत्र वितरण शुरु गरेको जनाएको छ । उक्त सेयर आवदेन गर्दा हितग्राही खाता (डिम्याट एकाउन्ट) उल्लेख गरेका आवदेकको सेयर सोझै डिम्याट एकाउन्टमा जम्मा हुने बैंकले जनाएको छ । डिम्याट एकाउन्ट नखुलाएका आवेदकले भने सेयर प्रमाणपत्र दिन आवेदन बुझाएको संकलन केन्द्रमा जानुपर्ने बैंकले जनाएको छ ।
मोबाइलमा पोर्नोग्राफी हेर्ने गर्नुभएको छ, होसियार ! तपाइको स्क्रिन लक हुनसक्छ
काठमाडौं २९ असार। तपाईँ आफ्नो मोबाइलमा पोर्नोग्राफी हेर्नुहुन्छ? बताउन चाहने वा नचाहने तपाईँको कुरा हो। अडल्ट इन्टरटेनमेन्टमा पोर्नो मुभी सबैभन्दा बढी हेरिनेमा पर्छ। आफ्नो मोबाइलमा निशुल्क उपलब्ध हुने पोर्नो एप्स राख्नु भएको छ भने त्यो खतरनाक हुनसक्छ। ह्याकरहरुले लक स्क्रिन मलवेयर विकास गरेका छन् जुन तपाईँले डाउनलोड गरेको पोर्नोग्राफी एपमा लुकाएर राखिएको हुनसक्छ। उनीहरुले स्क्रिन नै लक गर्न सक्छन्। साथसाथै उनीहरुले मोवाइलको डाटा चोरी गर्ने तथा थाहा नपाउने गरेर भाइरस पठाउने गर्दछन् जसका कारण तपाइको महत्वपुर्ण डेटाहरु लिक हुन सक्छ र पछि समस्यामा पर्न सक्नुहुन्छ। डेल सेक्युरिटी विज्ञ अलेक्स डवरोभस्की र उनको टिमले गरेको अनुसन्धानले पत्ता लागेको तथ्य हो – पोर्नोग्राफी एप बनाउनेले मलवेयरहरु लुकाएर छिराउने गर्छन् जुन तपाईँले नचाहँदा नचाहँदै मोबाइललाई सखाप पार्न पर्याप्त हुन्छ। ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको एन्ड्रोइड डिभाइसमा युजरको स्क्रिन ओभरराइड हुँदै लक हुनसक्छ। र यसरी लक भएको मोबाइल स्क्रिन तपाईँले खुलाउनै नसक्ने पनि हुनसक्छ। त्यसैले मोवाइलमा पाेर्नोग्राफि हेर्नुभन्दा पहिले एकपटक विचार गर्नुहोस र अाफ्नो डेटालाई सुरक्षित राख्नुहोस्।