ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने कल्पना पनि गर्न सकिन्नः कंसाकार
१५ जेठ । नेपाल बायु सेवा निगमका नवनियुक्त महाप्रबन्ध सुगतरत्न कंसाकारले ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिनेबारे कल्पना समेत गर्न नसकिने बताएका छन । नवनियुक्त पर्यटन मन्त्री कृपाशुर शेर्पालाई नै ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने योजना सहित मन्त्री बनाईएको आंशका गरिएका बेला महाप्रबन्धको यस्तो धारणा आएको हो । यति एयरलाईन्सका मालिकसँग नजिकको सम्बन्ध रहेको दावी गरिएका मन्त्री शेर्पाले नियुक्त गरेका महाप्रबन्धले नै ग्राउण्ड ह्याण्डलिङ निजी क्षेत्रलाई दिने कुरा सोच्नै नसकिने स्पष्ट पारेका हुन । उनले भने–अहिलेकै अवश्थामा ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने सम्भावनै छैन । यो कल्पना भन्दा बाहिरको कुरा हो । अन्तराष्ट्रिय उडानबाट निगम बोनस बाँड्न सक्षम भएपछि मात्रै ग्राउण्ड ह्याण्डलिङबाट हात झिक्ने पनि उनले स्पष्ट पारेका छन । ‘हामीले अन्तराष्ट्रिय उडानबाट नाफा नकमाउँदासम्म ग्राउण्ड ह्याण्डलिङ अरु कम्पनीले पाउँदैनन् । हामी नाफामा गएर बोनस खान सक्नेभएपछि आफैं भन्नेछौं अब हामीलाई यो काम चाहिएन भनेर भन्छौं ।’ उनले भने । निजी कम्पनीले लिनेबित्तिकै ग्राउण्ड ह्याण्डलिङमा सुधार आउँछ भन्ने मान्यता भारतको असफलताले पुष्टि गरिसकेको उनको भनाई छ । उनी भन्छन–‘निजी कम्पनीलाई दिने वित्तिकै ग्राउण्ड ह्याण्डलिङमा सुधार आउँछ भन्ने कुरा गलत भएको तथ्य देखिईसकिएको छ भारतबाट ।’ संसारभर ग्राउण्ड ह्याण्डलिङमा ध्वजा बाहक कम्पनीले प्राथमिकता पाउँदै आएको बताउँदै उनले नेपालमा पनि सोही नियम लागु हुने दावी पनि गरे ।
शेष घले बने अष्ट्रेलिया ९९ औं धनाढ्य, कुल सम्पति ५३ अर्ब ८६ करोड रुपैंयाँ
१५ जेठ । गैर आवासिय नेपाली संघ(एनआरएन)का अध्यक्ष शेष घले अष्ट्रेलियाको ९९ औं धनाढ्य बनेका छन । ५३ अर्ब ८६ करोड ८६ लाख नेपाली रुपैंयाँ सहित उनी अष्ट्रेलियाको ९९ औं धनाढ्य बनेका हुन । सन २०१५ को दुई सय जना अष्ट्रेलियन धनाढ्यहरुको सुचि सार्वजनिक गरेको विजनेश विक्ली रिभ्युका अनुसार घलेले एक बर्षमा एक सय ८३ मिलियन डलर अर्थात एक अर्ब ८९ अर्ब सम्पति वृद्धि गरेका छन् । सन २०१४ मा घलेको सम्पति ३५ अर्ब ९१ करोड मात्रै थियो । उनी अघिल्लो बर्ष अष्ट्रेलियन धनाढ्यको सुचिमा एक सय ५० औं नम्बरमा थिए । यसैबिच घलेकी श्रीमति जमुना घले पनि अष्ट्रेलियन धनाढ्य महिलाहरुको सूचिमा एक सय नम्बरमा परेकी छिन । गत बर्ष उनी एक सय ५१ औं स्थानमा थिईन ।
सहुलियत ब्याजदरको कर्जाः बैंकर्सका माग समेटिए, सर्वसाधारणका अटाएनन्
काठमाडौं, १४ जेठ । भूकम्पले भत्किएका घर बनाउन सहुलियत ब्याजदरमा प्रदान गरिने कर्जाको कार्यविधिमा बैंक तथा वित्तीय संस्थाको माग मात्रै सम्बोधन गरिएको छ । बैंकर्सले राखेका एक बर्ष अवधि कर्जाको किस्ता तिर्नु नपर्ने, कर्जा दिदा लाग्ने अन्य शुल्क लिन पाउनु पर्ने जस्ता माग सम्बोधन गरिए पनि पिडितले सहज रुपमा कर्जा पाउने ब्यवस्था भने गरिएको छैन । राष्ट्र बैंकले भूकम्पको कारण क्षति भएको घर बनाउन २ प्रतिशत ब्याजमा कर्जा दिने कार्यविधि तयार गरी लागू गरेको छ । यस्तो कर्जा लिदा बीमा, धितो मूल्यांकन, कर्जा सुचना केन्द्र र कर्जा सुरक्षण गरेवापत लाग्ने शुल्क ऋणी आफैले तिर्नुपर्ने ब्यवस्था गरिएको छ । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको कार्यविधिको मस्यौदामा २ प्रतिशत ब्याज वाहेक अन्य कुनै पनि प्रकारका शुल्क नलाग्ने भनेको थियो । यस्तो कर्जा प्रदान गर्नको लागि राष्ट्र बैंकले शुन्य ब्याजदरमा रकम उपलब्ध गराउने र बैंक वित्तीय संस्थाले २ प्रतिशत ब्याजमा कर्जा लगानी गरिने भनिएको थियो । बैंक वित्तीय संस्थाका अधिकारीले घटिमा पनि ३ प्रतिशत ब्याज लिन नपाउने हो भने कर्जा लगानी गर्न नसकिने बताउदै आएका थिए । अहिले थप गरिएका शुल्क समावेश गर्दा यस्तो कर्जाको ब्याजदर ३ प्रतिशत नै पुग्ने देखिन्छ । राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जाको अधिकतम सीमा काठमाण्डौ उपत्यकामा प्रति घरपरिवार २५ लाख र उपत्यका बाहेकका प्रभावित जिल्लामा १५ लाख रुपैयाँसम्मको ऋण सुविधाको आवासीय घर पुनर्निर्माण प्रयोजनका लागि प्रदान गर्न सकिने ब्यवस्था गरिएको छ । यो सुविधा ऋणी तथा निजको परिवारमा बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने भनिएको छ । ब्याज दर परिवर्तन गर्न नपाइने यस्तो कर्जामा ब्याज तथा तेश्रो पक्षलाई भुक्तानी गर्नु पर्ने (बीमा, धितो मूल्यांकन, कर्जा सूचना, कर्जा सुरक्षण शुल्क) लागत बराबरको शुल्क भने ऋणीले नै तिर्नुपर्ने उल्लेख गरिएको छ । शुरुको एक वर्ष ग्रेस अवधि हुने गरी यस्तो कर्जाको न्युनतम अवधि ५ वर्ष र अधिकतम १० बर्षसम्मको हुनेछ । कुनै ऋणीले अग्रीम भुक्तानी गर्न चाहेमा कुनै पनि प्रकारको अग्रीम भुक्तानी शुल्क लाग्ने छैन । यस्तो पुनरकर्जा सुविधा एक पटक को लागि बढीमा १ बर्षको लागि मात्र प्रदान गरिनेछ र विद्यमान कानूनी व्यवस्थाको अधिनमा रही निरन्तरता हुने व्यवस्था मिलाइने राष्ट्र बैंकको भनाइ छ ।तर, बैंक तथा वित्तीय संस्थाबाट घर कर्जा उपभोग गरिरहेका ऋणीहरुको सोही घर क्षतिग्रस्त भई पुनः कर्जा लिनु परेको अवस्थामा कर्जाको अवधि बढीमा पन्ध्र बर्ष सम्म हुनेछ । बैंक वा वित्तीय संस्थाले आवासीय घर पूनर्निर्माण कर्जा प्रवाह गर्दा निर्माण प्रगतिका आधारमा कम्तिमा चार चरणमा भुक्तानी हुने गरी प्रवाह गर्नुपर्नेछ । आवासीय घर पुनर्निर्माण गर्दा राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रति रोधात्मक मापदण्डको पालना गरेको हुनु पर्ने छ । बैंक वा वित्तीय संस्थाले नेपाल सरकारको सम्वन्धित निकाय वा स्थानीय निकाय (नगरपालिका/ उपमहानगरपालिका /महानगरपालिका /वडा कार्यालय /गा.वि.स.) को भूकम्प पीडित भई आवासीय घर क्षतिग्रस्त भएको र ऋणीको परिवारमा अन्य कुनै आवासीय घर नभएको प्रमाण अनिवार्य रुपमा लिनु पर्नेछ । यस्तो कर्जा सामान्यतः वीमा गरेको हुनु पर्नेछ । कर्जाको बीमा गरेको अवस्थामा कर्जा वर्गीकरणका आधारमा हरेक वर्गमा कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थाको २५ प्रतिशतका दरले मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ । यस्तो कर्जा प्रवाह गर्दा बैंक वा वित्तीय संस्थाले सम्बन्धित संस्थाको विद्यमान घरकर्जा सम्बन्धी नीतिगत व्यवस्थाको अधिनमा रही ग्राहकको कर्जा तिर्न सक्ने क्षमता लगायत सुरक्षणका स्पष्ट आधार लिई कर्जा स्वीकृत तथा प्रवाह गर्नुपर्ने भनिएको छ । यस्तो ब्यवस्थाको कारण ग्रामीण क्षेत्रका सर्वसाधारणलाई कर्जा लिन कठिनाइ हुने छ । केहि दिन अगाडि नेपाल बैंकर्स एसोसिएसनले यस्तो कर्जामा सरकारी जमानत प्राप्त हुने हो भने लक्षित बर्गले फाइदा लिन सक्ने धारणा सार्वजनिक गरेको थियो ।
सानिमा बैंकको खराब कर्जा सबैभन्दा कम, प्रभु र कृषि विकास बैंकले नाघे सिमा
१३ जेठ । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका २४ वटा बाणिज्य बैंकहरुमध्ये प्रभु बैंक र कृषि विकास बैंकको खराब कर्जा उच्च देखिएको छ । यी दुबै बैंकको खराब कर्जा बैंक तथा वित्तिय सस्था सम्बन्धी ऐनले तोकेको भन्दा बढि छ । देवी प्रकाशभट्टचन अध्यक्ष रहेको प्रभु बैंकको खराब कर्जा १० दशमलब ७८ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही समयमा २३ दशमलब ७२ प्रतिशत खराब कर्जा रहेको बैंकले सुधार गरिररहेको देखिन्छ । प्रभु बैंकल खराब कर्जाको जोखिम वापत ६५ करोड ८५ लाख रुपैंयाँ प्रोभिजन गरेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंकको पनि खराब कर्जा वाफिया ऐनले तोकेको भन्दा बढि छ । चैत मसान्तसम्ममा यो बैंकको खराब कर्जा ५ दशमलब ४१ प्रतिशत रहेको छ । गत बर्षको सोही अवधीमा कृषि विकास बैंकको खराब कर्जा ६ दशमलब ४३ प्रतिशत रहेको थियो । बैंकले खराब कर्जाको जोखिम वापत एक अर्ब एक करोड रुपैंयाँ प्रोभिजन गरेको छ । वाफिया ऐनले खराब कर्जा ५ प्रतिशत भन्दा बढि भएमा वित्तिय संस्थाहरुको कारोबारमा केहि अंकुश लगाउने गरेको छ । केन्द्रिय बैंकले पाँच प्रतिशत भन्दा बढि खराब कर्जा भएका बैंकहरुलाई नयाँ कर्जा प्रवाह तथा निश्चित भन्दा बढि निक्षेप संकलनमा समेत रोक लगाउँछ । सानिमाको खराब कर्जा सबै भन्दा कम नौ महिनासम्ममा सबै भन्दा कम खराब कर्जा भएको बैंकका रुपमा सानिमा बैंक स्थापित भएको छ । यो बैंकको कुल खराब कर्जा शुन्य दलमलब १० प्रतिशत मात्रै रहेको छ । सानिमा बैंकले खराब कर्जाको जोखिम व्यवस्थापनका लागि १० करोड ५८ लाख मात्रै प्रोभिजन गरेको छ । त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल एसबिआइ बैंकको खराब कर्जा पनि न्युन रहेको छ । यी दुबै बैंकको खराब कर्जा शुन्य दशमलब १८ प्रतिशत मात्रै रहेको छ । नौ महिनाको अवधीमा अधिकांश बैंकले खराब कर्जा घटाउने प्रयास गरेको देखिन्छ । कुमारी बैंकले भने ३ दशमलब ६९ प्रतिशतबाट बढाएर खराब कर्जा ३ दशमलब ९८ पुर्याएको छ । राष्ट्रिय बाणिज्य बैंकको खराब कर्जा ४ दशमलब ७७ प्रतिशतबाट घटेर ३ दशमलब ५३ प्रतिशतमा आईपुगेको छ । अन्य सबै बैंकको खराब कर्जा तीन प्रतिशत भन्दा कम रहेको छ ।
राहत वितरणमा अर्थमन्त्रीको दादागिरी, नुवाकोटमा एक अर्ब चार करोड निकासा हुँदा सिन्धुपाल्चोकमा ५६ करोड मात्रै
१२ जेठ । बैशाख १२ गते गएको महाभूकम्पपछिको राहत वितरणमा सरकारले चरम विभेद गरेको देखिएको छ । सरकारले सबै भन्दा बढि धनजनको क्षति भएको सिन्धुलाल्चोकमा भन्दा नुवाकोटमा दुई गुणा बढि रकम निकासा गरेको सार्वजनिक भएपछि सरकारी विभेदको पर्दा खुलेको हो । अर्थमन्त्री डा.रामशरण महतको गृह जिल्ला नुवाकोटमा उद्धार तथा राहतका लागि एक महिनामा एक अर्ब चार करोड निकासा भएको छ । तर सबै भन्दा बढि मानिविय तथा भौतिक क्षति पुगेको सिन्धुलाल्चोकमा भने जम्मा ५६ करोड ७१ लाख मात्रै निकासा भएको छ । महाभूकम्पमा परि सिन्धुपाल्चोकमा तीन हजार चार सय २४ जनाको मृत्यु भएको छ भने ६३ हजार आठ सय ८५ घर पुर्णरुपले ध्वस्त भएका छन् । एक हजार ५८ जनाको मृत्य र ५७ हजार नौ सय ४३ घर नष्ट भएको नुवाकोटमा भने सरकारले सिन्धुपाल्चोकको भन्दा झण्डै दुई गुणा बढि अर्थात एक अर्ब चार करोड ५९ लाख निकासा गरेको हो । महाभूकम्पले पारेको क्षतिको आधारमा नुवाकोट तीन नम्बरमा पर्छ । दोश्रो धेरै क्षतिको भएको जिल्लाका रुपमा रहेको काठमाडौंमा एक हजार दुई सय १६ जनाले ज्यान गुमाएका छन् भने ३६ हजार नौ सय ७३ घर ध्वस्त भएका छन् । सरकारले काठमाडौंका लागि भने एक महिनामा ३१ करोड तीन लाख मात्रै निकासा गरेको देखिन्छ । सरकारले एक महिनाभित्र निकासा गरेको पाँच अर्ब ५३ करोड १५ लाख रुपैंयाँमध्ये भूकम्प प्रभावित बिभिन्न १६ जिल्लामा चार अर्ब ३५ करोड ६६ लाख उपलब्ध गराएको छ । अर्थमन्त्री डा.रामशरण महतले आफ्नो हात जगन्नाथकै शैलीमा नुवाकोटमा धेरै रकम निकासा गरेका हुन् । जिल्लागत रकम निकासा सरकारले हालसम्म रसुवामा १३ करोड आठ लाख, धादिङमा ३६ करोड ९७ लाख, काभ्रेमा २३ करोड ८७ लाख, सिन्धुलीमा १९ करोड ३४ लाख, ओखलढुङगामा १० करोड १८ लाख, रामेछापमा २२ करोड २४ लाख रुपैंयाँ निकासा गरेको देखिन्छ । त्यस्तै गोरखामा २८ करोड सात लाख, दोलखामा ३५ करोड, मकवानपुरमा नौ करोड, काठमाडौंमा ३१ करोड तीन लाख, ललितपुरमा ११ करोड ७१ लाख, भक्तपुरमा १४ करोड ६७ लाख, लमजुङमा पाँच करोड ५५ लाख र तनहुँमा चार करोड चार लाख रुपैंयाँ निकासा गरिसकेको छ । यस्तो छ विदेशीले दिएको राहत सहयोग
२४ बाणिज्य बैंकको नाफा १८ अर्ब २० करोड, चारवटा बैंकले कमाए २० वटाको बराबर नाफा
११ जेठ । २४ वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको नौ महिनामा १८ अर्ब २० करोड रुपैंयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका ३० वटा बैंक मध्ये हालसम्म तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका २४ बैंकहरुले चैत मसान्तसम्ममा सो नाफा कमाएका हुन् । २० वटा बैंकको नाफा बराबर चार वटा बाणिज्य बैंकहरुले नै नाफा कमाएको पनि देखिएको छ । २० वटा बाणिज्य बैंकहरुको कुल नाफा ९ अर्ब ९७ करोड देखिएको छ भने अन्य चारवटा बैंकहरुले आठ अर्ब २३ करोड नाफा कमाएका छन् । चारवटा बैंकहरुले एक अर्ब भन्दा बढि नाफा कमाएका हुन् । यसरी अर्ब बढि कमाउने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक रहेका छन् । सबै भन्दा बढि नाफा कमाउने बैंकमा राष्ट्रिय बाणिज्य बैंक देखिएको छ । यो बैंकले चैत मसान्तसम्ममा चार अर्ब ६ करोड नाफा कमाएको छ भने नविल बैंकले दोश्रो स्थानमा रहँदै एक अर्ब ६३ करोड नाफा कमाएको छ । यद्यपी नविलले गत बर्षको सोही अवधीको तुलनामा भने एक करोड नाफा घटाएको छ । बढि मुनाफा कमाउने तेश्रो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यो बैंकले नौ महिनामा एक अर्ब ५३ करोड नाफा गरेको छ । चौथो स्थानमा रहँदै कृषि विकास बैंकले एक अर्ब एक करोड नाफा आर्जन गरेको छ । थोरै नाफा कमाउने बैंकहरुको पहिलो नम्बरमा जनता बैंक परेको छ । यो बैंकले जम्मा १३ करोड ४६ लाख मात्रै नाफा कमाएको देखिन्छ । त्यस्तै सेन्चुरी बैंकले पनि नौ महिनामा जम्मा १६ करोड ३० लाख मात्रै कमाएको छ । सिभिल बैंकले पनि थोरै कमाउने बैंकहरुको सुचिमा पर्दै जम्मा १९ करोड पाँच लाख मात्रै नाफा आर्जन गरेको छ ।
निर्यात ब्यापार ४ अर्बले घट्यो
११ जेठ । गत बर्षको भन्दा यो बर्ष निर्यात ब्यापार ४ अर्ब रुपैयाँले कम भएको छ । गत बर्षको चैत मसान्तको भन्दा यो बर्षको सोही अवधिमा निर्यात ब्यापार ४ अर्ब रुपैयाँले कम भएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत बर्षको चैत मसान्तसम्ममा ६८ अर्ब १२ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएकोमा चालु आर्थिक बर्षको सोही अबधिमा ६४ अर्ब २८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । गत बर्षको सोही अवधिको तलुनामा निर्यात ब्यापार चालु आर्थिक बर्षको सोही अवधिमा ५ दशमलब ६ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत बर्षको सोही अवधिमा यस्तो निर्यात १९ दशलमब २ प्रतिशतले बढी ६८ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । मासिक रुपमा चालू आर्थिक वर्षको चैत महिनामा कुल वस्तु निर्यात फागुन महिनाको तुलनामा १० दशमलब ९ प्रतिशतले बढेको छ । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको नौ महिनासम्ममा २० दशमलब ६ प्रतिशतले बढेकोमा यो बर्ष ८ दशमलब २ प्रतिशतले घटेको छ । अलैंची, जिङ्क शीट, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो । चीनतर्फको निर्यात भने अघिल्लो वर्षको सोही अवधिमा ११ दशमलब ९ प्रतिशतले बढेको तुलनामा यो अवधिमा ८ दशमलब १ प्रतिशतले बढेको छ । प्रशोधित छाला, हस्तकलाका सामान, तयारी पोशाक, नुडल्स लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात बढेको हो । अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १६ दशमलब ८ प्रतिशतले बढेकोमा यो अवधिमा १ दशमलब २ प्रतिशतले घटेको छ । विशेषतः दाल, प्रशोधित छाला, ऊनी गलैंचा, नेपाली कागज र कागजका सामान लगायतका वस्तुहरुको निर्यात घटेको कारण अन्य मुलुकतर्फको निर्यात घटेको हो । यो अवधिमा कुल वस्तु आयात १० दशमलब ५ प्रतिशतले बढेर ५ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ दशमलब ७ प्रतिशतले वृद्धि भई ५ दशमलब २२ अर्ब १९ करोड रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रास तथा सुन, सुपारी, एम एस वायर रड, कोइला, धागो लगायतका वस्तुहरुको आयात घटेको कारण समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो । मासिक रुपमा हेर्दा चैत महिनामा कुल वस्तु आयात फागुन महिनाको तुलनामा १० दशमलब १ प्रतिशतले बढेको छ । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको २९ प्रतिशत वृद्धिको तुलनामा यो अवधिमा ४ दशमलब ६ प्रतिशतले बढेको छ । भारतबाट मुख्यतया यातायातका साधन तथा पाटपुर्जा, चामल, एम.एस विलेट, मेशिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो । चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १४ दशलमब ५ प्रतिशत वृद्धिको तुलनामा यो अवधिमा ५१ दशलमब ९ प्रतिशतको उच्च दरले बढेको छ । मुख्यतयाः मेशिनरी तथा पाटपूर्जा, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, विजुलीका सर सामान, रासायनिक मल लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाटको आयात वृद्धि भएको हो । अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको ३० दशमलब ५ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ९ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी चाँदी, हवाइजहाजका पाटपूर्जा, खाने तेल, कच्चा पाल्म तेल लगायतका वस्तुहरुकोे आयात बढेको कारण अन्य मुलुकबाट भएको आयात बढेको हो । ब्यापार घाटा ५ खर्ब १३ अर्ब कुल वस्तु व्यापार घाटा १२ दशमलब ९ प्रतिशतले वृद्धि भई ५ खर्ब १२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २९ दशमलब १ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये भारत, चीन र अन्य मुलुकसँगको व्यापारघाटा क्रमशः ६ दशलमब ५ प्रतिशत, ५३ दशलमब ५ प्रतिशत र ११ दशमलब ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः ३० दशमलब ४ प्रतिशत, १४ दशमलब ६ प्रतिशत र ३३ दशमलब ८ प्रतिशतले बढेको थियो । निर्यात घटेको र आयात बढेको कारण समीक्षा अवधिमा निर्यात–आयातअनुपात ११ दशमलब १ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ प्रतिशत रहेको थियो ।
भूकम्प पीडित ८० हजार परिवारलाई सहयोग गर्दैछौं
धर्मराज पाण्डेय, प्रकोप व्यवस्थापन विभाग प्रमुख, नेपाल रेडक्रस सोसाईटी बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि नेपाल रेडक्रस सोसाईटीले के कस्तो काम गरिरहेको छ ? भूकम्प गएपछि नेपाल रेडक्रस सोसाईटीले करिब सात हजार स्वंयसेवक परिचालन गरेको छ । उनीहरुले घट्नाको बस्तुगत जानकारी लिने, खोज तथा उद्दार गर्ने, प्राथमिक उपचार गर्ने, राहात सामाग्री वितरण गर्ने, तयारी खाना दिने, सरसफाईको काम गर्ने लगायतका धेरै काम गरिरहेका छन् । शुक्रबारसम्म हामीले करिब ६० हजार त्रिपाल वितरण गरेका छौं । करिब १७ हजार वटा व्याङ्केट वितरण गरेका छौं । करिब तीन हजार परिवारलाई फूल प्याकेज राहात वितरण गरेका छौं । त्यसमा त्रिपाल, ब्याङकेट, कपडा, भाडाकुडा छन् । ६ हजार १३६ जनालाई प्राथमिक उपचार सेवा प्रदान गरेका छौं । खानेपानी र सरसफाईका क्षेत्रमा पनि धेरै काम भएका छन् । त्रिपाल भन्दा पनि टेन्टको माग धेरै भएको देखिन्छ, थप टेन्ट वितरण गर्ने योजना के छ ? हामीले आह्वान गरेको तारपोलिन (पाल) हो । चाइना रेडक्रसले दुई हजार टेन्ट ल्याएर वितरण ग¥यो । टर्किस रेडक्रसले १५० वटा टेन्ट ल्याएर बाँड्यो । साउदी अरेविया रेडक्रसले २०० टेन्ट ल्याएर वितरण गरेको छ । यस्तो टेन्ट कार्यलय सञ्चालन प्रयोजनमा वितरण भएका छन् । बढी प्रभावित जिल्लामा २÷२ सयको दरले वितरण गरेका छौं । विभिन्न देशका रेडक्रस सोसाईटीहरुले आ–आफ्नै तरिकाले राहात वितरणमा गरेका छन् । नर्वेजियन रेडक्रसले काभ्रेमा ५६ वेडको हस्पिटल नै चलाएर सेवा गरिरहेको छ । कोरियन रेडक्रसले मोवाईल हेल्थ क्याप सञ्चालन गरिरहेको छ । रेडक्रसले वितरण गर्ने राहत तथा सेवा सुविधा लिन रेडक्रसका कर्मचारीसँग, यसको सञ्चालकसँग प्रत्यक्ष पहुँच हुनुपर्छ, पहुँच नहुनेले पाउँदैन भन्ने आरोप छ नि ? राहात वितरण गर्ने प्रणाली के हो ? पहुँच हुनेले पाउने, पहुँज नहुनेले नपाउने होइन । माग धेरै भयो, आपूर्ति कम भयो । साढे पाँच लाख घर पूर्ण क्षति भएको छ, साढे दुई लाख घर आंशिक क्षति भएका छन् । उनीहरु सबैलाई त्रिपाल चाहिएको छ । घर क्षति नभएका परिवार पनि भूकम्पको पराकम्पनको डरले घर बाहिर रात विताउन चाहन्छन् । उनीहरुको लागि पनि त्रिपाल चाहिएको छ । हामीले जम्मा ८० हजार त्रिपाल बाढ्ने योजना बनाएका छौं । सबैलाई पु¥याउने सकिदैन । पाउने भन्दा नपाउनेको संख्या धेरै छ । नपाउनेले ‘रेडक्रसले मलाई त्रिपाल दिएन, पहुँचवालालाई मात्र दियो’ भन्नु स्वभाविक हो । म आफैले रेडक्रसबाट त्रिपाल, टेन्ट केही लगेको छैन । रेडक्रसमा स्वयंसेवा गर्नेले समेत त्रिपाल पाउन नसकेको अवस्था छ । दोस्रो, नेपाल रेडक्रस सोसाईटीले स्थापना (वि.सं २०२०) भएदेखि उद्दार तथा राहात वितरणका काम गर्दै आएको छ । ५२ वर्षसम्म काम गरेको अनुभव छ । नेपाल रेडक्रस उद्दार तथा राहातका काम व्यवस्थित बनाउन प्रकोप प्रतिकार्य निर्देशिका बनाएको छ । सबै काम त्यो निर्देशिका अनुसार भएको छ । तेस्रो, राहात वितरणको काम नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यलयबाट हुँदैन । ७५ जिल्लामा जिल्ला शाखा छन् । जिल्लाहरुमा पनि उपशाखा छन् । जिल्ला शाखा र उपशाखाले मात्र राहात वितरण कार्य गर्छन् । स्थानीय तहमा राहात वितरण गर्दा बढी प्रभावित क्षेत्र, समूह, व्यक्तिलाई, जोमिममा परेका समूहलाई बढी प्राथमिकता दिईन्छ । एउटा व्यक्तिले पाँच वटा त्रिपाल संकलन गर्न सक्ने, अर्को व्यक्तिले एउटा त्रिपाल पनि नपाउने, एउटाले ६ महिनालाई पुग्ने खाद्यन्न संकलन गर्ने, अर्कोले एक हप्तालाई पनि जोहो गर्न नसक्ने अवस्था पनि देखिन्छ । दोहोरो÷तेहेरो राहात सुविधा लिने प्रवृति रोक्न के गर्नुभएको छ ? तपाईले भनेको कुरामा केही सत्यता होला, तर ज्यादै धेरै डुब्लिकेशन भएको छैन । राहात वितरणमा धेरै संघ संस्थाले काम गरेका छन् । उनीहरुले राहात वितरण गर्दा जिल्ला दैविक प्रकोप उद्दार समितिसँग समन्वय गरेर काम गर्नुपर्छ । उद्दार समितिभित्र राहात वितरण उपसमिति छ । उपसमितिले राहात वितरणको रेकर्ड राखेर काम गरेको अवस्थामा डूब्लिकेशन हुँदैन । आगामी योजना के के छन् ? bikashnews.com नेपाल रेडक्रस सोसाईटीले भूकम्पबाट भएको क्षतिबारे प्रारम्भिक सर्वेक्षणको काम गरिसको छ । २३ जिल्लामा अब विस्तृत सर्बेक्षणका काम शुरु भएको छ । त्यसका आधारमा नयाँ योजना पनि बन्दै जानेछन् । प्रारम्भिक सर्वेक्षण नतिजाअनुसार भूकम्पले ५७ वटा जिल्लामा धनजनको क्षति भएको छ । साढे पाँच लाख घरहरु पूर्ण क्षति भएका छन् । साढे दुई लाख घरमा आंशिक क्षति भएको छ । हामीले भूकम्प प्रभावित जिल्लाहरुलाई उच्च प्रभाव, मध्यम प्रभाव र कम प्रभावका आधारमा तीन वर्गका विभाजित गरेका छौं । हामी ८० हजार वटा त्रिपाल वितरण गर्ने योजना बनाएका छौं । त्रिपाल वितरणको काम सकिएपछि आवास निर्माणमा हामी केन्द्रीत हुनेछौं । सरकारले तोकेका अति प्रभावित १४ वटा र हाम्रो अध्ययनमा भूकम्पको मध्यम खालको प्रभाव परेका ९ वटा जिल्ला थप गरी २३ जिल्लामा ४० हजार परिवारलाई अस्थायी आवास निर्माण गर्ने गरी आवश्यक सामाग्रीहरु वितरणको तयारी गरिरहेका छौं । सामाग्रीहरु आईरहेको छन् । त्यसपछि निजी तथा सार्वजनिक भवनको पुर्ननिर्माणमा काम गर्ने योजना छ । जीविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यसहित पेशा, व्यवसायको पुर्नउत्थानको काम गर्नेछौं । भूकम्प पीडित समूदायको पुर्नस्थापनाको क्षेत्रमा कम्तिमा आगामी दुई वर्ष नेपाल रेडक्रसले काम गर्छ । त्यस्तै, नेपाल रेडक्रस सोसाईटीको जिल्ला शाखाका १८ वटा भवन भत्केका छन, उपशाखाको भवनहरु भत्केका छन् । तिनीहरुको पुर्ननिर्माणको काम गर्नुछ । रेडक्रस सोसाईटीका शाखा, उपशाखाहरुको प्रतिकार्य क्षमता विकास गर्नुपर्छ । नेपाल रेडक्रस सोसाईटीको पार्टनर अर्गनाईजेशन को को छन् ? इन्टरनेशनल फेडरेशन अफ रेडक्रस (आईएफआरसी) १८९ देशका रेडक्रस सोसाईटी सदस्य छन् । बैशाखमा भुकम्प आएपछि चाइना रेडक्रस, इन्डिया रेडक्रस, पाकिस्तान रेडक्रस, अमेरिकी रेडक्रस, व्रिटेन रेडक्रस, डेनिस रेडक्रस, स्वीस रेडक्रस लगायत २५ देशका रेडक्रस सोसाईटीहरुले हामीसँग काम गरिरहेका छन् । अरु देशका रेडक्रस सोसाईटीहरु पनि सहयोग गर्न आउने क्रम जारी छ । प्रकोप व्यवस्थापन गर्ने क्रममा आर्थिक स्रोत परिचालन कसरी गरिरहनु भएको छ ? अहिलेसम्म फण्ड राईजिङ कति भयो ? नेपाल रेडक्रस सोसाईटीले हरेक वर्ष विपद्मा परेका १० हजार परिवारलाई नियमित कार्यक्रमबाट सहयोग गर्छ । बैशाख १२ गतेको भूकम्पबाट लाखौ परिवार पीडित भएका छन् । यस प्रकोप प्रतिकार्यका लागि हामीले ३३ मिलियन स्वीचफ्रेंक (करिव ३ अर्ब ५६ करोड रुपैयाँ) बराबरको सहयोग गर्न अन्तराष्ट्रिय समूदायलाई अपिल गरेका थियौं । बस्तुगत र नगद गरी हामीले अपिल गरेजति सहयोग प्राप्त भएको छ । अब हामी अहिलेसम्मको अवस्थाको मूल्याङकन गरेर थप सहयोगको लागि अपिल गर्नेछौं ।